प्रभु येशूलाई मार्ने षड़्यन्‍त्र
मत्ती २६:२-५; लूका २२:१-२
14
दुई दिनपछि निस्तार चाड़ र अखमीरी रोटीको चाड़ थियो। अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले कसरी उहाँलाई छल गरेर पक्रौं र मारौं भनी उपाय खोजिरहेका थिए। 2 तर तिनीहरू भन्दथे: “चाड़को बेलामा चाहिँ होइन, नत्र ता मानिसहरूको कोलाहल मच्‍चिनेछ।”
प्रभु येशूको शिरमा बहुमूल्य तेलको अभिषेक
मत्ती २६:६-१३; यूहन्‍ना १२:१-८
3 अनि बेथानीमा शिमोन कोरीको घरमा हुनुहुँदा उहाँ खानका निम्ति बस्‍नुभएको बेलामा एउटी स्त्री सङ्गमर्मरको भुँडुल्कोमा शुद्ध जटामसीको साह्रै दामी सुगन्धित तेल लिएर आइन्; अनि यस भुँडुल्कोलाई फोरेर तिनले त्यो उहाँको शिरमाथि खन्याइदिइन्। 4 अनि कतिजना मन-मनैमा रिसाएका थिए, र भने: “हैन, सुगन्धित तेलको यस्तो बरबादी किन गरिएको हो? 5 किनकि यो तीन सय दीनारभन्दा बढ़ी दाममा बेचिएर गरिबहरूलाई दिइन सकिन्‍थ्यो।” अनि तिनीहरूले तिनको विरोधमा गनगन गरे। 6 तर येशूले भन्‍नुभयो: “उसलाई छोड़िदेओ! उसलाई तिमीहरूले किन दुःख दिन्छौ? उसले मप्रति एउटा असल काम गरेकी छे। 7 किनकि गरिबहरू त तिमीहरूसँग सधैंभरि हुन्छन्, र जति बेला तिमीहरूलाई इच्छा लाग्छ, त्यति बेलै तिमीहरूले तिनीहरूको भलाइ गर्न सक्छौ; तर मचाहिँ तिमीहरूसित सधैंभरि हुँदिनँ। 8 उसले जे गर्न सक्थी, त्यही गरेकी छे; गाड़्‍नका निम्ति मेरो शरीरमा तेल घस्‍न ऊ पहिले नै आएकी हो। 9 म तिमीहरूलाई साँचो भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिनेछ, त्यहाँ उसले जे गरेकी छे, त्यो पनि उसको सम्झनाका लागि बताइनेछ।”
10 अनि यहूदा इस्करयोती, बाह्रमध्ये एक, उहाँलाई तिनीहरूका हातमा पक्राइदिनका लागि मुख्य पूजाहारीहरूकहाँ गयो। 11 अनि यो कुरा सुनेर तिनीहरू खुशी भए, र तिनीहरूले त्यसलाई पैसा दिने प्रतिज्ञा गरे। अनि उहाँलाई कसरी सजिलैसित पक्राइदिऊँ भनी त्यसले मौका खोज्यो।
निस्तारचाड़
मत्ती २६:१७-२५; लूका २२:७-१८
12 अनि अखमीरी रोटीको चाड़को पहिलो दिनमा, जब तिनीहरूले निस्तारको पाठालाई बलिदान गर्दथे, उहाँका चेलाहरूले उहाँलाई भने: “निस्तारचाड़को भोज खानलाई तपाईंका निम्ति हामी गएर कहाँ तयार पारौं – तपाईं कहाँ चाहनुहुन्छ?” 13 अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू शहरभित्र जाओ, र पानीको गाग्रो बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ; उसैको पछि लाग। 14 अनि ऊ जहाँ पस्‍नेछ, त्यही घरका मालिकलाई तिमीहरूले भन: ‘गुरुजी भन्‍नुहुन्‍छ, “त्यो पाहुनाकोठा कहाँ छ, जहाँ म आफ्ना चेलाहरूसँग निस्तार-भोज खानेछु?” ’ 15 अनि उनले तिमीहरूलाई राम्ररी सजाएर तयार पारिएको एउटा ठूलो माथिल्‍लो कोठा देखाउनेछन्; त्यहाँ नै हाम्रा निम्ति तयार पार!” 16 अनि उहाँका चेलाहरू निस्के र शहरभित्र आए; र उहाँले तिनीहरूलाई भन्‍नुभएको जस्तै तिनीहरूले भेट्टाए; अनि तिनीहरूले निस्तार-भोज तयार पारे। 17 अनि साँझमा उहाँ बाह्रैजनासँग आउनुभयो। 18 अनि उहाँहरू बसेर खाँदै गर्नुहुँदा येशूले भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये एकजनाले, जसले मसँग खाइरहेको छ, मलाई पक्राइदिनेछ।” 19 अनि तिनीहरू शोकित हुन थाले, र एक-एक गरी, “के त्यो म हुँ?” अनि अर्कोले, “के त्यो म हुँ?” भन्दै उहाँलाई भन्‍न थाले। 20 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “त्योचाहिँ बाह्रमध्ये एकजना हो, जसले मसँगै थालमा चोपिरहेको छ। 21 मानिसका पुत्र त साँच्‍चै उनको विषयमा लेखिएअनुसार जान्छन् नै, तर हाय, त्यस मान्छेलाई, जसद्वारा मानिसका पुत्र पक्राइँदछन्! त्यो मान्छे त कहिल्यै नजन्मेको भए त्यसका लागि असल हुनेथियो!”
