पत्रुस र यूहन्‍ना महासभाको सामु
4
अनि उनीहरूले मानिसहरूसित बोल्दै गर्दा पूजाहारीहरू, मन्दिरका कप्‍तान र सदुकीहरू साह्रै विचलित भएर उनीहरूमाथि आइलागे, 2 किनभने उनीहरूले मानिसहरूलाई शिक्षा दिए र येशूमा मरेकाहरूबाटको बौरिउठाइ प्रचार गरे। 3 अनि तिनीहरूले उनीहरूमाथि हात हाले र भोलिपल्टसम्म थुनामा राखे; किनभने साँझ परिसकेको थियो। 4 तापनि वचन सुन्‍नेहरूमध्ये धेरैले विश्‍वास गरे; अनि पुरुषहरूको संख्या पाँच हजारजति भयो।
5 अनि भोलिपल्ट यस्तो भयो: तिनीहरूका शासकहरू, बूढ़ा प्रधानहरू, शास्त्रीहरू, 6 महापूजाहारी हन्‍नास, कायफा, यूहन्‍ना, अलेक्जान्डर र महापूजाहारीका आफन्तहरू जति थिए, जम्मै यरूशलेममा भेला भए। 7 अनि उनीहरूलाई बीचमा उभ्याएर तिनीहरूले सोधे: “तिमीहरूले कुनचाहिँ सामर्थ्यमा अथवा कुनचाहिँ नाममा यो गरेका हौ?” 8 तब पत्रुसले पवित्र आत्माले भरिएर तिनीहरूलाई भने: “हे जनताका शासकहरू र इस्राएलका बूढ़ा प्रधानहरूहो, 9 यस दुर्बल मानिसका निम्ति जुन भलाइको काम गरियो, त्यस सम्बन्धमा, यो कसद्वारा निको पारियो भनी आज हामी जाँचिएका हौं भने, 10 यो कुरा तपाईंहरू सबैलाई र इस्राएलको सारा जातिलाई थाहा होस्! नासरतका येशू ख्रीष्‍टको नामद्वारा, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, जसलाई परमेश्‍वरले मरेकाहरूबाट बौराएर उठाउनुभयो, उहाँद्वारा नै यो मानिस यहाँ तपाईंहरूको सामु निको भएर उभिन्छ। 11 यहाँचाहिँ त्यही ढुङ्गा हुनुहुन्छ, जो तपाईं डकर्मीहरूद्वारा रद्द गरिनुभएको थियो, जो कुनाको शिर हुनुभएको छ। 12 न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमुनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ।” 13 तर जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र उनीहरूचाहिँ अनपढ़ र अशिक्षित मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्‍कै परे; अनि उनीहरूचाहिँ येशूको साथमा रहेका रहेछन् भनी तिनीहरूले उनीहरूलाई चिने। 14 अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्‍न सकेनन्। 15 तर उनीहरूलाई महासभादेखि बाहिर जाने आज्ञा दिएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गरे: 16 “यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्‍ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सबै बासिन्दाहरूकहाँ प्रकट भएको छ, र यो हामी इन्कार गर्न सक्दैनौं। 17 तर यो कुरा मानिसहरूको बीचमा अरू बढ़्‍ता नफैलिओस् भनेर हामी तिनीहरूलाई कड़ासँग धम्काऔं, र अब उसो तिनीहरूले यस नाममा कुनै मानिससँग कुरा नगरून्।” 18 अनि तिनीहरूले उनीहरूलाई बोलाए, र ‘येशूको नाममा पटक्‍कै कुरा नगर्नू, न ता शिक्षा नै दिनू’ भनी उनीहरूलाई हुकुम दिए। 19 तर पत्रुस र यूहन्‍नाले जवाफ दिँदै तिनीहरूलाई भने: “परमेश्‍वरको भन्दा तपाईंहरूको कुरा बढ़्‍ता गरी सुन्‍नुचाहिँ के परमेश्‍वरको दृष्‍टिमा उचित छ र? तपाईंहरू नै न्याय गर्नुहोस्! 20 किनभने जुन कुराहरू हामीले देखेका र सुनेका छौं, तिनको विषयमा हामी नबोली सक्दै सक्दैनौं।” 21 यसकारण उनीहरूलाई झन् बेसी धम्काएर तिनीहरूले उनीहरूलाई छोड़िदिए; किनभने मानिसहरूले गर्दा तिनीहरूले उनीहरूलाई कसरी दण्ड दिने केही उपाय पाएनन्; किनकि जे भएको थियो, त्यसका लागि सबैले परमेश्‍वरको महिमा गरिरहेका थिए। 22 किनभने जसमाथि त्यो निको पार्ने चिन्ह देखाइएको थियो, त्यस मानिसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो।
23 अनि छोड़िएपछि उनीहरू आफ्नै साथीहरूकहाँ गए, अनि मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूले उनीहरूलाई जे-जे भनेका थिए, ती सबै कुराहरू सुनाइदिए। 24 अनि यो सुनेर तिनीहरूले एकै मनको भएर परमेश्‍वरतर्फ आफ्नो सोर उचाले, र भने: “हे प्रभु, तपाईं परमेश्‍वर हुनुहुन्छ; तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै थोकहरू बनाउनुभयो; 25 तपाईंले आफ्ना सेवक दाऊदको मुखद्वारा भन्‍नुभएको छ:
‘किन अन्यजातिहरू झोंकले रन्किन्छन्, र मानिसहरू व्यर्थका कुराहरूको कल्पना गर्छन्? 26 परमप्रभुको* विरोधमा, र उहाँका ख्रीष्‍टको विरोधमा पृथ्वीका राजाहरू खड़ा हुन्छन् र शासकहरू एकसाथ भेला हुन्छन्।’
27 किनकि साँच्‍ची नै तपाईंकै पवित्र पुत्र येशूको विरोधमा, जसलाई तपाईंले अभिषेक गर्नुभएको छ, दुवै हेरोद र पोन्तियस पिलातस, अन्यजातिहरू र इस्राएलका मानिसहरूसँग भेला भए, 28 ती सबै कुराहरू गर्नलाई, जुन कुराहरूचाहिँ हुनुपर्छ भनी तपाईंको हात र तपाईंको इच्छाले पहिलेबाट ठहराएका थिए। 29 अनि अब प्रभु*, तिनीहरूका धम्कीहरू हेर्नुहोस्; अनि आफ्ना दासहरूलाई यस्तो वरदान दिनुहोस्, कि तिनीहरूले तपाईंको वचन पूरा साहससित बोलून्, 30 निको पार्नलाई तपाईं आफ्नो हात बढ़ाउनुहोस्, र तपाईंका पवित्र पुत्र येशूको नामद्वारा चिन्हहरू र अचम्मका कामहरू गरिऊन्।”
31 अनि जब तिनीहरूले प्रार्थना गरिसके, तब तिनीहरू भेला भएको ठाउँ हल्‍लियो; अनि तिनीहरू सबै पवित्र आत्माले भरिए, र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले।
ख्रीष्‍ट-विश्‍वासीहरूको जनजीवन
32 अब विश्‍वास गर्नेहरूको त्यो जमात एउटै मन र एउटै प्राणको थियो; कसैले पनि आफूसँग भएको कुनै पनि सम्पत्ति ‘यो मेरो हो’ भन्दैनथियो, तर तिनीहरूका सबै थोकहरू साझा थिए। 33 अनि प्रेरितहरूले बड़ो सामर्थ्यसित प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे; अनि तिनीहरू सबैमाथि ठूलो अनुग्रह भएको थियो। 34 तिनीहरूको बीचमा खाँचोमा पर्ने कोही थिएन; किनभने जमिनहरू वा घरहरूका मालिकहरू सबैले ती बेच्थे र ती बेचिएका कुराहरूका दाम ल्याउँथे, 35 र तिनलाई प्रेरितहरूका पाउमा राखिदिन्थे; अनि हरेकलाई उसको खाँचोअनुसार बाँड़िन्थ्यो। 36 अनि योसेस साइप्रस देशका एकजना लेवी थिए, जसलाई प्रेरितहरूले बर्नबास भन्‍ने उपनाम दिए, जसको अर्थ ‘सान्‍त्‍वनाको पुत्र’ हो; 37 तिनले आफूसित भएको जमिन बेचेर पैसा ल्याए र प्रेरितहरूका पाउमा राखिदिए।