पेन्टेकोस्टको दिनमा पवित्र आत्मा पठाइनुभयो
2
अनि पेन्टेकोस्टकोक दिन पूरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए। 2 अनि एक्कासि स्वर्गबाट प्रचण्ड आँधी चलेझैं हुरूरूरू आवाज आयो, र त्यसले तिनीहरू बसेको सारा घरलाई भरिदियो। 3 अनि आगाका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, र त्यो तिनीहरूमध्ये हरेकमाथि बस्यो। 4 अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे।5 अनि आकाशमुनिको हरेक जातिबाट आएका भक्त यहूदी मानिसहरू यरूशलेममा बसिरहेका थिए। 6 तर जब त्यो आवाज भयो, तब एउटा भीड़ भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो। 7 अनि तिनीहरू सबै छक्कै परे, र आपसमा यसो भन्दै अचम्म माने: “हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र? 8 तब कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं त? 9 पार्थी, मेदी र एलामीहरू, अनि मेसोपोटामिया, यहूदिया, कप्पाडोसिया, पोन्टस, एशिया, 10 फ्रिगिया, पाम्फिलिया, मिस्र र कुरेनीको वरिपरि भएका लिबियाका भागहरूमा बस्नेहरू, अनि रोमका परदेशीहरू, यहूदीहरू र यहूदीधर्म अपनाउनेहरू, 11 क्रेती र अरबीहरू – हामी तिनीहरूलाई हाम्रा आफ्नै भाषाहरूमा परमेश्वरका महान् कामहरूको विषयमा बोलिरहेका सुन्दछौं।” 12 अनि तिनीहरू सबै छक्कै परे, र आपसमा ‘यसको मतलब के हो?’ भन्दै अलमल्ल परे। 13 अरूले चाहिँ खिसी गर्दै भने: “यी मानिसहरू नयाँ मद्यले लट्ठ भएका छन्।”
पेन्टेकोष्टको दिनमा पत्रुसको प्रवचन
14 तर ती एघारजनासँग उभिएर पत्रुसले ठूलो सोरले तिनीहरूलाई भने: “हे यहूदी मानिसहरू र सबै यरूशलेममा बस्नेहरूहो, यो कुरा तपाईंहरूलाई थाहा होस्, र मेरा कुराहरूमा ध्यान दिनुहोस्; 15 किनकि तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्, किनकि दिन त एक पहरख मात्र चढ़ेको छ। 16 तर योचाहिँ भविष्यवक्ता योएलद्वारा भनिएको कुरा हो:
17 ‘परमेश्वर भन्नुहुन्छ: “अन्तिम दिनहरूमा यस्तो हुनेछ: म सबै प्राणीहरूमाथि मेरो आत्माबाट खन्याउनेछु; र तिमीहरूका छोराहरूल र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्, अनि तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरूले सपनाहरू देख्नेछन्। 18 अनि ती दिनहरूमा म मेरा दासहरू र मेरा दासीहरूमाथि आफ्नो आत्माबाट खन्याउनेछु, र तिनीहरूले भविष्यवाणी गर्नेछन्; 19 अनि माथि आकाशमा म अचम्मका कामहरू र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु: रगत, आगो र धूवाँको वाफ। 20 परमप्रभुको* महान् र नामी दिन आउनुभन्दा अघि घाम अँध्यारोमा र जून रगतमा परिवर्तित हुनेछन्; 21 अनि यस्तो हुनेछ: प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” ’ग
22 हे इस्राएली मानिसहरूहो, यी कुराहरू सुन्नुहोस्! नासरतका येशूचाहिँ परमेश्वरबाट सामर्थ्यका कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका निम्ति प्रमाणित गरिनुभएको मानिस हुनुहुन्छ; ती कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूकै बीचमा गर्नुभयो, जसरी तपाईंहरू आफै पनि जान्नुहुन्छ; 23 उहाँलाई नै, जो परमेश्वरको ठहराइएको योजना र पूर्वज्ञानअनुसार सुम्पिनुभएको थियो, तपाईंहरूले लानुभयो, अधर्मी हातहरूद्वारा क्रूसमा टाँग्नुभयो र मार्नुभयो; 24 उहाँलाई परमेश्वरले मृत्युका पीड़ाहरूबाट छुटाईकन बौराएर उठाउनुभयो; किनकि त्यसको पक्राउमा उहाँ रहनुचाहिँ असम्भव थियो। 25 किनकि दाऊदले उहाँको विषयमा भन्दछन्:
