सामरी स्त्रीसित प्रभु येशूको भेट
4
यसकारण यूहन्नाले भन्दा येशूले बेसी चेलाहरू बनाउनुभयो र बप्तिस्मा दिनुभयो भन्ने कुरा फरिसीहरूले सुनेछन् भनी जब प्रभुले थाहा पाउनुभयो, 2 (हुन त येशू आफैले बप्तिस्मा दिनुभएन, तर उहाँका चेलाहरूले दिन्थे), 3 तब उहाँले यहूदिया छोड़्नुभयो, र फेरि गालीलमा जानुभयो। 4 अनि उहाँलाई सामरियाबाट भएर जानुपरेको थियो। 5 तब उहाँ याकूबले आफ्नो छोरा यूसुफलाई दिएको जमिनको छेवैमा, सुखार भनिने सामरियाको शहरमा आउनुभयो। 6 अब याकूबको इनार त्यहाँ थियो। यसकारण येशू यात्राले गर्दा थकित भएर त्यस इनारमा बस्नुभयो; समय प्राय: छ बजेक भएको थियो। 7 सामरियाकी एउटी स्त्री पानी भर्न आई; येशूले उसलाई भन्नुभयो: “मलाई पानी पिउन देऊ!” 8 किनकि उहाँका चेलाहरूचाहिँ शहरमा खानेकुरा किन्न गइसकेका थिए। 9 तब सामरियाकी त्यस स्त्रीले उहाँलाई भनी: “तपाईं यहूदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन माग्नुहुन्छ?” किनभने यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। 10 येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यदि तिमीले परमेश्वरको दान जानेकी भए, र ‘मलाई पानी पिउन देऊ’ भनी तिमीलाई भन्ने को हो, चिनेकी भए तिमीले पो उनीसित माग्नेथियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए।” 11 त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईंसँग उघाउने केही चीज छैन, र यो इनारचाहिँ गहिरो छ; तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी पाउनुहुन्छ? 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूलो हुनुहुन्छ, जसले हामीलाई यो इनार दिनुभयो, अनि उहाँ आफैले यसबाट पिउनुभयो, र उहाँका सन्तानहरू र उहाँका गाईबस्तुले पनि पिए?” 13 येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यस पानीबाट पिउने हरेक फेरि तिर्खाउनेछ; 14 तर जसले त्यस पानीबाट पिउला, जुन पानी म उसलाई दिनेछु, ऊ कहिल्यै तिर्खाउनेछैन; तर जुन पानी म उसलाई दिनेछु, त्यो ऊभित्र अनन्त जीवनका निम्तिख उम्रिरहने पानीको मुहान बन्नेछ।” 15 त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, मलाई यही पानी दिनुहोस्, र म नतिर्खाऊँ न ता यहाँ पानी भर्न आऊँ।”16 येशूले उसलाई भन्नुभयो: “जाऊ, आफ्ना पतिलाई बोलाऊ, र यहाँ आऊ!” 17 त्यस स्त्रीले जवाफ दिएर भनी: “मेरा पति छैनन्।” येशूले उसलाई भन्नुभयो: “मेरा पति छैनन् भनेर तिमीले ठीक भन्यौ; 18 किनभने पतिहरू त तिम्रा पाँचजना भइसकेका छन्, अनि जो अहिले तिमीसँग छन्, तिनी तिम्रा पति होइनन्; तिमीले यो साँचो भनेकी छ्यौ।” 19 त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईं भविष्यवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। 20 हाम्रा पितापुर्खाहरूले यस पहाड़माग उपासनाघ गरे, तर तपाईंहरू भन्नुहुन्छ, यरूशलेम पो त्यो ठाउँ हो, जहाँ मानिसहरूले उपासना गर्नुपर्दछ।” 21 येशूले उसलाई भन्नुभयो: “हे नारी, मलाई विश्वास गर; समय आउँछ, जुन घड़ी तिमीहरूले न ता यस पहाड़मा न ता यरूशलेममा पिताको उपासना गर्नेछौ। 22 तिमीहरू जसलाई चिन्दैनौ, उहाँको उपासना गर्दछौ; हामीचाहिँ जसलाई चिन्दछौं, उहाँकै उपासना गर्दछौं; किनकि मुक्ति यहूदीहरूबाट छ। 23 तर त्यो समय आउँछ, र अहिले नै हो, जुन घड़ी साँचो उपासकहरूले पिताको उपासना आत्मामा र सत्यतामा गर्नेछन्; किनकि उहाँको उपासना गर्नलाई पिताले यस्तैहरूलाई खोज्नुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ, अनि उहाँको उपासना गर्नेहरूले आत्मामा र सत्यतामा उपासना गर्नुपर्दछ।” 25 त्यस स्त्रीले उहाँलाई भनी: “मलाई थाहा छ, ‘मसीह’ आउनुहुन्छ, जो ‘ख्रीष्ट’ भनिनुहुन्छ; जब उहाँ आउनुहुन्छ, तब उहाँले हामीलाई सबै कुराहरू बताउनुहुनेछ।” 26 येशूले उसलाई भन्नुभयो: “तिमीसँग बोल्ने, म उही हुँ।”
