हनानिया र सफीरा
5
तर हनानिया नाम भएको कुनै मानिसले आफ्नी पत्‍नी सफीरासित मिली एउटा सम्पत्ति बिक्री गर्‍यो, 2 र त्यस दामबाट उसले केही हिस्‍सा आफ्ना लागि निकाल्यो, उसकी पत्‍नीलाई पनि त्यो थाहा थियो, र केही हिस्‍साचाहिँ ल्याएर उसले प्रेरितहरूका पाउमा राखिदियो। 3 तर पत्रुसले भने: “हे हनानिया, पवित्र आत्मासँग झूट बोल्न र जमिनको दामबाट केही हिस्‍सा आफ्ना लागि निकाल्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो? 4 त्यो रहुन्‍जेल के त्यो तिम्रो आफ्नै थिएन र? अनि बिकेपछि पनि के त्यो तिम्रो आफ्नै अधिकारमा थिएन र? तिमीले आफ्नो हृदयमा किन यस्तो कुरा राख्यौ? तिमीले मानिससित होइन, तर परमेश्‍वरसित नै झूट बोलेका छौ।” 5 अनि यी कुराहरू सुनेर हनानिया पछारियो र मर्‍यो; अनि यी कुरा सुन्‍नेहरू सबैलाई ठूलो डर भयो। 6 अनि जवान मानिसहरूले उठेर उसलाई लपेटलापट पारे र बाहिर लगेर उसलाई गाड़िदिए। 7 अनि प्राय: तीन घण्टापछि यस्तो भयो: उसकी पत्‍नी, के भएको थियो, सो थाहै नपाईकन भित्र आई। 8 अनि पत्रुसले उसलाई जवाफ दिए: “के तिमीहरूले त्यो जमिन त्यत्तिमै बेचेका हौ? मलाई भन!” अनि उसले भनी: “हजुर, त्यत्तिमै।” 9 तब पत्रुसले उसलाई भने: “प्रभुको आत्मालाई परीक्षा गर्नका निम्ति तिमीहरू कसरी मिलेर एकै मतका भयौ? हेर, तिम्रा पतिलाई गाड़्‍नेहरूका पाउ ढोकामै छन्, र तिनीहरूले तिमीलाई बोकी बाहिर लैजानेछन्।” 10 तब तुरुन्तै ऊ उनका पाउनिर पछारिई र मरी; अनि ती जवान मानिसहरू भित्र आए, र उसलाई मरिसकेकी भेट्टाए, अनि उसलाई बोकेर बाहिर लगी उसलाई आफ्नै पतिको छेउमा गाड़िदिए। 11 अनि सारा मण्डली र यी कुरा सुन्‍नेहरू सबैलाई ठूलो डर भयो।
12 अनि मानिसहरूको बीचमा प्रेरितहरूका हातहरूद्वारा अनेकौं चिन्हहरू र अचम्मका कामहरू गरिए; (अनि तिनीहरू सबै एकै मनका भई सुलेमानको दलानमा रहन्थे। 13 अनि बाँकी रहेका मानिसहरूमध्ये अरू कसैले पनि तिनीहरूसँग मिल्ने साहस गरेन; तर मानिसहरूले तिनीहरूको प्रशंसा गर्थे। 14 अनि झन् बेसी संख्यामा विश्‍वास गर्नेहरू प्रभुमा थपिए – पुरुष र स्त्रीहरूको भीड़), 15 यहाँसम्म कि तिनीहरूले बिरामीहरूलाई सड़कहरूमा ल्याउँथे, र पत्रुस त्यहाँबाट भएर जाँदा उनको छाया मात्र भए पनि यिनीहरूमध्ये कसै-कसैमाथि परोस् भनेर यिनीहरूलाई खाट र ओछ्यानहरूमा राख्थे। 16 अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड़ पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू सबै निको पारिए।
दोस्रो पटक प्रेरितहरू महासभाको सामु
17 तब महापूजाहारी र तिनको साथमा भएका सबैजना उठे, (यो सदुकीहरूको पन्थ थियो); अनि तिनीहरू रिसले भरिएका थिए, 18 अनि तिनीहरूले प्रेरितहरूमाथि आफ्ना हात लगाए र उनीहरूलाई झ्यालखानामा हाले। 19 तर राती प्रभुका* एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र उनीहरूलाई बाहिर ल्याएर भने: 20 “जाओ, मन्दिरमा उभिएर यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताइदेओ!” 21 अनि यो सुनेर उनीहरू एकाबिहानै मन्दिरभित्र पसे, र शिक्षा दिए। तर महापूजाहारी र तिनको साथमा भएकाहरू आए, र तिनीहरूले महासभा र इस्राएलीहरूका बूढ़ा प्रधानहरूलाई भेला गरे, र उनीहरू ल्याइऊन् भनी झ्यालखानामा पठाए। 22 तर जब अफिसरहरू आए, र उनीहरूलाई झ्यालखानामा भेटेनन्, तब तिनीहरूले फर्केर यसो भन्दै खबर दिए: 23 “हामीले साँच्‍चै झ्यालखाना सम्पूर्ण सुरक्षासाथ बन्द गरिराखेको र पहरेदारहरूलाई बाहिरपट्टि ढोकाहरूको अघिल्तिर उभिरहेका भेट्टायौं, तर जब हामीले खोल्यौं, तब हामीले भित्र कुनै मानिसलाई भेट्टाएनौं।” 