जन्मकै अन्धा मानिस निको पारियो
9
अनि येशूले जाँदै गर्नुहुँदा एकजना जन्मैदेखिको अन्धा मानिसलाई देख्नुभयो। 2 अनि उहाँका चेलाहरूले उहाँलाई यसो भन्दै सोधे: “हे रब्बी, कसले पाप गरेकोले यो मान्छे अन्धा जन्मेको हो? यसले कि यसका बुबाआमाले?” 3 येशूले जवाफ दिनुभयो: “न ता यस मानिसले, न यसका बुबाआमाले नै पाप गरे, तर परमेश्वरका कामहरू यसमा प्रकट होऊन् भनी भएको हो। 4 दिन हुँदा-हुँदै मैले मलाई पठाउनुहुनेका कामहरू गरिहाल्नुपर्छ; रात आउँछ, तब कसैले काम गर्न सक्दैन। 5 जबसम्म म संसारमा छु, तबसम्म म संसारको ज्योति हुँ।”6 यी कुराहरू भन्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो, अनि थुकबाट हिलो बनाउनुभयो, र अन्धा मानिसका आँखाहरूमा हिलो घसिदिनुभयो, 7 र उसलाई भन्नुभयो: “जाऊ, सिलोआमको (जसको अर्थ हो: ‘पठाइएको’) तलाउमा धोऊ!” यसकारण ऊ गयो, र धोयो, अनि देख्ने भएर आयो। 8 यसकारण छिमेकीहरूले र उसलाई पहिले अन्धा भएको देख्नेहरूले भने: “के बसेर भीख माग्ने यही होइन र?” 9 कतिले भने: “यो त्यही हो।” अरूले भने: “यो त्योजस्तै छ।” तर उसले भन्यो: “म उही हुँ।” 10 यसकारण तिनीहरूले उसलाई भने: “तिम्रा आँखाहरू कसरी खोलिए?” 11 उसले जवाफ दिएर भन्यो: “येशू भनिनुहुने मानिसले हिलो बनाएर मेरा आँखाहरूमा घसिदिनुभयो र मलाई भन्नुभयो: ‘सिलोआमको तलाउमा जाऊ, र धोऊ!’ अनि म गएँ, र धोएँ, र देख्ने भएँ।” 12 तब तिनीहरूले उसलाई भने: “उनी कहाँ छन्?” उसले भन्यो: “मलाई थाहा छैन।”
13 तिनीहरूले उसलाई, जो पहिले अन्धा थियो, फरिसीहरूकहाँ ल्याए। 14 अनि येशूले हिलो बनाएर उसका आँखाहरू खोल्नुभएको दिनचाहिँ विश्रामदिन थियो। 15 तब फरिसीहरूले पनि ‘तँ कसरी देख्ने भइस्?’ भनी उसलाई फेरि सोधे। उसले तिनीहरूलाई भन्यो: “उहाँले मेरा आँखाहरूमा हिलो लाइदिनुभयो, अनि मैले धोएँ, र म देख्छु।” 16 यसकारण फरिसीहरूमध्ये कतिले भने: “त्यो मानिस परमेश्वरबाटको होइन, किनभने त्यसले विश्रामदिन पालन गर्दैन।” अरूले भने: “पापी भएर कसरी मानिसले यस्ता चिन्हहरू गर्न सक्छ र?” अनि तिनीहरूको बीचमा फाटो भयो। 17 तिनीहरूले त्यस अन्धा मानिसलाई फेरि भने: “उसले तेरा आँखाहरू खोलिदिएकोमा तँ उसको विषयमा के भन्छस्?” उसले भन्यो: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।” 18 तर यहूदीहरूले जबसम्म दृष्टि पाउने मानिसका बुबाआमालाई बोलाएनन्, तबसम्म तिनीहरूले उसको विषयमा ऊ अन्धा थियो, र उसले दृष्टि पायो भन्ने कुरा विश्वास गरेनन्। 19 अनि तिनीहरूले उनीहरूलाई यसो भन्दै सोधे: “के यो तिमीहरूको छोरा हो, जसलाई तिमीहरू ‘ऊ अन्धा जन्मेको थियो’ भनी भन्छौ? तब कसरी उसले अहिले देख्छ त?” 20 उसका बुबाआमाले तिनीहरूलाई जवाफ दिएर भने: “हामी जान्दछौं, यो हाम्रै छोरा हो, अनि यो अन्धै जन्मेको थियो, 21 तर उसले अहिले कसरी देख्छ, सो हामी जान्दैनौं, अथवा कसले उसका आँखाहरू खोलिदिए, सो हामी जान्दैनौं। ऊ उमेरदार भइसकेको छ, उसैलाई सोध्नुहोस्! आफ्नो लागि ऊ आफै बोल्नेछ।” 22 उसका बुबाआमाले यी कुराहरू भने, किनकि उनीहरू यहूदीहरूसँग डराउँथे; किनकि कसैले उहाँलाई ‘ख्रीष्ट’ भनी स्वीकार गर्यो भने त्यो सभाघरबाट निकालिनुपर्छ भनी यहूदीहरूले पहिल्यै आपसमा मतो गरिसकेका थिए। 23 यसैकारण उसका बुबाआमाले भने, ‘ऊ उमेरदार भइसकेको छ, उसैलाई सोध्नुहोस्!’
