जन्मकै लङ्गड़ा निको पारियो
3
अनि प्रार्थनाको समयमा अर्थात्‌ तीन बजे पत्रुस र यूहन्‍ना सँगै मन्दिरभित्र गए। 2 अनि आमाकै गर्भदेखि लङ्गड़ो भएको कुनै एउटा मानिस बोकेर ल्याइन्थ्यो, जसलाई तिनीहरूले दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा, त्यसले मन्दिरभित्र पस्‍नेहरूसँग भीख मागोस् भनेर राख्‍ने गर्थे, 3 जसले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेका देखेर भीख माग्यो। 4 अनि पत्रुसले यूहन्‍नासित त्यसमाथि डिठ लगाएर हेर्दै भने: “हामीतिर हेर!” 5 अनि उनीहरूबाट केही कुरा पाउने आशा राख्दै त्यसले उनीहरूप्रति ध्यान दियो। 6 तब पत्रुसले भने: “चाँदी र सुन त मसँग छैन, तर मसँग जे छ, त्यो म तिमीलाई दिन्छु - नासरतका येशू ख्रीष्‍टको नाममा उठ र हिँड़!” 7 अनि त्यसलाई दाहिने हातमा समातेर तिनले त्यसलाई जुरुक्‍क उठाए; अनि तुरुन्तै त्यसका पाउहरू र गोलीगाँठाका हड्डीहरूमा बल पस्यो। 8 अनि त्यो बुरुक्‍क उफ्रेर उभियो, र हिँड़्यो, अनि हिँड़्‍दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै उनीहरूसितै मन्दिरभित्र पस्यो। 9 अनि सबै मानिसहरूले त्यसलाई हिँड़्‍दै र परमेश्‍वरको प्रशंसा गर्दै गरेको देखे। 10 अनि मन्दिरको सुन्दर ढोकामा भीखका निम्ति बस्‍नेचाहिँ त्यही रहेछ भनी तिनीहरूले चिने; अनि त्यसका निम्ति जे भएको थियो, यसले गर्दा तिनीहरूले अचम्म र ताजुप माने। 11 अनि त्यस निको पारिएको लङ्गड़े मानिसले पत्रुस र यूहन्‍नालाई समात्दाखेरि सबै मानिसहरू एकदमै अचम्म मान्दै एकसाथ उनीहरूकहाँ ‘सुलेमानको’ भनिने दलानमा दगुरे।
मन्दिरमा पत्रुसको प्रवचन
12 अनि यो देखेर पत्रुसले मानिसहरूलाई जवाफ दिए: “हे इस्राएली मानिसहरूहो, तपाईंहरू यस कुरामा किन अचम्म मान्‍नुहुन्छ? अथवा मानो आफ्नै शक्ति वा भक्तिले हामीले यस मानिसलाई हिँड़्‍ने बनाएका थियौं कि झैं गरी डिठ लाएर तपाईंहरू किन हामीतिर हेर्नुहुन्छ? 13 अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले, हाम्रा पितापुर्खाहरूका परमेश्‍वरले आफ्नो पुत्र येशूको महिमा गर्नुभएको छ, जसलाई तपाईंहरूले सुम्पिदिनुभयो, र पिलातसले छोड़िदिने निश्‍चय गरेको बेलामा तपाईंहरूले उनकै सामु उहाँलाई इन्कार गर्नुभयो। 14 तर तपाईंहरूले चाहिँ पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र दिइयोस् भनी आफ्ना निम्ति एउटा ज्यानमारा माग्‍नुभयो; 15 तर जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्‍वरले मरेकाहरूबाट बौराएर उठाउनुभयो, जुन कुराका साक्षीहरू हामी हौं। 16 अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्‍वासद्वारा तपाईंहरूले देख्‍नुभएको र चिन्‍नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्‍वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ। 17 अनि अब दाजुभाइहरूहो, म जान्दछु, अनजान भएकै कारणले तपाईंहरूले त्यस्तो गर्नुभयो, र तपाईंहरूका शासकहरूले पनि त्यसै गरे। 18 तर ‘ख्रीष्‍टले दुःख भोग्‍नैपर्छ’ भनी आफ्ना सबै भविष्यवक्ताहरूको मुखद्वारा परमेश्‍वरले पहिल्यै भनिसक्नुभएका कुराहरू नै उहाँले यसरी पूरा गर्नुभएको छ। 19 यसकारण तपाईंहरूका पापहरू मेटिनका लागि पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस्; तब प्रभुको* उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्; 20 अनि उहाँले येशू ख्रीष्‍टलाई पठाउनुहुनेछ, जो पहिल्यै तपाईंहरूकहाँ प्रचारिनुभएको छ; 21 जसलाई स्वर्गले सबै कुराहरूको पुन:स्थापनाका समयहरू नआउन्जेल ग्रहण गर्नुपर्दछ; जुन कुराहरूको चर्चा परमेश्‍वरले संसारको शुरुदेखि नै आफ्ना सबै पवित्र भविष्यवक्ताहरूको मुखद्वारा गर्नुभएको छ। 22 किनभने मोशाले साँच्‍चै पितापुर्खाहरूलाई भने,
‘परमप्रभु* तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूका दाजुभाइहरूबाट मजस्तै एउटा भविष्यवक्ता खड़ा गर्नुहुनेछ; उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ, तिमीहरूले सबै कुराहरूको विषयमा उहाँकै सुन्‍नू! 23 अनि यस्तो हुनेछ: त्यस भविष्यवक्ताको वचन नसुन्‍ने हरेक जन मानिसहरूको बीचबाट नष्‍ट पारिनेछ।’
24 अनि शमूएलदेखि लिएर पछिबाट आउने भविष्यवक्ताहरूमा जति बोलेका छन्, तिनीहरू सबैले पहिले नै यी दिनहरूको विषयमा बताएका छन्। 25 तपाईंहरूचाहिँ भविष्यवक्ताहरूका र त्यस वाचाका सन्तानहरू हुनुहुन्छ, जुन वाचाचाहिँ परमेश्‍वरले अब्राहामलाई यसो भन्दै हाम्रा पितापुर्खाहरूसँग बाँध्‍नुभयो,
‘अनि तिम्रै वंशमा पृथ्वीका सबै घरानाहरूले आशिष्‌ पाउनेछन्।’
26 परमेश्‍वरले आफ्ना पुत्र येशूलाई बौराएर उठाउनुभएपछि तपाईंहरू हरेकलाई आफ्ना अधर्महरूबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिनका निम्ति पहिले उहाँलाई तपाईंहरूकहाँ पठाउनुभयो।”