पिलातसद्वारा प्रभु येशूको जाँच
मत्ती २७:११-१४; लूका २३:२-३; यूहन्ना १८:२९-३८
15
अनि बिहान तुरुन्तै मुख्य पूजाहारीहरूले बूढ़ा प्रधानहरू, शास्त्रीहरू र सम्पूर्ण महासभासँग सल्लाह गरे; अनि तिनीहरूले येशूलाई बाँधेर लगे र पिलातसकहाँ सुम्पिदिए। 2 अनि पिलातसले उहाँलाई सोधे: “के तिमी यहूदीहरूका राजा हौ?” अनि उहाँले जवाफ दिँदै उनलाई भन्नुभयो: “तपाईंले नै भन्दै हुनुहुन्छ।” 3 अनि मुख्य पूजाहारीहरूले उहाँलाई धेरै कुराहरूको विषयमा दोष लगाए; तर उहाँले एउटै पनि जवाफ दिनुभएन। 4 अनि पिलातसले उहाँलाई फेरि यसो भन्दै सोधे: “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराहरूको गवाही दिइरहेका छन्!” 5 तर येशूले अझै पनि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्कै परे।येशू कि बरब्बा?
मत्ती २७:१५-२६; लूका २३:१६-२५
6 अब त्यस चाड़को समयमा तिनीहरूले चाहेको कुनै कैदीलाई तिनीहरूका निम्ति उनले छोड़िदिने गर्थे। 7 अनि बरब्बा नाम भएको मानिस थियो, जो त्यसको साथमा राजद्रोहमा भाग लिनेहरूसितै बाँधिएको थियो, जसले राजद्रोहमा हत्या गरेको थियो। 8 अनि उनले तिनीहरूका निम्ति सधैं जस्तो गर्थे, त्यस्तै गरिदिऊन् भनेर भीड़ले जोड़ले चिच्च्याउँदै उनलाई माग गर्न थाल्यो। 9 तर पिलातसले यसो भन्दै तिनीहरूलाई जवाफ दिए: “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोड़िदिऊँ? के तिमीहरू यही चाहन्छौ?” 10 किनकि मुख्य पूजाहारीहरूले उहाँलाई डाहाको कारणले सुम्पिदिएका हुन् भनी उनलाई थाहा थियो। 11 तर उनले बरु बरब्बालाई तिनीहरूका निम्ति छोड़िदिऊन् भनी मुख्य पूजाहारीहरूले मानिसहरूलाई उभाड़े। 12 अनि पिलातसले फेरि जवाफ दिएर तिनीहरूलाई भने: “तब जसलाई तिमीहरू यहूदीहरूका राजा भन्दछौ, उसलाई म के गरूँ त? तिमीहरू के इच्छा गर्छौ?” 13 अनि तिनीहरू फेरि चिच्च्याए: “त्यसलाई क्रूसमा टाँगिदिनुहोस्!” 14 तब पिलातसले तिनीहरूलाई भने: “किन? उसले के कुकर्म गरेको छ त?” अनि तिनीहरू झन् साह्रो चिच्च्याए: “त्यसलाई क्रूसमा टाँगिदिनुहोस्!” 15 अनि पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छा गरेर तिनीहरूका निम्ति बरब्बालाई छोड़िदिए, र येशूलाई चाहिँ कोर्रा लगाएपछि क्रूसमा टँगाइनका निम्ति सुम्पिदिए।
काँड़ाको मुकुट, गिल्ला र क्रूस
मत्ती २७:२७-५६; लूका २३:२६-४९
16 अनि सिपाहीहरूले उहाँलाई प्राईटोरियनक भनिने महलभित्र लगे, अनि तिनीहरूले सारा पल्टन भेला गरे। 17 अनि तिनीहरूले उहाँलाई बैजनी वस्त्र पहिर्याइदिए, र काँड़ाको मुकुट गाँथेर उहाँको शिरमाथि लगाइदिए, 18 र उहाँलाई “सलाम, यहूदीहरूका राजा!” भन्दै अभिवादन गर्न लागे। 19 अनि तिनीहरूले निगालोले उहाँको शिरमा हिर्काए, उहाँलाई थुके र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे। 20 अनि उहाँलाई गिल्ला गरिसकेपछि तिनीहरूले उहाँबाट बैजनी वस्त्र फुकालिदिए, र उहाँकै वस्त्रहरू उहाँलाई पहिर्याइदिए, अनि उहाँलाई क्रूसमा टाँग्नका निम्ति बाहिर लगे। 21 अनि गाउँबाट आएर त्यहाँबाट जाँदै गरेका शिमोन कुरेनी , अलेकजान्डर र रूफसका बुबालाई तिनीहरूले उहाँको क्रूस बोक्न कर लगाए।