27 अनि त्यही घड़ी उहाँका चेलाहरू आए, र उहाँले त्यस स्त्रीसँग कुरा गर्नुभएकोमा तिनीहरू छक्कै परे; तरै पनि ‘तपाईं के खोज्नुहुन्छ?’ अथवा ‘तपाईं किन ऊसँग कुरा गर्नुहुन्छ?’ भन्ने कुरा कसैले पनि गरेनन्। 28 तब त्यस स्त्रीले आफ्नो पानीको गाग्रो छोड़ी, शहरभित्र गई र मानिसहरूलाई भनी: 29 “आओ, एकजना मानिसलाई हेर, जसले मैले जे-जे गरें, ती सबै कुराहरू मलाई बताउनुभयो; के उहाँ नै ख्रीष्ट हुनुहुन्न र?” 30 तब तिनीहरू शहरदेखि निस्केर उहाँकहाँ आए। 31 त्यही समयमा उहाँका चेलाहरूले ‘रब्बी, खानुहोस्’ भन्दै उहाँलाई विन्ती गरे। 32 तर उहाँले तिनीहरूलाई भन्नुभयो: “खानका निम्ति मसँग भोजन छ, जसलाई तिमीहरू जान्दैनौ।” 33 यसकारण चेलाहरूले एक-अर्कासँग कुरा गरे: “कसैले उहाँका निम्ति खानलाई केही ल्याइदिएको पो छ कि?” 34 येशूले तिनीहरूलाई भन्नुभयो: “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा पूरा गर्नु र उहाँको काम गरिसिद्ध्याउनु नै मेरो भोजन हो। 35 अझै चार महिना छन्, र बाली काट्ने समय आउँछ भनी के तिमीहरू भन्दैनौ र? हेर, म तिमीहरूलाई भन्दछु, आफ्ना आँखाहरू उठाओ र खेतबारीहरूतिर हेर; किनकि ती कटनीका निम्ति पहेंलैङ भइसकेका छन्। 36 अनि जसले बाली काट्छ, उसले ज्याला पाउँछ र अनन्त जीवनका निम्ति फल बटुल्छ, कि छर्ने र बाली काट्ने दुवैले एकसाथ रमाउन पाऊन्। 37 अनि ‘एकजनाले छर्छ र अर्कोले कटनी गर्छ’ भन्ने यो भनाइ यसैमा सत्य ठहरिन्छ। 38 जसका निम्ति तिमीहरूले परिश्रम गरेका छैनौ, त्यसैको कटनी गर्न मैले तिमीहरूलाई पठाएँ; अरूले परिश्रम गरे, र तिमीहरूचाहिँ तिनीहरूको परिश्रमभित्र पसेका छौ।”
39 अनि ‘मैले जे-जे गरें, ती सबै कुराहरू उहाँले मलाई भनिदिनुभयो’ भन्दै गवाही दिने त्यस स्त्रीको कुराको कारणले त्यस शहरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। 40 यसकारण जब ती मानिसहरू उहाँकहाँ आए, तब तिनीहरूले ‘हामीसँग रहनुहोस्’ भनी उहाँलाई विन्ती गरे; अनि उहाँ दुई दिनसम्म त्यहाँ रहनुभयो। 41 अनि उहाँको आफ्नै वचनको कारणले अझै धेरैले विश्वास गरे, 42 र त्यस स्त्रीलाई भने: “अबदेखि उसो हामी तिम्रो भनाइकै कारणले मात्र विश्वास गर्दैनौं, किनकि हामी आफैले सुनेका छौं, र जान्दछौं, उहाँ साँच्चै संसारको मुक्तिदाता ‘ख्रीष्ट’ हुनुहुन्छ।”
प्रभु येशूले राजकर्मचारीको छोरालाई निको पार्नुभयो
43 अब दुई दिनपछि उहाँ त्यहाँबाट निस्केर गालील जानुभयो। 44 किनकि येशू आफैले ‘आफ्नो देशमा भविष्यवक्ताको आदर हुँदैन’ भनी गवाही दिनुभयो। 45 यसकारण जब उहाँ गालीलमा आउनुभयो, तब गालीलीहरूले चाड़को समयमा यरूशलेममा उहाँले गर्नुभएका सबै कुराहरू देखेका हुनाले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू पनि त्यस चाड़मा गएका थिए। 46 यसकारण येशू फेरि गालीलको कानामा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। अनि त्यहाँ कुनै एकजना राजकर्मचारी थिए, जसको छोरा कपर्नहुममा बिरामी थियो। 47 येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्ने कुरा सुनेर तिनी उहाँकहाँ गए, अनि ‘तल झरेर मेरो छोरालाई निको पारिदिनुहोस्’ भनी उहाँलाई विन्ती चढ़ाए; किनकि ऊ मर्नै आँटेको थियो। 48 तब येशूले तिनलाई भन्नुभयो: “चिन्ह र अचम्मका कामहरू नदेखुन्जेल तिमीहरूले कुनै प्रकारले विश्वास गर्नेछैनौ।” 49 ती राजकर्मचारीले उहाँलाई भने: “हजुर, मेरो बालक मर्नुभन्दा पहिल्यै तल आइदिनुहोस्!” 50 येशूले तिनलाई भन्नुभयो: “जाऊ, तिम्रो छोरा बाँच्छ।” अनि येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे, र आफ्नो बाटो लागे।
51 अनि तिनी तल झर्दै गर्दा तिनका दासहरूले तिनलाई भेटे र ‘तपाईंका छोरा बाँच्छन्’ भनी तिनलाई भने। 52 तब तिनले कुन घड़ीदेखि ऊ सन्चो हुन थाल्यो भनी तिनीहरूलाई सोधे। अनि तिनीहरूले तिनलाई भने: “हिजो, सात बजेच ज्वरोले तिनलाई छोड्यो।” 53 यसकारण येशूले तिनलाई ‘तिम्रो छोरा बाँच्छ’ भनेकै बेलामा हो रहेछ भनी बुबाचाहिँले थाहा पाए; अनि तिनी आफैले विश्वास गरे, र तिनको सारा परिवारले पनि। 54 यहूदियाबाट गालीलमा आउनुभएपछि येशूले गर्नुभएको यो फेरि दोस्रो चिन्ह हो।