कानाको एउटा विवाहमा प्रभु येशूले आफ्‍नो महिमा प्रकट गर्न थाल्‍नुभयो
2
अनि तेस्रो दिनमा गालीलको कानामा एउटा विवाह थियो, अनि येशूकी आमा त्यहाँ थिइन्। 2 अनि येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइनुभएको थियो। 3 अनि तिनीहरूलाई दाखमद्यको खाँचो पर्दा येशूकी आमाले उहाँलाई भनिन्: “तिनीहरूसित दाखमद्य छैन।” 4 येशूले तिनलाई भन्‍नुभयो: “हे नारी, तपाईंसित मेरो के काम छ र? मेरो घड़ी अझै आएको छैन।” 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्: “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्‍छ, त्यही गर!” 6 अनि यहूदीहरूको शुद्ध हुने रीतिअनुसार एउटैमा बीस-तीस पाथी अटाउन सक्ने छवटा पानी हाल्ने ढुङ्गाका घ्याम्पाहरू त्यहाँ राखिएका थिए। 7 येशूले तिनीहरूलाई भन्‍नुभयो: “पानीका घ्याम्पाहरूमा पानी भर!” अनि तिनीहरूले तिनलाई मुख-मुखसम्म भरिदिए। 8 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “अब उघाएर भोजका मुखियाकहाँ लैजाओ!” अनि तिनीहरूले लगे। 9 जब भोजका मुखियाले दाखमद्य बनेको पानी चाखे, र त्यो कहाँबाट आएको थियो, सो जानेनन्, (तर पानी उघाउने नोकरहरूलाई थाहा थियो), तब भोजका मुखियाले दुलहालाई बोलाए, 10 र तिनलाई भने: “हरेक मानिसले शुरुमा असल दाखमद्य टक्र्याउँछ, र मानिसहरूलाई मात लागेपछि कमसलचाहिँ; तर तपाईंले त अझसम्म असल दाखमद्य पो राखिछोड़्नुभएको रहेछ।”
11 चिन्हहरूको यो शुरु येशूले गालीलको कानामा गर्नुभयो र आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे। 12 त्यसपछि उहाँ कपर्नहुममा झर्नुभयो – उहाँ र उहाँकी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरू; अनि उहाँहरू त्यहाँ धेरै दिनसम्म रहनुभएन।
प्रभु येशूले पहिलो पल्ट मन्दिर शुद्ध पार्नुहुन्छ
13 अनि यहूदीहरूको निस्तारचाड़ नजिकै आइपुगेको थियो; अनि येशू माथि यरूशलेम जानुभयो। 14 अनि मन्दिरमा उहाँले गोरु, भेड़ा र ढुकुरहरू बेच्‍नेहरूलाई, अनि सराफीहरूलाई बसिरहेका भेट्टाउनुभयो। 15 अनि ससाना डोरीहरूको एउटा कोर्रा बनाएर उहाँले ती सबैलाई, भेड़ाहरू र गोरुहरूलाई पनि, मन्दिरबाट बाहिर लखेट्नुभयो, अनि सराफीहरूका पैसा घोप्ट्याइदिनुभयो, र टेबलहरू पल्टाइदिनुभयो। 16 अनि उहाँले ढुकुर बेच्‍नेहरूलाई भन्‍नुभयो: “यी चीजहरू यहाँबाट लैजाओ; मेरा पिताको घरलाई व्यापारको घर नतुल्याओ!” 17 अनि उहाँका चेलाहरूले यो लेखिएको छ भनी सम्झना गरे: ‘तपाईंको घरको जोशले मलाई खाइसकेको छ।’ 18 तब यहूदीहरूले उहाँलाई जवाफ दिएर भने: “तपाईं यी कुराहरू गर्नुहुन्छ, त हामीलाई तपाईं के चिन्ह देखाउनुहुन्छ?” 19 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “यो मन्दिर भत्काइदेओ, अनि म यसलाई तीन दिनमा खड़ा गर्नेछु।” 20 तब यहूदीहरूले भने: “यो मन्दिर बनाउन छ्यालीस वर्ष लागेको थियो, अनि तपाईंले चाहिँ यसलाई तीन दिनमा खड़ा गर्नुहुनेछ?” 21 तर उहाँले आफ्नै शरीरको मन्दिरको विषयमा भन्‍नुभएको थियो। 22 यसकारण जब उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो, तब उहाँका चेलाहरूले यो कुरा उहाँले तिनीहरूलाई भन्‍नुभएको थियो भनी सम्झे; अनि तिनीहरूले पवित्रशास्त्र र येशूले भन्‍नुभएको वचनमाथि विश्‍वास गरे।
23 अब निस्तारचाड़मा, पर्वको दिनमा जब उहाँ यरूशलेममा हुनुहुन्थ्यो, उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाममाथि विश्‍वास गरे। 24 तर येशूले आफैलाई तिनीहरूको भरोसामा छोड़्नुभएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्‍नुहुन्‍थ्‍यो, 25 अनि कसैले मानिसको विषयमा गवाही दिनु उहाँलाई खाँचो थिएन; किनभने मानिसभित्र के हुन्छ, सो उहाँलाई थाहा थियो।