प्रभु येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
मत्ती १४:१५-२१, मर्कूस ६:३०-४४, लूका ९:१०-१७
6
यी कुराहरूपछि येशू गालीलको समुद्र अर्थात् तिबेरियासको समुद्रको पारिपट्टि जानुभयो। 2 अनि एउटा ठूलो भीड़ उहाँको पछि लाग्यो; किनकि उहाँले बिरामीहरूमाथि गर्नुभएका उहाँका चिन्हहरू तिनीहरूले देखे। 3 अनि येशू एउटा पहाड़मा चढ़्नुभयो, र त्यहाँ आफ्ना चेलाहरूसँग बस्नुभयो। 4 अनि यहूदीहरूकै चाड़ त्यो निस्तारचाड़ नजिकै थियो। 5 तब येशूले आफ्ना आँखाहरू उठाउनुभयो अनि एउटा ठूलो भीड़लाई आफूकहाँ आउँदै गरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो: “हामी कहाँबाट रोटीहरू किनौं, र यिनीहरूले खाऊन्?” 6 तर यो कुरा उहाँले उनलाई जाँच गर्नका निम्ति भन्नुभएको थियो; किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो। 7 फिलिपले उहाँलाई जवाफ दिए: “तिनीहरूमध्ये हरेकले थोरै-थोरै लिए तापनि दुई सय दीनारकाक रोटीहरू तिनीहरूका निम्ति पर्याप्त हुँदैनन।” 8 उहाँका चेलाहरूमध्ये एकजना, शिमोन पत्रुसका दाजु अन्द्रियासले उहाँलाई भने: 9 “यहाँ एउटा ठिटा छ, जससँग पाँचवटा जौका रोटी र दुईवटा ससाना माछा छन्, तर यति धेरैको बीचमा ती के हुन् र?” 10 अनि येशूले भन्नुभयो: “मानिसहरूलाई बस्न लाओ!” अब त्यस ठाउँमा धेरै घाँस थियो। यसकारण गन्तीमा प्राय: पाँच हजार पुरुषहरू बसे।11 अनि येशूले ती रोटीहरू लिनुभयो, र धन्यवाद दिएर उहाँले चेलाहरूलाई बाँड़्नुभयो, अनि चेलाहरूले चाहिँ बस्नेहरूलाई बाँड़े; अनि यही प्रकारले माछाहरूबाट जति तिनीहरूले चाह गरे, त्यति उनीहरूले बाँड़े। 12 तिनीहरू अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “उब्रेका टुक्राहरू बटुल, र एउटै पनि खेर नजाओस्!” 13 यसकारण तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीका टुक्राहरूबाट बाह्रवटा डालाहरू भरे, जुन टुक्राहरू ती खानेहरूले उबारेका थिए। 14 तब येशूले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने: “यस संसारमा आउनुहुने भविष्यवक्ता साँच्चै यहाँ नै हुनुहुँदो रहेछ।” 15 यसकारण आफूलाई राजा बनाउनका निम्ति तिनीहरू आउन र आफूलाई जबर्जस्ती पक्रन लागेका छन् भन्ने कुरा थाहा पाएर येशू एकलै फेरि पहाड़तिर जानुभयो।
प्रभु येशू पानीमाथि हिँड़्नुहुन्छ
मत्ती १४:२२-३३; मर्कूस ६:४५-५२
16 अनि जब साँझ पर्यो, तब उहाँका चेलाहरू समुद्रतिर झरे, 17 र डुङ्गामा चढ़ेर समुद्रपारि कपर्नहुमतिर लागे। अनि अँध्यारो भइसकेको थियो, र येशू तिनीहरूकहाँ आउनुभएको थिएन। 18 अनि आँधीबेहरी चलेको हुनाले समुद्र उर्लिन थाल्यो। 19 जब डुङ्गा खियाउँदै तिनीहरू तीन-चार माइलजति गएका थिए, तब तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़्दै गर्नुभएको र डुङ्गाको नजिक-नजिक आउँदै गर्नुभएको देखे; अनि तिनीहरू डराए। 20 तर उहाँले तिनीहरूलाई भन्नुभयो: “मै हुँ, नडराओ!” 21 तब तिनीहरूले इच्छापूर्वक उहाँलाई डुङ्गाभित्र ग्रहण गरे; अनि तुरुन्तै डुङ्गा तिनीहरू गइरहेको ठाउँमा पुगिहाल्यो।
प्रभु येशू स्वर्गबाट पठाइएको जीवनको रोटी हुनुहुन्छ
22 भोलिपल्ट समुद्रको पारिपट्टिको किनारमा उभिरहेका मानिसहरूले, उहाँका चेलाहरू चढ़ेको त्यस डुङ्गाबाहेक अरू कुनै डुङ्गा त्यहाँ नभएको र येशू आफ्ना चेलाहरूसित त्यस डुङ्गाभित्र नपस्नुभएको, तर उहाँका चेलाहरू मात्र त्यहाँबाट गएका कुरा थाहा पाए। 23 तरै पनि जहाँ प्रभुले धन्यवाद दिनुभएपछि तिनीहरूले रोटी खाएका थिए, त्यही ठाउँको नजिकमा तिबेरियासबाट अरू डुङ्गाहरू आइपुगे; 24 यसकारण जब मानिसहरूले न येशूलाई, न ता उहाँका चेलाहरूलाई त्यहाँ हुनुभएको देखे, तब तिनीहरू पनि ती डुङ्गाहरूमा चढ़े र येशूलाई खोज्दा-खोज्दै कपर्नहुममा आए।
