प्रभु येशूको बौरिउठाइ र त्यस दिनका केही घटनाहरू
मत्ती २८:१-१५; मर्कूस १६:१-११; यूहन्ना २०:१-१८
24
अब हप्ताको पहिलो दिनमा, एकाबिहानै आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर तिनीहरूक त्यस चिहानमा आए, र तिनीहरूको साथमा अरू स्त्रीहरू पनि। 2 अनि तिनीहरूले ढुङ्गा त्यस चिहानबाट गुड़ाएर हटाइएको भेट्टाए। 3 अनि तिनीहरू भित्र पसे, र प्रभु येशूको शरीर भेट्टाएनन्। 4 अनि यस्तो भयो: तिनीहरू यसको विषयमा एकदम अलमल्ल परिरहेको बेलामा हेर, चम्किला वस्त्र पहिरेका दुईजना मानिसहरू तिनीहरूको छेवैमा उभिए। 5 अनि तिनीहरू डराए र आफ्नो चेहरा भुइँतिर झुकाउँदा उनीहरूले तिनीहरूलाई भने: “तिमीहरू किन जिउँदालाई मरेकाहरूको बीचमा खोज्दछौ? 6 उहाँ यहाँ हुनुहुन्न, तर बौरेर उठ्नुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूसँग यसो भन्दै कसरी कुरा गर्नुभएको थियो, सम्झ! 7 ‘मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा बौरेर उठ्नुपर्दछ।’ ” 8 तब तिनीहरूले उहाँका वचनहरू सम्झे। 9 अनि त्यस चिहानबाट फर्केर तिनीहरूले यी सबै कुराहरू ती एघारजनालाई र अरू बाँकी सबैजनालाई सुनाइदिए। 10 प्रेरितहरूलाई यी कुराहरू सुनाउनेहरूचाहिँ मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र तिनीहरूको साथमा हुने अरू स्त्रीहरू थिए। 11 तर तिनीहरूका कुराहरू उनीहरूका निम्ति फोस्रा कहानीहरूजस्तै देखा परे, र उनीहरूले तिनीहरूलाई विश्वास गरेनन्। 12 तब पत्रुस उठे र त्यस चिहानतिर दगुरे; अनि निहुरेर हेर्दा तिनले सुती कपड़ाहरू मात्र पड़िरहेका देखे; अनि त्यहाँ घटेको घटनाको कारण तिनी अचम्म मान्दै घरतिर हिँड़े।इम्माउस जाने दुईजना चेलाहरूसँग प्रभु येशूको भेट
मर्कूस १६:१२-१३
13 अनि हेर, तिनीहरूमध्ये दुईजना त्यही दिन इम्माउस नाम भएको गाउँतिर गइरहेका थिए, जुन गाऊँ यरूशलेमदेखि प्राय: सात माइल टाढ़ामा थियो। 14 अनि ती सबै घटेका घटनाहरूकै विषयमा तिनीहरू आपसमा बातचित गरिरहेका थिए। 15 अनि यस्तो भयो: जब तिनीहरूले आपसमा बातचित र विचार-विमर्श गरिरहेका थिए, तब येशू आफै तिनीहरूको नजिक गएर तिनीहरूसँग-सँगै हिँड़्नुभयो। 16 तर तिनीहरूले उहाँलाई नचिनून् भनेर तिनीहरूका आँखाहरू बन्द गरिएका थिए। 17 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “यी कस्ता कुराहरू हुन्, जुन कुराहरू तिमीहरूले हिँड़्दा-हिँड़्दै एक-अर्कासँग गरिरहेका छौ, र तिमीहरू उदास पनि छौ?” 18 तीमध्ये एकजनाले, जसको नाम क्लेओपा थियो, जवाफ दिँदै उहाँलाई भने: “के तपाईं मात्र यरूशलेममा परदेशी हुनुहुन्छ, र यी दिनहरूमा त्यहाँ जुन कुराहरू घटेका छन्, ती कुराहरू तपाईंले थाहा पाउनुभएको छैन?” 19 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “कुन कुराहरू?” अनि तिनीहरूले उहाँलाई भने: “नासरतका येशूको विषयमा, जो परमेश्वर र सबै मानिसहरूको सामु काम र वचनमा सामर्थी भविष्यवक्ता हुनुहुन्थ्यो; 20 अनि मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डका निम्ति सुम्पिदिए र उहाँलाई क्रूसमा टाँगे। 21 तर इस्राएललाई छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भनी हामीले आशा गरेका थियौं; तर यी सबै कुराहरू छोड़ेर यी घटनाहरू घटेका दिनदेखि आज तेस्रो दिन हो। 22 ज्यू, हामीमध्येका कति स्त्रीहरूले पनि जो एकाबिहानै चिहानमा पुगेका थिए, हामीलाई छक्कै पारे; 23 अनि जब तिनीहरूले उहाँको शरीर पाएनन्, तब तिनीहरू यसो भन्दै आए: ‘हामीले स्वर्गदूतहरूको दर्शन पनि देख्यौं, जसले “उहाँ जीवित हुनुहुन्छ” भनी भने।’ 24 अनि हामीसँग हुनेहरूमध्ये कोही-कोही चिहानमा गए, र स्त्रीहरूले जस्तो भनेका थिए, त्यस्तै भेट्टाएछन्, तर उहाँलाई चाहिँ तिनीहरूले देखेनछन्।”
25 तब उहाँले तिनीहरूलाई भन्नुभयो: “हे अबुझ हुनेहरू र भविष्यवक्ताहरूले भनेका सबै कुराहरू विश्वास गर्नमा सुस्त हृदय भएकाहरूहो, 26 के ख्रीष्टले यी कुराहरूको दुःख भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नुपर्नेथिएन र?” 27 अनि उहाँले मोशा र सबै भविष्यवक्ताहरूबाट शुरु गरेर सबै पवित्र शास्त्रहरूमा आफ्नो विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। 28 अनि तिनीहरू जुन गाउँमा जाँदैथिए, त्यस गाऊँको नजिकै आइपुगे; अनि उहाँचाहिँ अझै अघि जानुहुने रहेछ भन्ने कुरा उहाँले प्रकट गर्नुभयो। 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर लाए: “हामीसँग रहनुहोस्; किनकि साँझ पर्दैछ, र दिन धेरै बितिसक्यो।” अनि तिनीहरूसँग रहनलाई उहाँ भित्र पस्नुभयो। 30 अनि यस्तो भयो: जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिएर आशिष् दिनुभयो, र भाँचेर तिनीहरूलाई दिनुभयो। 31 तब तिनीहरूका आँखाहरू खोलिए, र तिनीहरूले उहाँलाई चिने; अनि उहाँ तिनीहरूको दृष्टिबाट अल्पिनुभयो। 32 अनि तिनीहरूले एक-अर्कालाई भने: “उहाँले बाटोमा हामीसित कुरा गर्नुहुँदा र हामीलाई पवित्रशास्त्रहरूको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय हामीभित्र-भित्रै जलेन र?” 33 अनि तिनीहरू त्यही घड़ी उठे, र यरूशलेम फर्के, र ती एघारजनालाई र उनीहरूसँग रहनेहरूलाई भेला भएका भेट्टाए। 34 उनीहरूले भने: “प्रभु साँच्चै बौरेर उठ्नुभएछ, र शिमोनकहाँ देखा पर्नुभएको रहेछ!” 35 अनि तिनीहरूले पनि, बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी उहाँ तिनीहरूद्वारा चिनिनुभयो, सो कुरा बताइदिए।
बौरी उठ्नुभएको प्रभु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ
यूहन्ना २०:१९-२५
36 अनि तिनीहरूले यसरी कुरा गर्दै-गर्दा येशू आफै तिनीहरूको बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्!” 37 तर तिनीहरू आतङ्कित भए र डराए, अनि हामीले भूत देखेका हौं भनी सम्झे। 38 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन आत्तिन्छौ? र तिमीहरूका हृदयहरूमा किन विचारहरू उठ्दछन्? 39 मेरा हातहरू र मेरा पाउहरू हेर! म नै हुँ; मलाई समाओ, र हेर; किनकि भूतका मासु र हड्डीहरू हुँदैनन्, जस्तो मसँग भएको तिमीहरू देख्दछौ।” 40 अनि यसरी भनिसक्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउहरू देखाउनुभयो। 41 अनि जब आनन्दको कारणले तिनीहरूले अझै विश्वास गरेनन्, र छक्क परिरहे, तब उहाँले तिनीहरूलाई भन्नुभयो: “के यहाँ तिमीहरूसँग केही खानेकुरा छ?” 42 अनि तिनीहरूले उहाँलाई सेकाइएको माछाको एक टुक्रा र मौरीको चाकाबाट केही दिए। 43 अनि उहाँले लिनुभयो र तिनीहरूकै सामु खानुभयो। 44 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मोशाको व्यवस्था, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए, ती सबै कुराहरू पूरा हुनुपर्दछ भनी तिमीहरूसँग हुँदा मैले भनेका वचनहरू यिनै हुन्।” 45 अनि तिनीहरूले पवित्रशास्त्रहरू बुझ्न सकून् भनी उहाँले तिनीहरूको समझ खोलिदिनुभयो, 46 र तिनीहरूलाई भन्नुभयो: “यसरी लेखिएको छ, अनि यसरी नै ख्रीष्टले दुःख भोग्नुपर्छ र तेस्रो दिनमा मरेकाहरूबाट बौरेर उठ्नुपर्छ; 47 अनि यरूशलेमदेखि शुरु गरेर सबै जातिहरूको बीचमा उनैको नाममा पश्चात्ताप र पापहरूको क्षमाको प्रचार गरिनुपर्छ। 48 अनि यी कुराहरूका साक्षी तिमीहरू हौ। 49 अनि हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु; तर माथिबाटको सामर्थ्य नपाउन्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो!” 50 अनि उहाँले तिनीहरूलाई बाहिर बेथानीसम्म लैजानुभयो; र आफ्ना हातहरू उठाएर उहाँले तिनीहरूलाई आशिष् दिनुभयो। 51 अनि यस्तो भयो: उहाँले तिनीहरूलाई आशिष् दिँदै गर्नुहुँदा उहाँ तिनीहरूबाट अलग पारिनुभयो र स्वर्गमा उठाइनुभयो। 52 अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बड़ो आनन्दको साथ यरूशलेममा फर्के; 53 अनि परमेश्वरलाई प्रशंसा गर्दै र धन्यवाद चढ़ाउँदै तिनीहरू लगातार मन्दिरमा रहे। आमेन!