बेथेस्दा नामक दहमा अठतीस वर्षदेखिको रोगी
5
त्यसपछि यहूदीहरूको एउटा चाड़ थियो, अनि येशू माथि यरूशलेम जानुभयो। 2 अब यरूशलेममा, भेड़ाको मूलढोकाको नजिकमा हिब्रू भाषामा बेथेस्दा नाम भएको एउटा दह थियो, जसका पाँचवटा दलानहरू थिए। 3 तीभित्र रोगी, अन्धा, लङ्गड़ा र अङ्ग सुकेकाहरूको एउटा ठूलो भीड़ पानी कहिले छचल्किएला भनी पर्खंदै पस्रिरहेको हुन्थ्यो। 4 किनभने बेला-बेलामा एकजना स्वर्गदूतले त्‍यस दहभित्र ओर्लेर पानी खल्बलाइदिन्थे; यसकारण पानी छचल्किएपछि जो पहिले त्यसभित्र ओर्लिन्थ्यो, ऊ आफूलाई जस्तै रोग लागेको भए तापनि निको भइहाल्थ्यो। 5 अनि त्यहाँ अठतीस वर्षदेखि रोग लागेको कुनै एकजना मानिस थियो। 6 येशूले त्यसलाई पस्रिरहेको देखेर र त्यो धेरै समयदेखि त्यस दशामा रहेको हो भनी जानेर उहाँले त्यसलाई भन्‍नुभयो: “के तिमी निको हुन चाहन्छौ?” 7 त्यस रोगी मानिसले उहाँलाई जवाफ दियो: “हजुर, पानी छचल्किँदा मलाई दहभित्र ओराल्ने कोही मानिस छैन; तर म आफू आउँदा-आउँदै मभन्दा पहिल्यै अर्को ओर्लिजान्छ।” 8 येशूले त्यसलाई भन्‍नुभयो: “उठ; आफ्नो ओछ्यान उठाऊ, र हिँड़!” 9 अनि तुरुन्तै त्यो मानिस निको भइहाल्यो। अनि त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड़्यो। अनि त्यही दिन विश्रामदिन थियो।
10 यसकारण यहूदीहरूले त्यस निको पारिएको मानिसलाई भने: “यो विश्रामदिन हो, तिमीलाई आफ्नो ओछ्यान बोक्नु उचित छैन।” 11 त्यसले तिनीहरूलाई जवाफ दियो: “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड़’ भन्‍नुभयो।” 12 तब तिनीहरूले त्यसलाई सोधे: “तिमीलाई ‘आफ्नो ओछ्यान उठाऊ र हिँड़’ भन्‍ने मानिस को हो?” 13 तर उहाँ को हुनुहुन्थ्यो, त्यस निको पारिएको मानिसले चिनेको थिएन; किनभने त्यस ठाउँमा भीड़ भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो।
14 त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो: “हेर, तिमी निको पारिएका छौ; अबदेखि उसो पाप नगर, नत्र ता झन् खराब कुरा तिमीमाथि आइपर्ला।” 15 त्यो मानिस गयो, र मलाई निको पार्ने त येशू हुनुहुँदो रहेछ भनी यहूदीहरूलाई भनिदियो। 16 अनि यही कारणले गर्दा यहूदीहरूले येशूलाई सताए र उहाँलाई मार्न खोजे; किनभने उहाँले यी कुराहरू विश्रामदिनमा गर्नुभएको थियो। 17 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो: “मेरा पिता अहिलेसम्म काम गर्नुहुन्छ, र म काम गर्छु।” 18 यसकारण यहूदीहरूले झन् बढ़्‍ता गरी उहाँलाई मार्न खोजे; किनभने उहाँले विश्रामदिन मात्र भङ्ग गर्नुभएको थिएन, तर आफूलाई परमेश्‍वरसँग बराबरी तुल्याउँदै ‘परमेश्‍वर मेरा पिता हुनुहुन्छ’ पनि भन्‍नुभयो। 19 तब येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो: “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, पुत्रले पितालाई जे गरिरहनुभएको देख्छन्, त्योबाहेक अरू केही पनि उनी आफैले गर्न सक्दैनन्; किनकि उहाँले जे कुराहरू गर्नुहुन्छ, ती कुराहरू त्यही प्रकारले पुत्रले पनि गर्दछन्। 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुराहरू, जुनचाहिँ उहाँ आफैले गर्नुहुन्छ, सो उनलाई देखाउनुहुन्छ; अनि तिमीहरू छक्‍क पर भनेर उहाँले यीभन्दा ठूला कामहरू उनलाई देखाउनुहुनेछ। 21 किनकि जसरी पिताले मरेकाहरूलाई बौराउनुहुन्छ र तिनीहरूलाई जीवित पार्नुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन्, त्यसलाई जीवित पार्छन्। 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर जसरी सबै मानिसहरूले पितालाई आदर गर्दछन्, त्यसरी नै तिनीहरूले पुत्रलाई पनि आदर गरून् भनेर सारा न्याय पुत्रलाई सुम्पनुभएको छ। 23 जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। 24 साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।”