24 तब तिनीहरूले त्यस मानिसलाई, जो अन्धा थियो, फेरि बोलाए र उसलाई भने: “परमेश्वरलाई महिमा दे! हामी जान्दछौं, त्यो मान्छे पापी हो!” 25 उसले जवाफ दिएर भन्यो: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ। एउटा कुरा म जान्दछु: म अन्धा थिएँ, अब म देख्दछु।” 26 अब तिनीहरूले उसलाई फेरि भने: “उसले तँलाई के गर्यो? कसरी उसले तेरा आँखाहरू खोलिदियो?” 27 उसले तिनीहरूलाई जवाफ दियो: “मैले तपाईंहरूलाई अघि नै भनिहालें, अनि तपाईंहरूले सुन्नुभएन। किन तपाईंहरू फेरि सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ?” 28 तब तिनीहरूले उसलाई हप्काएर भने: “तँ पो त्यसको चेला होस्, तर हामी मोशाका चेला हौं! 29 हामी जान्दछौं, परमेश्वर मोशासँग बोल्नुभयो; तर यो मान्छे त कुन्नि कहाँबाटको हो, हामी जान्दैनौं।” 30 त्यस मानिसले जवाफ दिएर तिनीहरूलाई भन्यो: “किन! यसैमा त अचम्मको कुरा छ! उहाँ कहाँबाटको हुनुहुन्छ, तपाईंहरू जान्नुहुन्न; तरै पनि उहाँले मेरा आँखाहरू खोलिदिनुभएको छ। 31 तर हामीलाई थाहा छ: परमेश्वरले पापीहरूको सुन्नुहुन्न; तर कसैले परमेश्वरको डर मान्छ र उहाँको इच्छा पालन गर्छ भने उहाँले उसको सुन्नुहुन्छ। 32 कसैले जन्मैको अन्धाका आँखाहरू खोलिदिएको कुरा संसारको शुरुदेखि यसो सुनिएको छैन। 33 यी मानिस परमेश्वरबाटका नहुनुभएको भए उहाँले केही पनि गर्न सक्नुहुनेथिएन।” 34 तिनीहरूले जवाफ दिएर उसलाई भने: “तँ त बिलकुलै पापहरूमा जन्मेको होस्, र के तँ हामीलाई सिकाउँछस्?” अनि तिनीहरूले उसलाई निकालिदिए।
35 तिनीहरूले उसलाई निकालिदिए भनेर येशूले सुन्नुभयो; अनि उहाँले उसलाई भेट्टाउनुभएपछि उसलाई भन्नुभयो: “के तिमी परमेश्वरका पुत्रमाथि विश्वास गर्छौ?” 36 उसले जवाफ दिएर भन्यो: “प्रभु, उहाँ को हुनुहुन्छ, र म उहाँमाथि विश्वास गरूँ?” 37 अनि येशूले उसलाई भन्नुभयो: “तिमीले उनलाई देखेका पनि छौ, र तिमीसित कुरा गर्ने उनी नै हुन्।” 38 अनि उसले भन्यो: “प्रभु, म विश्वास गर्छु!” अनि उसले उहाँलाई दण्डवत् गर्यो। 39 अनि येशूले भन्नुभयो: “नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन् भनी न्यायका निम्ति म यस संसारमा आएको हुँ।” 40 अनि उहाँसँग भएका कति फरिसीहरूले यी कुराहरू सुने, र उहाँलाई भने: “के हामी पनि अन्धा हौं त?” 41 येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू अन्धा भएका भए तिमीहरूसँग पाप हुनेथिएन; तर अब ‘हामी देख्छौं’ भनी तिमीहरू भन्छौ; यसकारण तिमीहरूको पाप रहिरहन्छ।”