प्रभुभोजको स्थापना
मत्ती २६:२६-२९; लूका २२:१९-२०
22 अनि उहाँहरूले खाँदै गर्नुहुँदा येशूले रोटी लिएर आशिष्‌ दिई भाँच्‍नुभयो र तिनीहरूलाई दिएर भन्‍नुभयो: “लेओ, खाओ; यो मेरो शरीर हो।” 23 अनि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो; र तिनीहरू सबैले त्यसबाट पिए। 24 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यो नयाँ वाचाको मेरो रगत हो, जुन रगतचाहिँ धेरैजनाका निम्ति बहाइन्छ। 25 म तिमीहरूलाई साँचो भन्दछु: जबसम्म परमेश्‍वरको राज्यमा म यो नयाँ पिउँदिनँ, त्यस दिनसम्म दाखको फलबाट म कहिल्यै पिउनेछैनँ।”
पत्रुसले इन्कार गर्ने विषयमा प्रभु येशूको भविष्यवाणी
मत्ती २६:३०-३५; लूका २२:३१-२४
26 अनि एउटा भजन गाएपछि उहाँहरू जैतुन-डाँड़ामा जानुभयो। 27 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “आज राती तिमीहरू सबैले मेरो कारणले गर्दा ठेस खानेछौ, किनकि यस्तो लेखिएको छ: ‘म गोठालालाई हिर्काउनेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’ 28 तर म बौरेर उठेपछि तिमीहरूभन्दा पहिले गालील जानेछु।” 29 तर पत्रुसले उहाँलाई भने: “सबैजनाले ठेस खाए तापनि मचाहिँ खानेछैनँ।” 30 अनि येशूले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँचो भन्दछु, आज, यही रातमै, भाले दुईपल्ट बास्‍नुभन्दा पहिले तिमीले मलाई तीन चोटि इन्कार गर्नेछौ।” 31 तर तिनले अझै धेरै जोर दिएर भने: “तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई कुनै रीतिले इन्कार गर्नेछनँ!” अनि यही प्रकारले तिनीहरू सबैले भने।
गेत्समनीको बगैंचामा
मत्ती २६:३६-४६; लूका २२:३९-४६
32 अनि उहाँहरू गेत्समनी नाम भएको ठाउँमा आउनुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मैले प्रार्थना गर्दै-गर्दा तिमीहरू यहाँ बस!” 33 अनि उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लैजानुभयो, अनि उहाँ साह्रै विचलित र अति व्याकुल हुन लाग्‍नुभयो, 34 र उनीहरूलाई भन्‍नुभयो: “मेरो प्राण मृत्यु नै होला झैं गरी अति नै शोकले भरिएको छ; तिमीहरू यहीं बस, र जागा रहो!” 35 अनि अलि पर गएर उहाँ भुइँमा घोप्‍टो पर्नुभयो, र “सम्भव भए यो घड़ी मबाट टलेर जाओस्” भन्दै प्रार्थना गर्नुभयो। 36 अनि उहाँले भन्‍नुभयो: “हे अब्‍बा, हे पिता, तपाईंका निम्ति सबै कुराहरू सम्भव छन्; यो कचौरा मबाट हटाइदिनुहोस्; तरै पनि म जे इच्छा गर्छु, त्यो होइन, तर तपाईं जे इच्छा गर्नुहुन्छ।” 37 अनि उहाँ आउनुभयो, र उनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो र पत्रुसलाई भन्‍नुभयो: “हे शिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एकै घण्टा पनि जागा रहन सकेनौ? 