25 “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, त्यो घड़ी आइरहेको छ, र अहिले नै हो, जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; अनि जसले सुन्दछन्, ती जिउनेछन्। 26 किनभने जसरी पिता आफैमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई आफैमा पनि जीवन होस् भनेर दिनुभएको छ; 27 अनि उहाँले उनलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ; किनभने उनी मानिसका पुत्र हुन्। 28 यस कुरामा अचम्म नमान; किनभने त्यो घड़ी आइरहेको छ, जसमा चिहानभित्र रहेकाहरू सबैले उनको सोर सुन्‍नेछन्, 29 अनि भलो गर्नेहरू जीवनको बौरिउठाइका निम्ति र दुष्‍ट काम गर्नेहरूचाहिँ दण्डको बौरिउठाइका निम्ति निस्किआउनेछन्। 30 आफ्नैपट्टिबाट म केही पनि गर्न सक्दिनँ; जस्तो म सुन्दछु, त्यस्तै म न्याय गर्दछु, अनि मेरो न्याय सही हो; किनभने म आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुने पिताको इच्छा खोज्दछु।”
ख्रीष्‍ट येशूका चारवटा साक्षीहरू
31 “मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन। 32 मेरो विषयमा गवाही दिने अर्कै एकजना छन्, र म जान्दछु, जुन गवाही उनले मेरो विषयमा दिन्छन्, त्यो गवाही सत्य हो। 33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएयौ, अनि उनले सत्यताको विषयमा गवाही दिएका छन्। 34 तर मानिसबाटको गवाही म ग्रहण गर्दिनँ; तर तिमीहरूले मुक्ति पाओ भनेर म यी कुराहरू भन्दछु। 35 उनी बलिरहने र चम्किरहने बत्ती थिए, अनि केही समयसम्म उनको ज्योतिमा आनन्द मनाउन तिमीहरू राजी भयौ। 36 तर मसँग यूहन्‍नाको भन्दा ठूलो साक्षी छ; किनकि जुन कामहरू पिताले मलाई पूरा गर्नका निम्ति दिनुभएको छ, ती कामहरूले नै, जुनचाहिँ म गर्दछु, पिताले मलाई पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन्। 37 अनि मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। तिमीहरूले न ता कुनै समयमा उहाँको सोर सुनेका छौ, न ता उहाँको रूप नै देखेका छौ। 38 अनि उहाँको वचन तिमीहरूभित्र रहिरहेको छैन; किनकि जसलाई उहाँले पठाउनुभएको छ, उनलाई तिमीहरू विश्‍वास गर्दैनौ। 39 पवित्रशास्त्रहरूमा खोजी गर; किनकि तिनैमा तिमीहरूका निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्दछौ, अनि मेरो विषयमा गवाही दिने ती नै हुन्। 40 अनि तिमीहरू जीवन पाउनलाई मकहाँ आउन इच्छुक छैनौ। 41 म मानिसहरूबाटको आदर ग्रहण गर्दिनँ। 42 तर म तिमीहरूलाई चिन्छु, तिमीहरूभित्र परमेश्‍वरको प्रेम छैन। 43 म मेरा पिताको नाममा आएको हुँ, अनि तिमीहरू मलाई ग्रहण गर्दैनौ; अर्को एकजना आफ्नै नाममा आयो भने त्यसलाई तिमीहरूले ग्रहण गर्नेछौ। 44 तिमीहरू, जसले एक-अर्काबाट आदर लिन्छौ र परमेश्‍वरबाट मात्र आउने आदरचाहिँ खोज्दैनौ, त कसरी विश्‍वास गर्न सक्छौ? 45 पिताको सामुन्‍ने म तिमीहरूलाई दोष लगाउँला भनी नसोच; तिमीहरूलाई दोष लगाउने एकजना छन् अर्थात्‌ मोशा, जसमाथि तिमीहरूले भरोसा राखेका छौ। 46 किनभने तिमीहरूले मोशालाई विश्‍वास गरेका हुँदा हौ ता तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ; किनकि उनले मेरो विषयमा लेखे। 47 तर तिमीहरू उनका लेखहरू विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरू कसरी विश्‍वास गरौला त?”