झुपड़ीचाड़मा प्रभु येशू र उहाँका भाइहरू
7
यी कुराहरूपछि येशू गालीलमा घुमिरहनुभयो; किनकि उहाँले यहूदियामा घुम्‍न चाहनुभएन; किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका थिए। 2 अब यहूदीहरूको झुपड़ीचाड़ नजिकै थियो। 3 यसकारण उहाँका भाइहरूले उहाँलाई भने: “यहाँबाट निस्कनुहोस् अनि यहूदिया जानुहोस्, र तपाईंका चेलाहरूले पनि ती कामहरू देखून्, जुन कामहरू तपाईं गर्नुहुन्छ। 4 किनभने खुल्‍लमखुल्‍ला चिनिने इच्छा राखेर पनि गुप्‍तमा काम गर्ने कुनै मानिस नै छैन। यदि तपाईं यी कुराहरू गर्नुहुन्छ भने आफैलाई संसारकहाँ प्रकट गर्नुहोस्!” 5 किनभने उहाँकै भाइहरूले पनि उहाँमा विश्‍वास गर्दैनथिए। 6 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समयचाहिँ जहिले पनि तयार छ। 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई चाहिँ घृणा गर्दछ; किनकि त्यसका कामहरू दुष्‍ट छन् भनी म त्यसको विषयमा गवाही दिन्छु। 8 तिमीहरू यस चाड़मा जाओ, म अहिले यस चाड़मा जान्‍नँ; किनकि मेरो समय अझै पूरा भएको छैन।” 9 तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँचाहिँ गालीलमा रहनुभयो। 10 तर जब उहाँका भाइहरू माथि गए, तब उहाँ पनि, खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍तमा झैं गरी माथि चाड़मा जानुभयो। 11 तब त्‍यस चाड़मा यहूदीहरूले उहाँलाई खोजे र भने: “तिनी कहाँ छन्?” 12 अनि उहाँको विषयमा मानिसहरूको बीचमा धेरै गुनगुनाइ भइरहेको थियो; किनभने कसैले भन्थे: “तिनी असल छन्;” अरूले भन्थे: “होइन, तर तिनले मानिसहरूलाई धोका दिन्छन्।” 13 तरै पनि यहूदीहरूको डरले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला कुरा गरेन।
14 अब चाड़ आधा-आधी हुन लाग्दा येशू उक्लेर मन्दिरभित्र पस्‍नुभयो, र शिक्षा दिनुभयो। 15 अनि यहूदीहरूले यसो भन्दै अचम्म मानिरहेका थिए: “कहिल्यै नपढ़ीकन पनि यी मानिसले कसरी विद्या जान्दछन्?” 16 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो: “मेरो शिक्षा मेरो होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो। 17 यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा, योचाहिँ परमेश्‍वरबाटकै हो कि म आफ्नैपट्टिबाट बोल्छु, सो उसले थाहा पाउनेछ। 18 जसले आफ्नैपट्टिबाट बोल्छ, त्यसले आफ्नै महिमा खोज्छ; तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्छन्, उनी नै सत्य हुन्, र उनमा कुनै अधर्म छैन। 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? अनि तिमीहरूमध्ये एकैजनाले पनि व्यवस्था पालन गर्दैन। तिमीहरू किन मलाई मार्न खोज्छौ?” 20 मानिसहरूले जवाफ दिएर भने: “तिमीसँग दुष्‍ट आत्मा छ! कसले तिमीलाई मार्न खोज्छ र?” 21 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “मैले एउटा काम गरें, अनि तिमीहरू सबै छक्‍क पर्दछौ। 22 यसैकारण मोशाले तिमीहरूलाई खतना दिए; (यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाटै हो); अनि विश्रामदिनमा तिमीहरूले मानिसको खतना गर्दछौ। 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर विश्रामदिनमा मानिसले खतना गराउँछ भने विश्रामदिनमै मैले एकजना मानिसलाई बिलकुलै निको पारेकोमा के तिमीहरू मसँग रिसाउँछौ? 24 मुख हेरेर न्याय नगर, तर धर्ममय न्यायले न्याय गर!” 25 तब यरूशलेमकाहरूमध्ये कतिले भने: “के यिनी तिनी नै होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्? 26 तर हेर त, यिनी खुल्‍लमखुल्‍ला बोल्दछन्, र तिनीहरू यिनलाई केही पनि भन्दैनन्। यिनी वास्तवमा ख्रीष्‍ट हुन् भनेर के शासकहरूले साँच्‍ची नै थाहा पाए त? 27 तैपनि यिनी कहाँबाटका मानिस हुन्, हामीलाई थाहा छ; तर जब ख्रीष्‍ट आउनुहुन्छ, तब उहाँ कहाँबाटका हुनुहुन्छ, कसैलाई पनि थाहा हुँदैन।”
