प्रभु येशूको बौरिउठाइ र त्यस दिनका केही घटनाहरू
मत्ती २८:१-१५; लूका २४:१-४९
16
अनि विश्रामदिन बितेपछि मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले आफू आएर उहाँलाई घसिदिने हेतुले सुगन्धित मसलाहरू किने। 2 अनि हप्ताको पहिलो दिनमा, एकाबिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा आए। 3 अनि तिनीहरूले आपसमा कुरा गरे: “हाम्रा निम्ति कसले चिहानको ढोकाबाट ढुङ्गा हटाइदेला?” 4 अनि मास्तिर हेर्दा तिनीहरूले त्यो ढुङ्गा गुड़ाएर हटाइएको देखे; किनकि त्यो त ज्यादै ठूलो थियो। 5 अनि चिहानभित्र पस्दै गर्दा तिनीहरूले लामो सेतो वस्त्र पहिरेका एकजना युवकलाई दाहिनेपट्टि बसिरहेका देखे; र तिनीहरूले साह्रै उदेक माने। 6 अनि उनले तिनीहरूलाई भने: “उदेक नमान; तिमीहरू क्रूसमा टाँगिनुभएको नासरतका येशूलाई खोज्दैछौ; उहाँ बौरेर उठ्नुभयो; उहाँ यहाँ हुनुहुन्न; त्यो ठाउँ हेर, जहाँ तिनीहरूले उहाँलाई राखेका थिए। 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ: उहाँचाहिँ तिमीहरूभन्दा पहिले गालील जानुहुन्छ; तिमीहरूले उहाँलाई त्यहीं, उहाँले तिमीहरूलाई भन्नुभएअनुसार देख्नेछौ।” 8 अनि तिनीहरू छिटो-छिटो निस्केर चिहानबाट भागे; किनकि तिनीहरू लुगलुग कामिरहेका र आश्चर्य मानिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।9 अब हप्ताको पहिलो दिनमा, एकाबिहानै बौरेर उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सातवटा दुष्ट आत्माहरू निकाल्नुभएको थियो। 10 अनि तिनले गएर तिनीहरूलाई, जो उहाँको साथमा रहने गर्थे, तिनीहरू शोकमा डुबेर रोइरहेका बेलामा, त्यो कुरा बताइदिए। 11 अनि उहाँ जीवित हुनुहुन्छ, र तिनीकहाँ देखा पर्नुभयो भन्ने कुरा सुनेर तिनीहरूले विश्वास गरेनन्। 12 त्यसपछि उहाँ तिनीहरूमध्ये दुईजनाकहाँ, जो हिँड़्दै गाउँतिर गइरहेका थिए, अर्कै रूपमा देखा पर्नुभयो। 13 र गएर उनीहरूले अरू बाँकीलाई सुनाए; तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्। 14 त्यसपछि उहाँ ती एघारैजनाकहाँ, तिनीहरू खानका निम्ति बसेका बेलामा देखा पर्नुभयो, र तिनीहरूको अविश्वास र हृदयको कठोरतालाई हकार्नुभयो; किनकि तिनीहरूले उनीहरूलाई विश्वास गरेनन्, जसले उहाँ बौरेर उठ्नुभएपछि उहाँलाई देखेका थिए।
प्रभु येशूको महान् आज्ञा
मत्ती २८:१६-२०; लूका २४:४६-४८
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “सारा संसारमा जाओ, र हरेक प्राणीलाईक सुसमाचार प्रचार गर! 16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ। 17 अनि विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले दुष्ट आत्माहरू निकाल्नेछन्; तिनीहरू नयाँ-नयाँ भाषा बोल्नेछन्; 18 तिनीहरूले साँप उठाउनेछन्; र तिनीहरूले कुनै नाशक चीज पिए तापनि तिनीहरूलाई त्यसले कुनै रीतिले हानि गर्नेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र उनीहरू निको हुनेछन्।” 19 यसकारण तिनीहरूसँग कुरा गर्नुभएपछि प्रभु स्वर्गमा उठाइनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। 20 अनि तिनीहरू निस्के, र जहाँतहीं तिनीहरूले प्रचार गरे, प्रभु तिनीहरूको साथमा काम गर्दै रहनुभयो, र जुन चिन्हहरू साथ-साथ भइरहेका थिए, ती चिन्हहरूद्वारा वचन दृढ़ गराउँदै रहनुभयो। आमेन!