लाजरसको मृत्यु र पुनरुत्थान
11
अब मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीमा एकजना लाजरस नाम भएका मानिस बिरामी थिए। 2 यी तिनै मरियम थिइन्, जसले प्रभुलाई सुगन्धित तेल घसेर उहाँका पाउहरू आफ्ना केशले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए। 3 यसैकारण उनका दिदीहरूले यसो भनेर उहाँकहाँ पठाए: “प्रभु, हेर्नुहोस्, जसलाई तपाईं माया गर्नुहुन्छ, उनी बिरामी छन्।” 4 तर यो सुनेर येशूले भन्‍नुभयो: “यो मृत्युसम्म पुर्‍याउने रोग होइन, तर यसद्वारा परमेश्‍वरको पुत्रको महिमा होस् भनेर यो परमेश्‍वरको महिमाका निम्ति हो।” 5 अनि येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। 6 यसकारण उनी बिरामी छन् भनेर जब उहाँले सुन्‍नुभयो, तब जुन ठाउँमा उहाँ हुनुहुन्थ्यो, त्यहीं उहाँ अझै दुई दिन रहनुभयो। 7 तब, त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “हामी फेरि यहूदिया जाऔं!” 8 उहाँका चेलाहरूले उहाँलाई भने: “हे रब्बी, भर्खरै यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के तपाईं फेरि त्यहीं जानुहुन्छ?” 9 येशूले जवाफ दिनुभयो: “के दिनमा बाह्र घण्टा हुँदैनन् र? कोही मानिस दिनमा हिँड़्छ भने उसले ठेस खाँदैन, किनभने उसले यस संसारको ज्योति देख्छ। 10 तर कोही मानिस रातमा हिँड़्छ भने त्यसले ठेस खान्छ, किनभने त्यसमा ज्योति हुँदैन।” 11 यी कुराहरू उहाँ बोल्‍नुभयो; अनि त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हाम्रा साथी लाजरस निदाएका छन्, तर म उनलाई निद्राबाट बिउँझाउन जान्छु।” 12 तब उहाँका चेलाहरूले भने: “प्रभु, उनी निदाएका छन् भने उनी निको हुनेछन्।” 13 तर येशूले उनको मृत्युको विषयमा कुरा गर्नुभएको थियो, तर तिनीहरूले चाहिँ निद्रामा विश्राम लिइरहेको कुरा उहाँले गर्नुभएको हो भन्‍ने ठाने। 14 तब येशूले तिनीहरूलाई सफासँग भन्‍नुभयो: “लाजरस मरेका छन्। 15 अनि तिमीहरूले विश्‍वास गर्न सक भनी म त्यहाँ नभएकोमा म तिमीहरूकै निम्ति आनन्दित हुन्‍छु; तरै पनि हामी उनीकहाँ जाऔं!” 16 तब दिदिमस भनिने थोमाले आफ्ना सङ्गी - चेलाहरूलाई भने: “लौ, उहाँसँगै मर्न हामी पनि जाऔं!”
17 जब येशू आउनुभयो, तब उहाँले उनलाई चिहानमा राखेको चार दिन भइसकेको भेट्टाउनुभयो। 18 अनि बेथानी यरूशलेमको नजिकै, प्राय: दुई माइल टाढ़ामा थियो। 19 अनि यहूदीहरूमध्ये धेरैजना मार्था र मरियमकहाँ, उनीहरूका भाइको विषयमा उनीहरूलाई सान्‍त्‍वना दिन आएका थिए। 20 तब येशू आउँदै हुनुहुन्छ भन्‍ने सुन्‍नसाथ मार्था गइन् र उहाँलाई भेटिन्, तर मरियम घरमा बसिरहिन्। 21 तब मार्थाले येशूलाई भनिन्: “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्नेथिएनन्। 22 तर म जान्दछु, अहिले पनि तपाईंले परमेश्‍वरलाई जे पनि माग्‍नुहुनेछ, परमेश्‍वरले त्यो तपाईंलाई दिनुहुनेछ।” 23 येशूले तिनलाई भन्‍नुभयो: “तिम्रा भाइ बौरेर उठ्नेछन्‌” 24 मार्थाले उहाँलाई भनिन्: “म जान्दछु, अन्तिम दिनमा, बौरिउठाइमा उनी बौरेर उठ्नेछन्।” 25 येशूले तिनलाई भन्‍नुभयो: “बौरिउठाइ र जीवन म नै हुँ; जसले ममाथि विश्‍वास गर्छ, ऊ मरे तापनि जिउनेछ। 26 अनि जो जिउँछ र ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै मर्नेछैन; के तिमी यो विश्‍वास गर्छ्यौ?” 27 तिनले उहाँलाई भनिन्: “हजुर, प्रभु; यस संसारमा आउनुपर्ने परमेश्‍वरका पुत्र ‘ख्रीष्‍ट’ तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।” 28 अनि यी कुराहरू भनेपछि तिनी गइन्, र आफ्नी बहिनी मरियमलाई यसो भन्दै सुटुक्‍क बोलाइन्: “गुरुज्यू आउनुभएको छ, र तिमीलाई बोलाउँदै हुनुहुन्छ।” 29 यो सुन्‍नसाथ तिनी झट्टै उठिन् र उहाँकहाँ आइन्। 30 अनि येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर मार्थाले उहाँलाई जहाँ भेटेकी थिइन्, उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो। 31 तब ती यहूदीहरू, जो तिनीसित घरभित्र थिए र तिनलाई सान्‍त्‍वना दिन्थे, मरियमलाई झट्टै उठेर बाहिर गएकी देखेर यसो भन्दै तिनको पछि लागे: “यिनी चिहानमा त्यहाँ रुन गइरहेकी छिन्।” 32 जब मरियम येशू हुनुभएको ठाउँमा आइपुगिन्, तब उहाँलाई देखेर उहाँलाई यसो भन्दै तिनी उहाँका पाउमा परिन्: “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्नेथिएनन्।”