‘मैले प्रभुलाई सधैं मेरो सामु देखें, किनकि म नडग्मगाऊँ भनेर उहाँ मेरो दाहिने हाततर्फ रहनुहुन्छ; 26 यसकारण मेरो हृदय रमायो, र मेरो जिब्रो अति आनन्दित भयो; साथै मेरो शरीर पनि आशामा बस्नेछ; 27 किनभने तपाईंले मेरो प्राणलाई अधोलोकमा छोड़्नुहुनेछैन, न ता तपाईंले आफ्ना पवित्र जनलाई सड़्न नै दिनुहुनेछ। 28 तपाईंले मलाई जीवनका मार्गहरू जान्न दिनुभएको छ। तपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले भर्नुहुनेछ।’ग)
29 हे मानिसहरू र दाजुभाइहरूहो, कुलपति दाऊदको विषयमा म तपाईंहरूलाई स्वतन्त्रतापूर्वक भन्न सक्छु: उनी मरे, र गाड़िए पनि; अनि उनको चिहान आजको दिनसम्म पनि हाम्रो बीचमा छ। 30 यसकारण उनी भविष्यवक्ता भएका हुनाले र उनको सिंहासनमाथि बसाउनलाई शरीरअनुसार उनकै शरीरको फलबाटकोलाई अर्थात् ख्रीष्टलाई खड़ा गर्नेछु भनी परमेश्वरले उनीसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको छ भनी जानेका हुनाले, 31 अनि उनले यो कुरा पहिल्यै देखेका हुनाले ख्रीष्टको बौरिउठाइको सम्बन्धमा ‘उहाँको प्राण अधोलोकमा छोड़िएन, न ता उहाँको शरीर नै सड़्यो’ भनी भने। 32 यही येशूलाई परमेश्वरले बौराएर उठाउनुभयो, जुन कुराका साक्षी हामी सबै हौं। 33 यसकारण परमेश्वरको दाहिने हातद्वारा उच्च पारिएर र पिताबाट पवित्र आत्माको प्रतिज्ञालाई प्राप्त गरेर उहाँले त्यो खन्याउनुभयो, जुन कुरा तपाईंहरूले अहिले देख्दै र सुन्दै हुनुहुन्छ। 34 किनकि दाऊद स्वर्गहरूमा उक्लेनन्, तर उनी आफै भन्दछन्:
‘परमप्रभुले* मेरा प्रभुलाई भन्नुभयो: 35 “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।” ’घ
36 यसकारण इस्राएलको सारा घरानाले यो निश्चय गरी जानोस्, कि जुन येशूलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँलाई नै परमेश्वरले ‘प्रभु’ र ‘ख्रीष्ट’ङ तुल्याउनुभएको छ।”
37 अनि जब तिनीहरूले यो सुने, तब तिनीहरूको मुटु छेंड़ियो, र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने: “हे मानिसहरू र भाइहरूहो, हामी के गरौं?” 38 तब पत्रुसले तिनीहरूलाई भने: “पापहरूको क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस् र तपाईंहरू हरेकले येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस्; अनि तपाईंहरूले पवित्र आत्माको दान पाउनुहुनेछ। 39 किनकि प्रतिज्ञा तपाईंहरूका निम्ति र तपाईंहरूका सन्तानका निम्ति र टाढ़ामा हुनेहरूका निम्ति हो – जतिलाई परमप्रभु हाम्रा परमेश्वरले बोलाउनुहुनेछ।” 40 अनि अरू धेरै कुराहरू गरेर ‘यस टेढ़ो पुस्ताबाट आफूलाई बचाउनुहोस्’ भन्दै उनले तिनीहरूलाई गवाही दिए र सम्झाए।
शुरुका ख्रीष्ट-विश्वासीहरूको जनजीवन
41 तब जतिले उनको वचन आनन्दसित ग्रहण गरे, तिनीहरूले बप्तिस्मा लिए; अनि त्यही दिनमा प्राय: तीन हजार मानिसहरूच तिनीहरूमा थपिए। 42 अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढ़तापूर्वक लागिरहे। 43 अनि हरेक मानिसलाईच डर भयो, अनि प्रेरितहरूद्वारा अनेकौं अचम्मका काम र चिन्हहरू गरिए। 44 अनि विश्वास गर्नेहरू सबै एकैसाथ थिए, र तिनीहरूका सबै थोकहरू साझा थिए। 45 अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरूलाई बाँड़िदिन्थे। 46 अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर-घरमा रोटी भाँच्दै तिनीहरूले आनन्दसित र चोखो हृदयले आ-आफ्ना भोजन खान्थे, 47 परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे। अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो।