व्यभिचारमा पक्राउ परेकी स्त्री
8
तर येशू जैतुन-डाँड़ामा जानुभयो। 2 अनि एकाबिहानै उहाँ फेरि मन्दिरभित्र आउनुभयो, अनि सबै मानिसहरू उहाँकहाँ आए; अनि उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। 3 अनि शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई उहाँकहाँ ल्याए; अनि त्यसलाई बीचमा उभ्याएर 4 तिनीहरूले उहाँलाई भने: “हे गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो। 5 अब यस्ताहरू ढुङ्गाले हानिनुपर्छ भनी मोशाले हामीलाई व्यवस्थामा आज्ञा गरेका छन्, तर तपाईं नि, के भन्नुहुन्छ?” 6 तर तिनीहरूले उहाँलाई परीक्षा गर्दै उहाँलाई दोष लाउनका निम्ति केही कुरा पाइन्छ कि भनी यसो भनेका थिए। तर येशूले मानो केही सुन्नुभएकै छैन जस्तो गरी निहुरेर आफ्नो औंलाले भुइँमा लेख्नुभयो। 7 तर जब तिनीहरूले उहाँलाई सोधेका-सोधेकै गरे, तब उहाँले आफूलाई सीधा पारेर तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये जो पापरहित छ, उसैले पहिले त्यसलाई ढुङ्गाले हानोस्!” 8 अनि फेरि निहुरेर उहाँले भुइँमा लेख्नुभयो। 9 अनि ज-जसले यो कुरा सुने, तिनीहरू आफ्नै विवेकद्वारा दोषी ठहरिएर ठूलोबाटक शुरु गरेर सानैसम्मख एक-एक गर्दै बाहिर गए; अनि येशू एकलै छोड़िनुभयो, र बीचमा उभिरहेकी त्यो स्त्री। 10 जब येशूले आफूलाई सिधा पार्नुभयो र त्यस स्त्रीलाई बाहेक अरू कसैलाई देख्नुभएन, तब उहाँले त्यसलाई भन्नुभयो: “हे नारी, तिमीलाई दोष लाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दोषी ठहराएन?” 11 त्यसले भनी: “कसैले पनि ठहराएन, प्रभु!” अनि येशूले त्यसलाई भन्नुभयो: “म पनि तिमीलाई दोषी ठहराउँदिनँ; जाऊ, र अबदेखि पाप नगर!”प्रभु येशू संसारको ज्योति हुनुहुन्छ
12 तब फेरि येशू यसो भन्दै तिनीहरूसँग बोल्नुभयो: “संसारको ज्योति म नै हुँ; जसले मलाई पछ्याउँछ, ऊ अन्धकारमा हिँड़्नेछैन, तर उसले जीवनको ज्योति पाउनेछ।” 13 यसकारण फरिसीहरूले उहाँलाई भने: “तिमी आफ्नै विषयमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य हुँदैन।” 14 येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “मैले आफ्नो विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य हो; किनकि म कहाँबाट आएँ, र म कहाँ जान्छु, सो म जान्दछु; तर म कहाँबाट आएको हुँ, र म कहाँ जान्छु, सो तिमीहरू जान्दैनौ। 15 तिमीहरू शरीरअनुसार न्याय गर्दछौ; म कसैको न्याय गर्दिनँ। 16 अनि मैले न्याय गरें भने पनि मेरो न्याय सत्य हो; किनकि म एकलो छैनँ, तर म र मलाई पठाउनुहुने पिता छौं। 17 तिमीहरूको व्यवस्थामा पनि ‘दुईजना मानिसहरूको गवाही सत्य हुन्छ’ग भनी लेखिएको छ। 18 आफ्नै विषयमा गवाही दिने मचाहिँ एकजना हुँ, अनि मलाई पठाउनुहुने पिता हुनुहुन्छ, जसले मेरो विषयमा गवाही दिनुहुन्छ।” 19 तब तिनीहरूले उहाँलाई भने: “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो: “तिमीहरू न ता मलाई चिन्छौ, न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।”
20 यी कुराहरू येशूले मन्दिरमा शिक्षा दिनुहुँदा ढुकुटीमा भन्नुभयो, र कसैले पनि उहाँमाथि हात हालेन; किनकि उहाँको घड़ी अझै आइपुगेको थिएन। 21 तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो: “म जान्छु, अनि तिमीहरूले मलाई खोज्नेछौ, र आफ्ना पापहरूमाघ मर्नेछौ। जहाँ म जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” 22 यसकारण यहूदीहरूले भने: “के उसले आफैलाई मार्ला त? किनभने उसले ‘जहाँ म जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छ।” 23 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू तलबाटका हौ; म माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ; मचाहिँ यस संसारको होइनँ। 24 यसकारण मैले तिमीहरूलाई भनें: ‘तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ’; किनभने ‘म उही हुँ’ भनी तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ।” 25 तब तिनीहरूले उहाँलाई भने: “तिमी को हौ त?” अनि येशूले तिनीहरूलाई भन्नुभयो: “म उही हुँ, जो मैले शुरुदेखि नै तिमीहरूलाई भनिरहेको छु। 26 तिमीहरूको विषयमा भन्न र न्याय गर्न मसँग धेरै कुराहरू छन्; तर जसले मलाई पठाउनुभयो, उहाँ सत्य हुनुहुन्छ; अनि मैले उहाँबाट जे सुनें, ती कुराहरू म संसारलाई भन्दछु।” 27 उहाँले तिनीहरूलाई पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्। 28 तब येशूले तिनीहरूलाई भन्नुभयो: “जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालौला, तब म उही रहेछु र आफ्नोपट्टिबाट केही गर्दिनँ रहेछु, तर मेरा पिताले मलाई सिकाउनुभएअनुसार म यी कुराहरू बोल्दो रहेछु भनी तिमीहरूले थाहा पाउनेछौ। 29 अनि जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। पिताले मलाई एकलो छोड़्नुभएको छैन; किनकि म सधैं उहाँलाई खुशी पार्ने कुराहरू गर्दछु।” 30 उहाँले यी कुराहरू गर्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे।
अब्राहामका सन्तान र शैतानका सन्तान
31 तब येशूले आफूलाई विश्वास गर्ने ती यहूदीहरूलाई भन्नुभयो: “तिमीहरू मेरो वचनमा लागिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ। 32 अनि तिमीहरूले सत्यता जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र गराउनेछ।” 33 तिनीहरूले उहाँलाई जवाफ दिए: “हामी त अब्राहामका सन्तानङ हौं, र कहिल्यै कसैको बन्धनमा परेका छैनौं; त कसरी तपाईंले ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी भन्नुहुन्छ?” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो। 35 अनि दास घरमा सधैंभरि रहँदैन, तर पुत्र सधैंभरि रहन्छन्। 36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। 37 म जान्दछु, तिमीहरू अब्राहामका सन्तानङ हौ, तर तिमीहरू मलाई मार्न खोज्छौ; किनभने तिमीहरूभित्र मेरो वचनको लागि कुनै ठाउँ छैन। 38 मेरा पिताकहाँ मैले जे देखेको छु, त्यही बोल्छु; अनि तिमीहरूले चाहिँ आफ्नो बुबाकहाँ जे देखेका छौ, त्यही गर्दछौ।” 39 तिनीहरूले जवाफ दिएर उहाँलाई भने: “अब्राहाम हाम्रा पिता हुनुहुन्छ।” येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू अब्राहामका छोराछोरीहरू हुँदा हौ ता तिमीहरूले अब्राहामकै कामहरू गर्नेथियौ। 40 तर अब तिमीहरू त मलाई मार्न खोज्छौ – एकजना मानिसलाई, जसले तिमीहरूलाई सत्य भनेको छ, जुनचाहिँ मैले परमेश्वरबाट सुनेको छु; यो त अब्राहामले गरेनन्। 41 तिमीहरू आफ्ना बुबाका कामहरू गर्दछौ।” तब तिनीहरूले उहाँलाई भने: “हामी व्यभिचारबाट जन्मेका होइनौं; हाम्रा एउटै पिता हुनुहुन्छ अर्थात् परमेश्वर!” 42 येशूले तिनीहरूलाई भन्नुभयो: “परमेश्वर तिमीहरूका पिता हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ; किनभने म परमेश्वरबाट निस्कें र आएँ; म आफैबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। 43 तिमीहरू किन मेरो कुरा बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ। 44 तिमीहरू आफ्ना बुबा शैतानबाटका हौ, र आफ्नै बुबाका कुइच्छाहरू पूरा गर्न चाहन्छौ। त्यो शुरुदेखि नै हत्यारा थियो, र सत्यमा रहेन; किनकि त्यसमा सत्य छँदैछैन। जब त्यसले झूट बोल्छ, तब त्यो आफ्नैतर्फबाट बोल्छ; किनकि त्यो झूट हो, र झूटको बुबा हो। 45 तर मैले सत्य बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 तिमीहरूमध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ? तर म सत्य बोल्छु भने तिमीहरू मलाई किन विश्वास गर्दैनौ? 47 जो परमेश्वरबाटको हो, उसले परमेश्वरका वचनहरू सुन्छ; यसैकारण तिमीहरू सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरबाटका होइनौ।” 48 तब यहूदीहरूले जवाफ दिएर उहाँलाई भने: “तिमी सामरी हौ, र तिमीसँग दुष्ट आत्मा छ भनेर के हामी ठीक भन्दैनौं र?” 49 येशूले जवाफ दिनुभयो: “मसँग दुष्ट आत्मा छैन; तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ। 50 तर म आफ्नै महिमा खोज्दिनँ; खोज्नुहुने र न्याय गर्नुहुने एकजना हुनुहुन्छ। 51 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्नेछैन।” 52 तब यहूदीहरूले उहाँलाई भने: “तिमीसँग दुष्ट आत्मा नै रहेछ भनेर अब हामी जान्दछौं। अब्राहाम र भविष्यवक्ताहरू मरे; तर तिमीचाहिँ भन्दछौ, ‘कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु चाख्नेछैन।’ 53 के तिमी हाम्रा पिता अब्राहामभन्दा ठूला हौ, जो मरिगए? अनि भविष्यवक्ताहरू पनि मरिगए; तिमी आफूलाई चाहिँ को तुल्याउँछौ?” 54 येशूले जवाफ दिनुभयो: “म आफैलाई आदर गर्छु भने मेरो आदर केही पनि होइन; मलाई आदर गर्नुहुने त मेरा पिता पो हुनुहुन्छ, जसको विषयमा तिमीहरू ‘उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ’ भनी भन्दछौ। 55 अझै पनि तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु; अनि मैले ‘म उहाँलाई चिन्दिनँ’ भनें भने म पनि तिमीहरूजस्तै झूट हुनेछु; तर म उहाँलाई चिन्छु र उहाँको वचन पालन गर्छु। 56 तिमीहरूको पिता अब्राहाम मेरो दिन देख्ने आशामा हर्षित थिए; अनि उनले देखे र उनी आनन्दित भए।” 57 तब यहूदीहरूले उहाँलाई भने: “तिमी अझै पचास वर्ष पुगेका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ र?” 58 येशूले तिनीहरूलाई भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा पहिले म हुँ।” 59 तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे; तर येशू लुक्नुभयो र तिनीहरूकै बीचबाट भएर मन्दिरबाट बाहिर जानुभयो, अनि यसरी निस्कनुभयो।