अन्तिम दिनका चिन्हहरू
मत्ती २४; लूका २१:५-३६
13
अनि उहाँ मन्दिरबाट निस्कँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने: “गुरुज्यू, हेर्नुहोस्, कस्ता-कस्ता किसिमका ढुङ्गाहरू, र कस्ता-कस्ता भवनहरू!” 2 अनि येशूले जवाफ दिँदै तिनलाई भन्‍नुभयो: “के तिमी यी ठूला-ठूला भवनहरू देख्छौ? यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड़िनेछैन, जुनचाहिँ फ्याँकिनेछैन।” 3 अनि उहाँ जैतुन डाँड़ामाथि मन्दिरको सामुन्‍ने बसिरहनुभएको बेलामा पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई अलग्गै सोधे: 4 “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि जब यी सबै कुराहरू पूरा हुनेछन्, तब के चिन्ह हुनेछ?”
5 अनि येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍न लाग्‍नुभयो: “होशियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्! 6 किनकि धेरैजना ‘म ख्रीष्‍ट हुँ’ भन्दै मेरो नाममा आउनेछन्, र धेरैलाई धोका दिनेछन्। 7 अनि जब तिमीहरूले लड़ाइँहरू र लड़ाइँका होहल्‍लाहरू सुन्‍नेछौ, तब तिमीहरू नआत्तिओ; किनकि यस्ता कुराहरू हुनैपर्छ, तर अन्त अझै हुनेछैन। 8 किनकि जाति जातिको विरोधमा उठ्नेछ, र राज्य राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा भुइँचालाहरू जानेछन्, अनि अनिकाल र कष्‍टहरू हुनेछन्; यीचाहिँ पीड़ाहरूका शुरु हुन्।
9 तर तिमीहरू आफ्नै विषयमा होशियार बस; किनकि तिनीहरूले तिमीहरूलाई महासभाहरूमा सुम्पिदिनेछन्; र तिमीहरू सभाघरहरूमा पिटिनेछौ; अनि मेरो खातिर तिमीहरू शासकहरू र राजाहरूको सामु, तिनीहरूका निम्ति साक्षी हुनलाई ल्याइनेछौ। 10 अनि सुसमाचारचाहिँ पहिले सबै जातिहरूमा प्रचार गरिनुपर्दछ। 11 तर जब तिनीहरूले तिमीहरूलाई लगेर सुम्पिदेलान्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर, न ता पहिले नै सोचिराख; तर त्यस घड़ी तिमीहरूलाई जे दिइनेछ, त्यही नै तिमीहरू बोलिदेओ; किनकि बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुन्छ। 12 अब भाइले भाइलाई र बुबाले छोरालाई मृत्युका निम्ति सुम्पिदिनेछन्; अनि छोराछोरीहरू बुबाआमाको विरोधमा उठ्नेछन्, र उनीहरूलाई मार्न लाउनेछन्। 13 अनि मेरो नामको कारणले तिमीहरू सबै मानिसहरूद्वारा घृणा गरिनेछौ; तर जसले अन्तसम्म सहन्छ, उसैको उद्धार हुनेछ।
14 तर जब तिमीहरूले भविष्यवक्ता दानिएलद्वारा भनिएको त्‍यस उजाड़ पार्ने घृणित वस्तुलाई जहाँ उचित छैन, त्यहाँ उभिएको देख्‍नेछौ, (पढ्नेले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्; 15 अनि छानामा हुनेचाहिँ तल घरभित्र नझरोस्, न ता आफ्नो घरबाट केही निकाल्नालाई भित्र पसोस्; 16 अनि खेतबारीमा हुनेचाहिँ आफ्नो लुगा लिनलाई फर्केर नआओस्। 17 तर ती दिनहरूमा गर्भवती हुनेहरू र दूध खुवाउनेहरूलाई हाय! 18 अनि तिमीहरूको भगाइचाहिँ जाड़ोको समयमा नपरोस् भनी तिमीहरूले प्रार्थना गर!
19 किनभने ती दिनहरूमा यस्तो सङ्कष्‍ट हुनेछ, जस्‍तो परमेश्‍वरले सृजना गर्नुभएको सृष्‍टिको शुरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछ। 20 अनि प्रभुले ती दिनहरू नघटाउनुभएको भए कुनै प्राणी बाँच्‍नेथिएन; तर चुनिएकाहरूका निम्ति, जसलाई उहाँले चुन्‍नुभएको छ, उहाँले ती दिनहरू घटाउनुभएको छ। 21 अनि तब कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ वा ‘हेर, उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसलाई विश्‍वास नगर; 22 किनभने झूटा ख्रीष्‍टहरू र झूटा भविष्यवक्ताहरू उठ्नेछन्, र सम्भव भए त चुनिएकाहरूलाई पनि धोका दिन चिन्हहरू र चमत्कारहरू देखाउनेछन्। 23 तर तिमीहरू होशियार बस; हेर, मैले तिमीहरूलाई पहिल्यै सबै कुराहरू बताइदिएको छु।
24 तर ती दिनहरूमा, त्यस सङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन; 25 अनि आकाशका ताराहरू खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू हल्‍लाइनेछन्। 26 अनि तब तिनीहरूले मानिसका पुत्रलाई बड़ो सामर्थ्य र महिमासहित बादलहरूमा आइरहेका देख्‍नेछन्। 27 अनि तब उनले आफ्ना दूतहरूलाई पठाउनेछन्, र चारै दिशाबाट तिनीहरूले पृथ्वीको वल्‍लो छेउदेखि आकाशको पल्‍लो छेउसम्म उनका चुनिएकाहरूलाई बटुल्नेछन्।”
नेभाराको रूख: जागा रहो!
मत्ती २४:३२-५१; लूका २१:२९-३६
28 “अब नेभाराको रूखबाट दृष्‍टान्‍त सिक! जब त्यसको हाँगा कोमल भइसकेको हुन्छ र त्यसले पालुवाहरू हाल्छ, तब ग्रीष्म ऋतु नजिकै छ भनी तिमीहरूले जान्दछौ; 29 यसरी नै तिमीहरूले पनि जब यी कुराहरू भइरहेका देख्‍नेछौ, तब यो नजिकै अर्थात्‌ ढोकाहरूमै छ भनी जान। 30 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै कुराहरू पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्‍नेछैन। 31 आकाश र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्‍नेछैनन्।
32 तर त्यस दिन र त्यस घड़ीको विषयमा कसैले जान्दैन, न ता स्वर्गमा हुने दूतहरूले, न पुत्रले, तर पिताले मात्र। 33 तिमीहरू होशियार बस, जागा रहो र प्रार्थना गर; किनकि त्यो समय कहिले हुन्छ, तिमीहरू जान्दैनौ। 34 किनकि मानिसका पुत्रचाहिँ टाढ़ो देशमा जाने मानिसजस्तो हुन, जसले आफ्नो घर छोड़े, र आफ्ना दासहरूलाई अधिकार दिए, अनि हरेकलाई आ-आफ्नो काम दिए र ढोकेलाई जागा रहनू भनी आज्ञा दिए। 35 यसकारण तिमीहरू जागा रहो; किनकि घरका मालिक कहिले आउँछन् – साँझमा, मध्यरातमा, भाले बास्दा वा बिहान – तिमीहरू जान्दैनौ; 36 अचानक आउँदा कहीं उनले तिमीहरूलाई निदाइरहेका भेट्टाउलान्! 37 अनि तिमीहरूलाई म जे भन्दछु, त्यही म सबैलाई भन्दछु, ‘जागा रहो!’ ”