38 जागा रहो र प्रार्थना गर, कि तिमीहरू परीक्षामा नपर; आत्मा साँच्‍चै तयार छ, तर शरीर कमजोर छ।” 39 अनि फेरि गएर उही कुरा भन्दै उहाँले प्रार्थना गर्नुभयो। 40 अनि फर्केर आउनुभएपछि उहाँले फेरि पनि उनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि उनीहरूका आँखाहरू लट्ठ भएका थिए; र उहाँलाई के जवाफ दिनुपर्नेथियो, सो उनीहरूले जानेनन्। 41 अनि उहाँ तेस्रो पटक आउनुभयो, र उनीहरूलाई भन्‍नुभयो: “अब सुतिरहो, र विश्राम लेओ! अब भयो, घड़ी आइपुगेको छ; हेर, मानिसका पुत्र पापीहरूका हातमा पक्राइन्छन्। 42 उठ, लौ हामी जाऔं; हेर, मलाई पक्राउने नजिकै आइपुगेको छ।”
प्रभु येशू पक्राउ पर्नुहुन्छ
मत्ती २६:४७-५६; लूका २२:४७-५३; यूहन्‍ना १८:३-११
43 अनि तुरुन्तै उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्रमध्ये एक, त्यहाँ आयो; र त्यसको साथमा मुख्य पूजाहारीहरू, शास्त्रीहरू र बूढ़ा प्रधानहरूपट्टिबाट एउटा ठूलो भीड़ तरवार र लाठाहरू लिई आयो। 44 अनि उहाँलाई पक्राउनेले यसो भनेर तिनीहरूलाई एउटा चिन्ह दिएको थियो: ‘जसलाई म चुम्बन गरुँला, तिनी नै उनी हुन्; तिनलाई पक्र, र सुरक्षासाथ लैजाओ!’ 45 अनि आइपुग्‍नसाथ त्यो तुरुन्तै उहाँकहाँ गयो, र त्‍यसले उहाँलाई भन्यो: “गुरुज्यू, गुरुज्यू!”, र उहाँलाई चुम्बन गर्‍यो। 46 अनि तिनीहरूले उहाँमाथि आफ्ना हात हाले र उहाँलाई पक्रे। 47 अनि छेवैमा उभिनेहरूमध्ये कुनै एकजनाले तरवार खिँचेर महापूजाहारीको दासलाई हिर्काए र त्यसको कान च्वाट्टै काटिदिए। 48 अनि येशूले जवाफ दिँदै तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू डाँकूको विरोधमा आएझैं तरवार र लाठाहरू लिई मलाई पक्रन निस्की आएका छौ? 49 म मन्दिरमा शिक्षा दिँदै दिनहुँ तिमीहरूसँगै हुन्थें, र तिमीहरूले मलाई पक्रेनौ; तर पवित्रशास्त्रहरू पूरा हुनैपर्छ।” 50 अनि तिनीहरू सबैले उहाँलाई छोड़े, र भागे। 51 अनि आफ्नो नाङ्गो शरीरमाथि सुती लुगा बेरेको कुनै एक जवान उहाँको पछि लाग्यो। अनि जवान मानिसहरूले त्यसलाई पक्रे, 52 र सुती लुगा छोड़ेर त्यो तिनीहरूबाट नाङ्गै भाग्यो।
प्रभु येशू कायफा र महासभाको सामु
मत्ती २६:५७-६८; लूका २२:६३-७१; यूहन्‍ना १८:१९-२४
53 अनि तिनीहरूले येशूलाई महापूजाहारीकहाँ लगे; अनि उनीकहाँ सबै मुख्य पूजाहारीहरू, बूढ़ा प्रधानहरू र शास्त्रीहरू भेला भएका थिए। 54 अनि पत्रुस महापूजाहारीको चोकसम्‍मै टाढ़ा-टाढ़ाबाट उहाँलाई पछ्याउँदै गए; अनि तिनी नोकरहरूसँग बसिरहेका र आगो तापिरहेका थिए। 55 अनि मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका निम्ति उहाँको विरोधमा साक्षी खोजे, तर एउटै पनि पाएनन्। 56 किनकि धेरैले उहाँको विरोधमा झूटा गवाही दिए, तर तिनीहरूका गवाही एकै भएनन्। 57 अनि कतिले उठेर यसो भन्दै उहाँको विरोधमा झूटा गवाही दिए: 58 “हामीले यसलाई यसो भन्दै गरेको सुन्यौं, ‘म हातले बनिएको यो मन्दिर भत्काउनेछु, र तीन दिनमा म अर्को, विनाहातले बनिएको खड़ा गर्नेछु।’ ” 59 तर यसरी पनि तिनीहरूको गवाही एकै भएन। 60 अनि बीचमा उभिएर महापूजाहारीले येशूलाई यसो भन्दै प्रश्‍न गरे: “के तँ केही पनि जवाफ दिँदैनस्? यिनीहरूले तेरो विरोधमा दिएको गवाही के हो?” 61 तर उहाँ चुपै लाग्‍नुभयो, र केही जवाफ दिनुभएन। फेरि पनि महापूजाहारीले उहाँलाई प्रश्‍न गरे र उहाँलाई भने: “के तँ परमधन्यका पुत्र ‘ख्रीष्‍ट’ होस्?” 62 अनि येशूले भन्‍नुभयो: “म हुँ; अनि तपाईंहरूले मानिसका पुत्रलाई सामर्थ्यको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्‍नुहुनेछ।” 63 तब महापूजाहारीले आफ्ना लुगाहरू च्यातेर भने: “अब उसो हामीलाई साक्षीहरूको के खाँचो पर्‍यो र? 64 तिमीहरूले ईश्‍वरनिन्दा त सुनिहालेका छौ; तिमीहरूको राय के हो?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। 65 अनि कतिले उहाँलाई थुक्न, उहाँको अनुहार छोप्‍न र उहाँलाई मुक्‍का लगाउन थाले; अनि उहाँलाई, ‘एई, भविष्यवाणी गर्’ भन्‍न लागे। अनि नोकरहरूले उहाँलाई थप्पड़ लगाए।
पत्रुसले प्रभु येशूलाई तीनपल्‍ट इन्कार गर्छन्
मत्ती २६:६९-७५; लूका २२:५५-६२; यूहन्‍ना १८:१५-२७
66 अनि पत्रुस तल चोकमा हुँदा महापूजाहारीका नोकरनीहरूमध्ये एउटी त्यहाँ आई। 67 अनि पत्रुसलाई आगो तापिरहेका देखेर त्यसले तिनलाई हेरेर भनी: “अनि तिमी पनि नासरतका येशूको साथमा थियौ।” 68 तर तिनले यसो भन्दै इन्कार गरे: “तिमीले के भन्दैछ्यौ, म जान्दिनँ, बुझ्दिनँ पनि।” अनि तिनी बाहिर दलानमा निस्के, र भाले बास्यो। 69 अनि फेरि एउटी नोकरनीले तिनलाई देखेर नजिकैमा उभिएकाहरूलाई भन्‍न लागी: “यो तिनीहरूमध्ये एक हो।” 70 अनि तिनले फेरि इन्कार गरे। अनि केही समयपछि ती नजिकैमा उभिनेहरूले पत्रुसलाई फेरि भने: “तिमी पक्‍कै पनि तिनीहरूमध्ये एक हौ; किनकि तिमी गालीली हौ, तिम्रो बोली नै त्यस्तो छ।” 71 तर तिनले यसो भन्दै सराप्‍न र शपथ खान थाले: “जुन मानिसको विषयमा तिमीहरू कुरा गर्दछौ, उसलाई म चिन्दै चिन्दिनँ!” 72 अनि दोस्रो पल्ट भाले बास्यो। अनि येशूले तिनलाई भन्‍नुभएको वचन पत्रुसले सम्झना गरे: ‘भाले दुईपल्ट बास्‍नुभन्दा पहिले तिमीले मलाई तीन चोटि इन्कार गर्नेछौ।’ अनि त्यो कुरा सोचेर तिनी रोए।