24 अनि जब महापूजाहारी, मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, तब तिनीहरू ‘यसको नतिजा के होला’ भनी उनीहरूको विषयमा अन्योलमा परे। 25 तब एकजना आएर तिनीहरूलाई यसो भन्दै खबर दियो: “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानामा हाल्नुभएको थियो, तिनीहरू त मन्दिरमा उभिरहेका छन्, र मानिसहरूलाई शिक्षा दिइरहेका छन्!” 26 तब अफिसरहरूको साथमा गएर ती कप्‍तानले उनीहरूलाई बलमिचाइ नगरीकन ल्याए, किनकि कहीं ढुङ्गाले हानिन्छौं कि भनी तिनीहरू मानिसहरूसँग डराए। 27 अनि उनीहरूलाई ल्याएर तिनीहरूले उनीहरूलाई महासभाको सामु खड़ा गरे; अनि महापूजाहारीले उनीहरूलाई यसो भन्दै सोधे: 28 “तिमीहरूले यस नाममा शिक्षा नदिनू भनी के हामीले तिमीहरूलाई कड़ासँग हुकुम दिएनौं र? अनि हेर, तिमीहरूले यरूशलेम आफ्नो शिक्षाले भरिदिएका छौ, र यस मानिसको रगत हामीमाथि ल्याउन चाहन्छौ।” 29 तब पत्रुस र अरू प्रेरितहरूले जवाफ दिँदै भने: “मानिसहरूको भन्दा हामीले परमेश्‍वरकै आज्ञापालन गर्नुपर्छ। 30 हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वरले येशूलाई बौराएर उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुन्ड्याई मार्नुभयो। 31 उहाँलाई नै परमेश्‍वरले आफ्नो दाहिने हातले कर्ता र मुक्तिदाताको रूपमा उच्‍च पार्नुभयो, इस्राएललाई पश्‍चात्ताप र पापहरूको क्षमा दिनलाई। 32 अनि यी कुराहरूको विषयमा हामी उहाँका साक्षी हौं, र यही प्रकारले पवित्र आत्मा पनि हुनुहुन्छ, जसलाई परमेश्‍वरले आफ्नो आज्ञापालन गर्नेहरूलाई दिनुभएको छ।”
गमलिएलको सल्‍लाह
33 अनि यो सुनेर तिनीहरूको मुटु छेंड़ियो, र तिनीहरूले उनीहरूलाई मार्ने मतो गरे। 34 तब सबै मानिसहरूद्वारा आदर गरिएका गमलिएल नाम भएका एकजना फरिसी, जो व्यवस्थाका गुरु थिए, महासभामा उठे, र उनले ती प्रेरितहरूलाई केही समयका निम्ति बाहिर लैजाओ भनी आज्ञा दिए; 35 अनि उनले तिनीहरूलाई भने: “हे इस्राएली मानिसहरूहो, यी मानिसहरूको सम्बन्धमा तपाईंहरूले जे गर्न लाग्‍नुभएको छ, त्यसका निम्ति आफ्नो विषयमा होशियार हुनुहोस्! 36 किनभने यी दिनहरूभन्दा पहिले पनि ‘म पनि कोही हुँ’ भन्‍ने दाबी गर्दै थोइदास उठेको थियो; त्योसँग चार सय जति मानिसहरू मिलेका थिए। त्यो मारियो, र त्यसका आज्ञा मान्‍नेहरू सबै तितरबितर भए, र बिलाएर गए। 37 त्यस मान्छेपछि नाम लेखाइका दिनहरूमा गालीलको यहूदा उठ्यो, र त्यसले धेरै मानिसहरूलाई आफ्नो पछि खिँच्यो। त्यो पनि नष्‍ट भयो; अनि त्यसका आज्ञा मान्‍नेहरू सबै छरपुस्टै भए। 38 अनि अब म तपाईंहरूलाई भन्दछु, यी मानिसहरूबाट अलग रहनुहोस्, र यिनीहरूलाई छोड़िदिनुहोस्; किनकि यो योजना वा यो काम मानिसहरूबाटको हो भने यो मेटिएर जानेछ। 39 तर यदि यो परमेश्‍वरबाटको हो भने तपाईंहरूले यो मेटाउन सक्नुहुन्‍न; नत्र तपाईंहरू परमेश्‍वरसँग लड़ाइँ गर्ने पो ठहरिनुहुनेछ।” 40 अनि तिनीहरूले उनको कुरा माने; अनि तिनीहरूले प्रेरितहरूलाई बोलाए, र पिटेपछि उनीहरूलाई ‘येशूको नाममा नबोल्नू’ भन्‍ने आज्ञा दिए र उनीहरूलाई छोड़िदिए। 41 अनि उहाँको नामको खातिर अपमानित हुने योग्यका ठहरियौं भनेर रमाउँदै-रमाउँदै उनीहरू महासभाको सामुबाट निस्केर गए। 42 अनि उनीहरूले दिनहुँ मन्दिरमा र घर-घरमा शिक्षा दिन र ‘येशू नै ख्रीष्‍ट हुनुहुन्छ’ भन्‍ने सुसमाचार प्रचार गर्न छोड़ेनन्।