25 अनि जब तिनीहरूले उहाँलाई समुद्रको पारिपट्टि भेट्टाए, तब तिनीहरूले उहाँलाई भने: “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” 26 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले चिन्हहरू देखेका हुनाले होइन, तर तिमीहरूले रोटीहरूबाट खाएर अघाएका हुनाले मलाई खोज्दछौ। 27 नष्ट भइजाने भोजनका निम्ति होइन, तर अनन्त जीवनसम्म रहिरहने भोजनका निम्ति परिश्रम गर, जुन भोजनचाहिँ मानिसका पुत्रले तिमीहरूलाई दिनेछन्; किनकि परमेश्वर पिताले उनैमाथि छाप लाउनुभएको छ।” 28 तब तिनीहरूले उहाँलाई भने: “परमेश्वरका कामहरू गर्नका निम्ति हामी के गरौं?” 29 येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “जसलाई उहाँले पठाउनुभएको छ, उनैमाथि तिमीहरू विश्वास गर! परमेश्वरको काम यही हो।” 30 यसकारण तिनीहरूले उहाँलाई भने: “तब तपाईं कुनचाहिँ चिन्ह देखाउनुहुन्छ त, जसलाई हामी देख्न सकौं र तपाईंलाई विश्वास गर्न सकौं? तपाईं के काम गर्नुहुन्छ? 31 हाम्रा पितापुर्खाहरूले उजाड़स्थानमा मन्ना खाए, जस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका निम्ति स्वर्गबाट रोटी दिनुभयो।’ ”ख
32 तब येशूले तिनीहरूलाई भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, मोशाले तिमीहरूलाई स्वर्गबाट त्यो रोटी दिएनन्, तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। 33 किनकि परमेश्वरको रोटी उनै हुन्, जो स्वर्गबाट ओर्लेर आउँछन् र जसले संसारलाई जीवन दिन्छन्।” 34 तब तिनीहरूले उहाँलाई भने: “हजुर, यो रोटी हामीलाई सधैंभरि दिनुहोस्!” 35 अनि येशूले तिनीहरूलाई भन्नुभयो: “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन; अनि जसले ममाथि विश्वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन। 36 तर मैले तिमीहरूलाई भनें, तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। 37 पिताले मलाई जतिजना दिनुहुन्छ, ती सबैजना मकहाँ आउनेछन्; अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले बाहिर अफाल्नेछैनँ। 38 किनभने म आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ। 39 अनि मलाई पठाउनुहुने पिताको इच्छा यो हो: उहाँले मलाई दिनुभएको सबैमध्ये एकैजनालाई पनि म नगुमाऊँ, तर अन्तिम दिनमा उसलाई फेरि बौराएर उठाऊँ। 40 अनि मलाई पठाउनुहुनेको इच्छा यो हो : हरेक जन जसले पुत्रलाई देख्छ र उनीमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस्; अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु।”
41 तब यहूदीहरूले उहाँको विषयमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, ‘स्वर्गबाट ओर्ली आएको रोटी म नै हुँ।’ 42 अनि तिनीहरूले भने: “के यिनी यूसुफका छोरा येशू होइनन् र, जसका बुबा र आमालाई हामी चिन्छौं? तब यिनले कसरी ‘म स्वर्गबाट ओर्ली आएको हुँ’ भन्छन् त?” 43 यसकारण येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “तिमीहरू आपसमा गनगन नगर! 44 मलाई पठाउनुहुने पिताले उसलाई नखिँचेसम्म कोही पनि मानिस मकहाँ आउन सक्दैन; अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु। 45 भविष्यवक्ताहरूमा लेखिएको छ: ‘अनि उनीहरू सबै परमेश्वरद्वारा सिकाइएका हुनेछन्।’ग यसकारण हरेक जन, जसले पिताबाट सुनेको र सिकेको छ, मकहाँ आउँछ। 46 कुनै मानिसले पितालाई देखेको त होइन, उनैले मात्र पितालाई देखेका छन्, जो परमेश्वरबाटकै हुन्। 47 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन छ। 48 जीवनको रोटी म नै हुँ। 49 तिमीहरूका पितापुर्खाहरूले उजाड़स्थानमा मन्ना खाए, र मरे। 50 यो त्यही रोटी हो, जुन रोटी मानिसले यसबाट खाओस् र नमरोस् भनेर स्वर्गबाट ओर्लेर आउँछ। 51 त्यो जिउँदो रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो; कसैले यस रोटीबाट खायो भने ऊ सधैंभरि जिउनेछ; अनि त्यो रोटीचाहिँ, जो म दिनेछु, मेरो मासु हो, जुन मासु म संसारको जीवनका निम्ति दिनेछु।”
52 यसकारण यहूदीहरूले ‘यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ?’ भन्दै आपसमा झगड़ा गरे। 53 तब येशूले तिनीहरूलाई भन्नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको मासु खाएनौ र उनको रगत पिएनौ भने तिमीहरू आफैमा जीवन हुँदैन। 54 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ; अनि अन्तिम दिनमा म उसलाई बौराएर उठाउनेछु। 55 किनकि मेरो मासु साँच्चै खानेकुरा हो र मेरो रगत साँच्चै पिउने कुरा हो। 56 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊ ममा रहन्छ, र म उसमा। 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताद्वारा जिउँछु, त्यसरी नै जसले मलाई खान्छ, ऊ पनि मद्वारा जिउनेछ। 58 योचाहिँ त्यो रोटी हो, जो स्वर्गबाट ओर्लेर आयो, जसरी तिमीहरूका पितापुर्खाहरूले मन्ना खाए र मरे, त्यस्तो होइन; जसले यस रोटीबाट खान्छ, ऊ सधैंभरि जिउनेछ।” 59 यी कुराहरू उहाँले कपर्नहुममा शिक्षा दिनुहुँदा सभाघरमा भन्नुभयो।
धेरै चेलाहरूले प्रभु येशूलाई छोड़्छन्
60 यसकारण उहाँका चेलाहरूमध्ये धेरैले यो सुनेर भने: “यो कठोर वचन हो, कसले यो सुन्न सक्छ र?” 61 तर यस विषयमा आफ्ना चेलाहरू गनगनाए भनी आफ्नो मनमा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “के यस कुराले तिमीहरूलाई ठेस लाग्छ? 62 तिमीहरूले मानिसका पुत्रलाई पहिले उनी जहाँ थिए, त्यतैतिर उक्लँदै गइरहेका देख्यौ भने नि, कसो? 63 आत्माले पो जीवित पार्नुहुन्छ; शरीरलेघ केही फाइदा दिँदैन; जुन वचनहरू म तिमीहरूलाई भन्दछु, ती वचनहरू आत्मा हुन् र जीवन हुन्। 64 तर तिमीहरूमध्ये कतिजना छन्, जसले विश्वास गर्दैनन्।” किनभने विश्वास नगर्नेहरू को-को हुन्, र उहाँलाई पक्राउने को हुनेछ, सो येशूले शुरुदेखि नै जान्नुभएको थियो। 65 अनि उहाँले भन्नुभयो: “यसैकारण मैले ‘मेरा पिताबाट उसलाई नदिइएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी तिमीहरूलाई भनेको हुँ।”
66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरैजना पछि हटे अनि फेरि उहाँसँग हिँड़ेनन्। 67 तब येशूले ती बाह्रजनालाई भन्नुभयो: “के तिमीहरू पनि जान चाहन्छौ?” 68 तब शिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। 69 अनि तपाईं जीवित परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी हामीले विश्वास गरेका छौं र पक्का गरी जानेका छौं।” 70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “के मैले तिमीहरू बाह्रजनालाई चुनिनँ र? तर तिमीहरूमध्ये एकजना शैतान हो।” 71 उहाँले शिमोनको छोरा यहूदा इस्करयोतीको विषयमा भन्नुभयो, किनभने बाह्रजनामध्ये एक भएर पनि उहाँलाई पक्राउने त्यही थियो।