33 यसकारण जब येशूले तिनलाई रोइरहेकी र तिनीसित आएका यहूदीहरूलाई पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्मामा पीड़ित हुनुभयो र विचलित हुनुभयो, 34 अनि भन्‍नुभयो: “तिमीहरूले उनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने: “प्रभु, आउनुहोस्, र हेर्नुहोस्!” 35 येशू रुनुभयो। 36 तब यहूदीहरूमध्‍ये कतिले भने: “हेर, उहाँले उनलाई कति माया गर्नुहुन्थ्यो।” 37 अनि तिनीहरूमध्ये कतिले भने: “अन्धाका आँखाहरू खोलिदिने यी मानिसले के यस मानिसलाई पनि नमर्ने तुल्याउन सकेनन् त?” 38 यसकारण आफूभित्र फेरि पीड़ित हुँदै येशू त्यस चिहानमा आउनुभयो। त्यो एउटा गुफा थियो, र त्यसमाथि एउटा ढुङ्गा राखिएको थियो। 39 येशूले भन्‍नुभयो: “यो ढुङ्गा हटाओ!” मर्नेकी दिदी मार्थाले उहाँलाई भनिन्: “प्रभु, यस बेलासम्म त उनी गन्हाइसकेका छन्; किनभने उनी मरेका चार दिन भइसक्यो।” 40 येशूले तिनलाई भन्‍नुभयो: “तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ भनी के मैले तिमीलाई भनिनँ र?” 41 तब ती मरेकालाई राखिएको ठाउँबाट तिनीहरूले त्यो ढुङ्गा हटाए। अनि येशूले आँखाहरू माथि उठाएर भन्‍नुभयो: “हे पिता, तपाईंले मेरो विन्‍ती सुन्‍नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु। 42 अनि तपाईंले मेरो विन्‍ती सधैं सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो; तर वरिपरि उभिरहेका मानिसहरूको कारणले, तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर मैले यो भनें।” 43 अनि यी कुराहरू भन्‍नुभएपछि उहाँ ठूलो सोरले कराउनुभयो: “हे लाजरस, बाहिर आऊ!” 44 अनि ती मरेका मानिस कात्रोले हातपाउ बाँधिएकै अवस्थामा बाहिर निस्के, अनि उनको अनुहार एउटा रुमालले बेरिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो: “उनलाई फुकाइदेओ, र जान देओ!” 45 तब जुन यहूदीहरूले मरियमकहाँ आएर येशूले गर्नुभएका कुराहरू देखेका थिए, तिनीहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे।
प्रभु येशूलाई मार्ने मतो
मत्ती २६:१-५; मर्कूस १४:१-२; लूका २२:१-२
46 तर तिनीहरूमध्ये कतिचाहिँ फरिसीहरूकहाँ गए, र तिनीहरूलाई येशूले गर्नुभएका कुराहरू बताइदिए। 47 तब मुख्य पूजाहारी र फरिसीहरूले एउटा महासभा जुटाए र भने: “हामी के गरौं? किनकि यस मान्छेले धेरै चिन्हहरू देखाउँछ। 48 हामीले यसलाई त्यसै छोड़िदियौं भने त सबैले यसमाथि विश्‍वास गर्नेछन्, र रोमीहरू आउनेछन् अनि हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछन्।” 49 अनि तिनीहरूमा कायफा नाम भएका एकजनाले, त्यस वर्षका महापूजाहारी भएका हुनाले तिनीहरूलाई भने: “तिमीहरू केही पनि जान्दैनौ, 50 साथै सारा जाति नष्‍ट नहोस् भनेर यस जनताका निम्ति एकजना मानिस मर्नु नै हाम्रो लागि फाइदा छ भनी सोच्‍न पनि सक्दैनौ।” 51 तर यो कुरा तिनले आफ्नैपट्टिबाट भनेनन्, तर त्यस वर्षका महापूजाहारी भएका हुनाले तिनले येशूचाहिँ त्यस जातिका निम्ति मर्नुपर्छ भनी भविष्यवाणी बोलेका थिए; 52 अनि त्यस जातिका निम्ति मात्र होइन, तर उहाँले चारैतिर छरिएका परमेश्‍वरका छोराछोरीहरूलाई एक बनाउनलाई जम्मा पार्ने हेतुले पनि हो।
53 तब उहाँलाई मार्नका निम्ति तिनीहरूले त्यस दिनदेखि आपसमा मतो गरे। 54 यसकारण येशू यहूदीहरूको बीचमा फेरि खुल्‍लमखुल्‍ला हिँड़्‍नुभएन; तर त्यहाँबाट उहाँ उजाड़स्थानको नजिकैको इलाकाभित्र, इफ्राइम भनिने शहरमा जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसित रहनुभयो। 55 अनि यहूदीहरूको निस्तारचाड़ नजिकै थियो; अनि निस्तारचाड़भन्दा पहिले आफूलाई शुद्ध पार्न धेरैजना गाउँबस्तीबाट माथि यरूशलेम गए। 56 तब तिनीहरूले येशूलाई खोजे र मन्दिरमा उभिएर आपसमा भने: “तिमीहरूलाई कस्तो लाग्छ? के तिनी यस चाड़मा आउनेछैनन् त?” 57 अब मुख्य पूजाहारी र फरिसीहरूले उहाँलाई पक्रन सकौं भनेर, उहाँ कहाँ हुनुहुन्छ, सो कसैले थाहा पाएमा त्यसले देखाइदेओस् भन्‍ने आज्ञा दिएका थिए।