28 तब मन्दिरमा शिक्षा दिँदै गर्नुहुँदा येशूले कराएर यसो भन्‍नुभयो: “तिमीहरू मलाई चिन्दछौ, र म कहाँको हुँ, त्यो पनि जान्दछौ; अनि म आफ्नैपट्टिबाट आएको होइनँ, तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। 29 तर म उहाँलाई चिन्छु; किनकि म उहाँबाटको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।” 30 तब तिनीहरूले उहाँलाई पक्रन खोजे; तर कसैले उहाँमाथि हात हालेन; किनकि उहाँको घड़ी अझै आइपुगेको थिएन। 31 अनि मानिसहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे, र भने: “जब ख्रीष्‍ट आउनुहुन्छ, तब के उहाँले यी मानिसले गर्नुभएका चिन्हहरूभन्दा बढ़ी गर्नुहुनेछ र?” 32 उहाँको विषयमा मानिसहरूले यस्ता कुराहरू गुनगुनाइरहेका फरिसीहरूले सुने, अनि फरिसीहरू र मुख्य पूजाहारीहरूले उहाँलाई पक्रनका निम्ति अफिसरहरू पठाए। 33 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “अझै केही समयसम्म म तिमीहरूसँग हुन्छु, अनि म मलाई पठाउनुहुनेकहाँ जान्छु। 34 तिमीहरूले मलाई खोज्‍नेछौ र मलाई भेट्टाउनेछैनौ; अनि जहाँ म छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” 35 तब यहूदीहरूले आपसमा भने: “यिनी कहाँ जान लागेका छन्, र हामीले यिनलाई भेट्टाउनेछैनौं? के यिनी अन्यजातिहरूको बीचमा छरिएकाहरूकहाँ जान र अन्यजातिहरूलाई शिक्षा दिन लागेका छन्? 36 यिनले भनेको यो कुरा के हो: ‘तिमीहरूले मलाई खोज्‍नेछौ र मलाई भेट्टाउनेछैनौ; अनि जहाँ म छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
37 अन्तिम दिनमा, त्‍यस चाड़को मुख्य दिनमा येशू उभिनुभयो र यसो भन्दै कराउनुभयो: “कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्! 38 जसले ममाथि विश्‍वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्!” 39 तर यो कुरा उहाँले आत्माको विषयमा भन्‍नुभयो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले पाउन लागेका थिए; किनकि पवित्र आत्मा अझैंसम्म दिइनुभएको थिएन; किनभने येशू अझै महिमित हुनुभएको थिएन।
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने विषयमा मानिसहरूको बीचमा चलेको तर्क
40 यसकारण मानिसहरूमध्ये धेरैले यो कुरा सुनेर भने: “साँच्‍चै यहाँ नै ती भविष्यवक्ता हुनुहुन्छ।” 41 अरूले भने: “यहाँ नै ‘ख्रीष्‍ट’ हुनुहुन्छ।” तर कतिले भने: “के ख्रीष्‍ट गालीलबाट आउनुहुन्छ र? 42 ख्रीष्‍ट दाऊदको वंशबाट र बेतलेहेम गाउँबाट, जहाँ दाऊद थिए, आउनुहुन्छ भनेर के पवित्रशास्त्रले भनेको छैन र?” 43 यसकारण उहाँको कारणले मानिसहरूको बीचमा फाटो भयो। 44 अनि तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन चाहे, तर कसैले पनि उहाँमाथि हात हालेन। 45 तब ती अफिसरहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई भने: “तिमीहरूले उसलाई किन ल्याएनौ?” 46 ती अफिसरहरूले जवाफ दिए: “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेको छैन।” 47 तब फरिसीहरूले उनीहरूलाई जवाफ दिए: “के तिमीहरू पनि ठगियौ? 48 के शासकहरू वा फरिसीहरूमध्ये कसैले उसमाथि विश्‍वास गरेको छ र? 49 तर व्यवस्था नजान्‍ने यी मानिसहरू श्रापित छन्।” 50 निकोदेमसले (जो येशूकहाँ राती आएका थिए, जो तिनीहरूमध्ये एक थिए) तिनीहरूलाई भने: 51 “के हाम्रो व्यवस्थाले कुनै मानिसलाई, उसको कुरा पहिले नसुनीकन र उसले के गर्दछ, सो नजानीकन न्याय गर्छ र?” 52 तिनीहरूले जवाफ दिएर उनलाई भने: “के तिमी पनि गालीलकै हौ? खोजी गर, र हेर; किनकि गालीलबाट कुनै भविष्यवक्ता निस्किँदैन।” 53 अनि हरेक मानिस आ-आफ्नो घर गयो।