प्रभु येशू असल गोठाला हुनुहुन्छ
10
“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जो ढोकाबाट भेड़ाहरूको गोठभित्र पस्दैन, तर अर्कोतिरबाट माथि चढ़्छ, त्यही नै चोर र डाँकू हो। 2 तर जो ढोकाबाट भित्र पस्दछ, ऊचाहिँ भेड़ाहरूको गोठाला हो। 3 उसैका निम्ति ढोकेले खोलिदिन्छ, अनि भेड़ाहरूले उसको सोर सुन्छन्; अनि उसले आफ्ना भेड़ाहरूलाई नाम लिई-लिई बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। 4 अनि जब उसले आफ्ना भेड़ाहरू बाहिर निकाल्छ, तब ऊ तिनीहरूको अघि-अघि हिँड़्छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्; किनकि तिनीहरूले उसको सोर चिन्छन्। 5 तर तिनीहरूले कुनै रीतिले बिरानो मानिसलाई पछ्याउनेछैनन्, तर त्यसदेखि भाग्नेछन्; किनकि तिनीहरूले बिरानाहरूको सोर चिन्दैनन्।” 6 यो दृष्टान्त येशूले तिनीहरूलाई भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।7 तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका म नै हुँ। 8 जति मभन्दा अघि आए, ती सबै चोर र डाँकूहरू हुन्। तर भेड़ाहरूले तिनीहरूको सुनेनन्। 9 ढोका म नै हुँ; कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ, अनि भित्र र बाहिर जानेछ, र खर्क पाउनेछ। 10 चोर त चोरूँ, मारूँ र नष्ट पारूँ भनेर मात्र आउँछ। मचाहिँ तिनीहरूले जीवन पाऊन् र झन् प्रशस्त गरी पाऊन् भन्ने हेतुले आएको हुँ! 11 असल गोठाला म नै हुँ। असल गोठालाले भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। 12 तर ज्यामीचाहिँक, जो गोठाला होइन, अनि ती भेड़ाहरू पनि त्यसका आफ्ना होइनन्, ब्वाँसोलाई आउँदै गरेको देखेर भेड़ाहरूलाई छोड़्छ, र भाग्छ; अनि ब्वाँसोले तिनीहरूलाई पक्रन्छ र भेड़ाहरूलाई तितर - बितर पारिदिन्छ। 13 ज्यामीक भाग्छ, किनभने त्यो ज्यालादार हो र त्यस भेड़ाहरूको वास्ता गर्दैन। 14 असल गोठाला म नै हुँ; अनि म मेरा भेड़ाहरूलाईख चिन्छु, र मेरा आफ्नाहरूद्वारा म चिनिएको छु; 15 जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, अनि म भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छु। 16 अनि मेरा अरू भेड़ाहरू छन्, जुनचाहिँ यस गोठका होइनन्; तिनीहरूलाई पनि मैले ल्याउनुपर्छ; अनि तिनीहरूले मेरो सोर सुन्नेछन्; अनि एउटै बगाल र एउटै गोठाला हुनेछन्। 17 यही कारणले मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ; किनकि म मेरो प्राण, यसलाई म फिर्ता लिने हेतुले अर्पण गर्छु। 18 कसैले यसलाई मबाट खोसेर लाँदैन, तर म आफै यसलाई अर्पण गर्छु। यसलाई अर्पण गर्ने मेरो अधिकार छ र यसलाई फिर्ता लिने पनि मेरो अधिकार छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
19 तब यी वचनहरूको कारणले यहूदीहरूको बीचमा फेरि फाटो भयो। 20 अनि तिनीहरूमध्ये धेरैले भने: “ऊसँग दुष्ट आत्मा छ, र ऊ पागल भएको छ; तिमीहरू उसको कुरा किन सुन्छौ?” 21 अरूले भने: “यी कुराहरू दुष्ट आत्मा लागेको मानिसका होइनन्। के दुष्ट आत्माले अन्धाहरूका आँखाहरू खोल्न सक्छ र?”
22 अनि यरूशलेममा समर्पण–चाड़ थियो, र जाड़ोको समय थियो। 23 अनि येशू मन्दिरमा, सुलेमानको दलानमा टहलिरहनुभएको थियो। 24 तब यहूदीहरूले उहाँलाई वरिपरि घेरे र उहाँलाई भने: “कहिलेसम्म तपाईं हामीलाई शङ्कामा राख्नुहुन्छ? तपाईं ‘ख्रीष्ट’ हुनुहुन्छ भने हामीलाई सफासँग भनिदिनुहोस्!” 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “मैले तिमीहरूलाई भनें, तापनि तिमीहरूले विश्वास गरेनौ। मेरा पिताको नाममा मैले गरेका कामहरूले नै मेरो विषयमा गवाही दिन्छन्। 26 तर तिमीहरू विश्वास गर्दैनौ, किनभने मैले तिमीहरूलाई भने जस्तो तिमीहरू मेरा भेड़ाहरूमध्येका होइनौ। 27 मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्; 28 अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। 29 मेरा पिता, जसले ती मलाई दिनुभयो, उहाँ सबैभन्दा महान् हुनुहुन्छ, र मेरा पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन। 30 म र मेरा पिता एक हौं।”
31 तब उहाँलाई ढुङ्गाले हान्नलाई यहूदीहरूले फेरि ढुङ्गाहरू टिपे। 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “मेरा पितापट्टिबाट मैले तिमीहरूलाई धेरै असल कामहरू देखाएको छु। तीमध्ये कुनचाहिँ कामका निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्छौ?” 33 यहूदीहरूले यसो भन्दै उहाँलाई जवाफ दिए: “असल कामका निम्ति हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर परमेश्वरको निन्दा गरेको खातिर; अनि मानिस भएर तिमीले आफूलाई परमेश्वर तुल्याएका हुनाले।” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “के तिमीहरूकै व्यवस्थामा ‘मैले भनें, “तिमीहरू ईश्वरहरू हौ” ’ग भनी लेखिएको छैन र? 35 जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई उहाँले ‘ईश्वरहरू’ भन्नुभयो भने – अनि पवित्रशास्त्र भङ्ग हुन सक्दैन – 36 जसलाई पिताले पवित्र गरेर संसारमा पठाउनुभयो, के उनैलाई तिमीहरू, ‘म परमेश्वरको पुत्र हुँ’ भनी मैले भनेकोमा ‘तिमी परमेश्वरको निन्दा गर्छौ’ भनी भन्दछौ? 37 म मेरा पिताका कामहरू गर्दिनँ भने मलाई विश्वास नगर! 38 तर म गर्दछु भने तिमीहरूले मलाई विश्वास नगरे तापनि कामहरूलाई त विश्वास गर, र पिता ममा हुनुहुन्छ, अनि म उहाँमा छु भनी तिमीहरूले जान्न र विश्वास गर्न सक।” 39 यसकारण तिनीहरूले उहाँलाई फेरि पक्रन खोजे, तर उहाँ तिनीहरूको हातबाट उम्कनुभयो। 40 अनि उहाँ फेरि यर्दनपारि त्यस ठाउँमा जानुभयो, जहाँ पहिले यूहन्नाले बप्तिस्मा दिइरहेका थिए; अनि उहाँ त्यहीं रहनुभयो। 41 अनि धेरैजना उहाँकहाँ आए, र भने: “यूहन्नाले कुनै चिन्ह देखाएनन्; तर यी मानिसको विषयमा यूहन्नाले जेजति कुरा भने, ती सबै सत्य रहेछन्।” 42 अनि त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे।