निकोदेमस र नयाँ जन्म
3
अनि फरिसीहरूमा निकोदेमस नाम भएका एकजना मानिस थिए, जो यहूदीहरूका शासक थिए। 2 उनी राती येशूकहाँ आए, र उहाँलाई भने: “रब्बी, तपाईं परमेश्‍वरबाट आउनुभएको गुरु हुनुहुन्छ भनी हामीलाई थाहा छ; किनकि परमेश्‍वर साथमा रहनुभएन भने कसैले पनि यी चिन्हहरू गर्न सक्दैन, जुन चिन्हहरू तपाईं गर्नुहुन्छ।” 3 येशूले जवाफ दिएर उनलाई भन्‍नुभयो: “साँचो-साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन।” 4 निकोदेमसले उहाँलाई भने: “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ? के ऊ आफ्नी आमाको गर्भमा दोस्रो चोटि पसेर जन्मन सक्छ र?” 5 येशूले जवाफ दिनुभयो: “साँचो-साँचो म तिमीलाई भन्दछु, कोही मानिस पानी र आत्माबाट जन्मेन भने ऊ परमेश्‍वरको राज्यभित्र पस्‍न सक्दैन। 6 शरीरबाट जन्मिएकोचाहिँ शरीर हो, र आत्माबाट जन्मिएकोचाहिँ आत्मा हो। 7 तिमीहरूले नयाँ गरी जन्मनैपर्छ भनी मैले तिमीलाई भनेकोमा तिमी अचम्म नमान! 8 हावा जहाँ चाहन्छ, त्यतै बहन्छ, अनि तिमीले त्यसको आवाजचाहिँ सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ, सो जान्दैनौ। आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ।” 9 निकोदेमसले जवाफ दिएर उहाँलाई भने: “यी कुराहरू कसरी हुन सक्छन्?” 10 येशूले जवाफ दिएर उनलाई भन्‍नुभयो: “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू जान्दैनौ? 11 साँचो-साँचो म तिमीलाई भन्दछु, हामी जे जान्दछौं, त्यही भन्छौं, अनि हामीले जे देखेका छौं, त्यसको गवाही दिन्छौं, अनि तिमीहरू हाम्रो गवाही ग्रहण गर्दैनौ। 12 मैले तिमीहरूलाई पृथ्वीका कुराहरू बताएको छु र तिमीहरू विश्‍वास गर्दैनौ भने, मैले तिमीहरूलाई स्वर्गका कुराहरू बताएँ भने त तिमीहरूले कसरी विश्‍वास गरौला? 13 अनि स्वर्गमा कोही मानिस उक्ली गएको छैन, केवल उनी, जो स्वर्गबाट ओर्ली आएका छन् अर्थात्‌ मानिसका पुत्र, जो स्वर्गमा छन्। 14 अनि जसरी मोशाले उजाड़स्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनुपर्छ; 15 यसैले कि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्‍ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्‍ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। 17 किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर नै परमेश्‍वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो। 18 जसले उहाँमाथि विश्‍वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्‍वरका एक मात्र जन्माइएको पुत्रको नाममाथि विश्‍वास गरेको छैन। 19 अनि आरोप यो हो: ज्योति संसारमा आएको छ, अनि मानिसहरूले चाहिँ ज्योतिलाई भन्दा बरु अन्धकारलाई प्रेम गरे; किनकि तिनीहरूका कामहरू दुष्‍ट थिए। 20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्दछ, र त्यसका कामहरूको दोष प्रकट नहोस् भनेर ज्योतिकहाँ आउँदैन। 21 तर जसले सत्य काम गर्दछ, उसका कामहरू परमेश्‍वरमा गरिएका हुन् भनी देखा परून् भनेर ऊचाहिँ ज्योतिकहाँ आउँछ।”
ख्रीष्‍टको विषयमा बप्‍तिस्‍मा दिने यूहन्‍नाको अन्तिम गवाही
22 यी कुराहरूपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा आउनुभयो; अनि त्यहाँ उहाँले तिनीहरूसित रहेर बप्‍तिस्‍मा दिनुहुन्थ्यो। 23 अनि यूहन्‍नाले पनि सालीमको नजिक एनोनमा बप्‍तिस्‍मा दिइरहेका थिए; किनभने त्यहाँ धेरै पानी थियो, अनि तिनीहरू आएर बप्‍तिस्‍मा लिन्थे। 24 किनकि यूहन्‍ना अहिलेसम्म झ्यालखानामा हालिएका थिएनन्। 25 तब शुद्ध हुने विषयमा यूहन्‍नाका केही चेलाहरू र यहूदीहरूको बीचमा वादविवाद चल्यो। 26 अनि यूहन्‍नाकहाँ आएर तिनीहरूले उनलाई भने: “रब्बी, यर्दनपारि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको विषयमा तपाईंले गवाही दिनुभएको थियो, हेर्नुहोस्! उहाँले बप्‍तिस्‍मा दिनुहुन्छ, र सबै मानिसहरू उहाँकहाँ आउँछन्।” 27 यूहन्‍नाले जवाफ दिएर भने: “स्वर्गबाट मानिसलाई नदिइएसम्म त्यसले केही पनि पाउन सक्दैन। 28 म ख्रीष्‍ट होइनँ, तर मचाहिँ उहाँको अघि पठाइएको हुँ भनी मैले भनें भनेर तिमीहरू आफै मेरो विषयमा गवाही दिन्छौ। 29 जससँग दुलही छन्, तिनीचाहिँ दुलहा हुन्; तर उभिएर तिनको कुरा सुन्‍ने दुलहाको साथीचाहिँ दुलहाको सोरको कारणले साह्रै आनन्दित हुन्छ; यसकारण मेरो यो आनन्द पूरा भएको हो। 30 उहाँ बढ़्‍नुपर्छ, तर मचाहिँ घट्नुपर्छ। 31 माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा माथि हुनुहुन्छ; जो पृथ्वीबाटको हो, ऊ पृथ्वीको हो, र पृथ्वीकै कुरा बोल्छ; जोचाहिँ स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ। 32 अनि उहाँले जे देख्‍नुभएको र सुन्‍नुभएको छ, त्यसकै गवाही दिनुहुन्छ; अनि उहाँको गवाही कसैले पनि ग्रहण गर्दैन। 33 जसले उहाँको गवाही ग्रहण गरेको छ, उसले ‘परमेश्‍वर सत्य हुनुहुन्छ’ भनी छाप लगाएको छ। 34 किनभने जसलाई परमेश्‍वरले पठाउनुभएको छ, उहाँले परमेश्‍वरका वचनहरू बोल्नुहुन्छ; किनकि परमेश्‍वरले उहाँलाई आत्मा नापी-नापी दिनुहुन्‍न। 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै कुराहरू उहाँको हातमा दिनुभएको छ। 36 जसले पुत्रमाथि विश्‍वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्‍वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।”