22 अनि तिनीहरूले उहाँलाई गलगथा भनिने ठाउँमा ल्याए, जसको अर्थ हो ‘खोपड़ीको ठाउँ’। 23 अनि तिनीहरूले उहाँलाई गन्धरस मिलाएको दाखमद्य पिउन दिए; तर उहाँले त्यो लिनुभएन। 24 अनि उहाँलाई क्रूसमा टाँगेपछि तिनीहरूले, कसले कुन लैजानुपर्ने हो भनी उहाँका लुगाहरूका लागि गोला हालेर ती बाँड़े। 25 अनि नौ बजेकोख थियो, र तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। 26 अनि ‘यहूदीहरूका राजा’ भन्ने उहाँको दोषपत्र लेखिएको थियो। 27 अनि उहाँको साथमा तिनीहरूले दुईजना डाँकूहरूलाई पनि क्रूसमा टाँगे – एकजनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि। 28 अनि पवित्रशास्त्र पूरा भयो, जसले भन्दछ:
‘अनि उहाँ अपराधीहरूसँग गनिनुभयो।’ग
29 अनि त्यहाँबाट जानेहरूले आफ्ना टाउका हल्लाई-हल्लाई र यसो भन्दै उहाँको निन्दा गरे: “वाह, तँ मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! 30 आफैलाई बचा, र क्रूसबाट ओर्ली आइज!” 31 यही प्रकारले मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरूसँगसँगै गिल्ला गर्दै आपसमा भने: “यसले अरूलाई बचायो; आफैलाई चाहिँ यसले बचाउन सक्दैन। 32 हामीले देखौं र विश्वास गरौं भनेर इस्राएलका राजा ‘ख्रीष्ट’ अब क्रूसबाट ओर्ली आओस्!” उहाँसँग क्रूसमा टाँगिनेहरूले पनि उहाँलाई निन्दा गरे।
33 अनि बाह्र बजेपछि सारा देशभरि नै तीन बजेसम्मघ अन्धकार भयो। 34 अनि तीन बजेङ येशू ठूलो सोरले यसो भन्दै कराउनुभयो: “एलोई, एलोई लामा सबकथनी?”, जसको अर्थ हुन्छ: ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?’ 35 अनि नजिकै उभिनेहरूमध्ये कतिले यो सुनेर भने: “हेर, यसले एलियालाई बोलाउँदैछ।” 36 अनि एकजनाले दगुरेर एउटा स्पन्जमा सिर्का भर्यो र त्यसलाई एउटा निगालोमा राखेर यसो भन्दै उहाँलाई पिउन दियो: “हुन देओ; हेरौं न, कहीं एलिया यसलाई ओराल्न आउँछन् कि!” 37 अनि ठूलो सोरले कराएर येशूले प्राण त्याग्नुभयो। 38 अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो।
39 अनि तब उहाँकै सामुन्ने उभिरहेका सुबेदारले, उहाँले यसरी कराएर प्राण त्याग्नुभएको देखेर भने: “साँच्ची नै यी मानिस परमेश्वरकै पुत्र हुँदा रहेछन्।” 40 त्यहाँ टाढ़ैबाट हेरिरहने स्त्रीहरू पनि थिए, जसको बीचमा मरियम मग्दलिनी, सानो याकूब र योसेसकी आमा मरियम, र सलोमी थिए; 41 येशू गालीलमा हुनुहुँदा यिनीहरू उहाँको पछि लागेका थिए, र उहाँको सेवा गर्दथे; अनि अरू धेरै स्त्रीहरू थिए, जो उहाँसँगै यरूशलेम आएका थिए।
प्रभु येशू गाड़िनुभयो
मत्ती २७:५७-६१; लूका २३:५०-५६; यूहन्ना १९:३८-४२
42 अनि अब साँझ परेपछि त्यो तयारीको दिन अर्थात् विश्रामदिनको अघिल्लो दिन भएको हुनाले, 43 अरिमथियाका यूसुफ, एक माननीय सल्लाहकारच आए, जसले आफै पनि परमेश्वरको राज्यको बाटो हेर्थे, अनि यिनी साहससँग पिलातसकहाँ गए, र येशूको शरीर मागे। 44 अनि उहाँ अघि नै मरिसक्नुभयो भन्ने कुरामा पिलातस छक्क परे; अनि सुबेदारलाई बोलाएर उहाँ अघि नै मर्नुभएको हो कि भनी तिनलाई सोधे। 45 अनि ती सुबेदारबाट थाहा पाएपछि उनले उहाँको शरीर यूसुफलाई दिए। 46 अनि यिनले सुती कपड़ा किने, र उहाँलाई तल झारेर उहाँलाई त्यस सुती कपड़ामा लपेटे, र उहाँलाई चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, अनि चिहानको ढोकामा एउटा ढुङ्गा गुड़ाएर राखे। 47 अनि मरियम मग्दलिनी र योसेसकी आमा मरियमले उहाँलाई कहाँ राखिएको थियो, सो हेरे।