दाखबारी लगाउने मालिकको दृष्टान्त
मत्ती २१:३३-४६; लूका २०:९-१९
12
अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूद्वारा भन्न थाल्नुभयो: “कुनै एकजना मानिसले एउटा दाखबारी लगाए, र वरिपरि बार हाले, अनि दाख पेल्ने कोलका निम्ति ठाउँ खने, अनि एउटा मचान थापे र किसानहरूलाई त्यो ठेक्कामा दिएर तिनी टाढ़ो देशमा गए। 2 अनि फलको समयमा, किसानहरूबाट दाखबारीको फलबाट केही लिनलाई तिनले किसानहरूकहाँ एउटा दास पठाए। 3 तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र रित्तै पठाइदिए। 4 अनि फेरि तिनले तिनीहरूकहाँ अर्को दास पठाए, अनि त्यसलाई ढुङ्गाले हानेर तिनीहरूले त्यसको टाउकोमा चोट पारिदिए र त्यसलाई बेइज्जत गरेर पठाइदिए। 5 अनि फेरि तिनले अर्कोलाई पठाए, र तिनीहरूले त्यसलाई मारे; अनि तिनले अरू धेरैलाई पठाए – तिनीहरूले कतिलाई पिटे, कतिलाई मारे। 6 तब तिनीसित अझै पनि तिनका अति प्यारा छोरा भएका हुनाले ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्नेछन् नै’ भन्दै अन्तमा तिनले उनलाई पनि तिनीहरूकहाँ पठाए। 7 तर ती किसानहरूले आपसमा भने: ‘हकवाला यही हो; आओ, यसलाई मारौं, र हकको सम्पत्ति हाम्रो हुनेछ।’ 8 अनि तिनीहरूले उनलाई पक्रेर मारे र दाखबारीबाट बाहिर फालिदिए। 9 यसकारण अब त्यस दाखबारीका मालिकले के गर्लान् त? तिनी आउनेछन् र तिनले ती किसानहरूलाई नाश पार्नेछन्, अनि त्यो दाखबारीचाहिँ अरूहरूलाई दिनेछन्। 10 अनि के तिमीहरूले पवित्रशास्त्रको यो वचन पढ़ेका छैनौ?‘जुन ढुङ्गा डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गाचाहिँ कुनाको शिर भयो; 11 यो परमप्रभुबाट* भएको हो, र हाम्रो दृष्टिमा यो अद्भूत छ।’ ”क
12 अनि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भीड़सँग डराए; किनकि त्यो दृष्टान्तचाहिँ उहाँले तिनीहरूकै विरोधमा भन्नुभएको रहेछ भनी तिनीहरूले थाहा पाए; अनि उहाँलाई छोड़ेर तिनीहरू बाटो लागे।
हेरोदीहरूलाई करसम्बन्धी प्रभुको जवाफ
मत्ती २२:१५-२२; लूका २०:१९-२६
13 अनि उहाँलाई उहाँकै कुरामा फसाऔं भनेर तिनीहरूले फरिसी र हेरोदीहरूमध्ये कतिलाई उहाँकहाँ पठाए। 14 अनि आएर तिनीहरूले उहाँलाई भने: “गुरुज्यू, हामी जान्दछौं, तपाईं सच्चा हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईं मानिसहरूको मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ। के सिजरलाई कर तिर्नु उचित छ कि छैन? 15 हामी दिऔं कि नदिऔं?” तर तिनीहरूको कपट थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू मलाई किन जाँच्दछौ? 16 मकहाँ एउटा दीनार ल्याओ, र म हेरूँ।” अनि तिनीहरूले त्यो ल्याए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “यो मूर्ति र छाप कसको हो?” अनि तिनीहरूले उहाँलाई भने: “सिजरको।” 17 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “सिजरका कुराहरू सिजरलाई र परमेश्वरका कुराहरू परमेश्वरलाई देओ!” अनि तिनीहरू उहाँसँग छक्कै परे।
सदुकीहरूलाई बौरिउठाइसम्बन्धी प्रभुको जवाफ
मत्ती २२:२३-३३; लूका २०:२७-३८
18 तब बौरिउठाइ हुँदै-हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यसो भनेर सोधे: 19 “हे गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका छन्, ‘कुनै मानिसको दाजुचाहिँ मरेर आफ्नी स्वास्नीलाई छोड्यो भने, तर सन्तानचाहिँ छोड़ेन भने त्यसको भाइले त्यसकी स्वास्नीलाई लैजाओस्, र आफ्ना दाजुका निम्ति सन्तान पैदा गरोस्।’ख 20 अब सात भाइहरू थिए; अनि जेठाले स्वास्नी ल्यायो, र मर्दाखेरि कोही सन्तान छोड़ेन। 21 अनि महिलोले त्यसलाई लग्यो, र मर्यो; र त्यसले पनि कुनै सन्तान छोड़ेन; अनि साहिँलोले त्यसै गर्यो। 22 अनि सातैजनाले त्यसलाई राखे तर कुनै सन्तान छोड़ेनन्। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। 23 यसकारण बौरिउठाइमा, जब ती बौरेर उठ्नेछन्, तब त्यो तिनीहरूमध्ये कसकी स्वास्नी हुनेछे? किनकि ती सातैजनाले त्यसलाई स्वास्नी तुल्याएका थिए।” 24 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले पवित्रशास्त्रहरू र परमेश्वरको शक्तिलाई नजानेका हुनाले तिमीहरू भूलमा परेका होइनौ र? 25 किनभने जब तिनीहरू मरेकाहरूबाट बौरेर उठ्नेछन्, तब तिनीहरू न विवाह गर्दछन्, न विवाह गराइँदछन्, तर स्वर्गमा हुने दूतहरूजस्तै हुनेछन्। 26 अनि मरेकाहरू बौरेर उठ्छन् भन्ने विषयमा चाहिँ के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ र? कसरी पोथ्रामा परमेश्वरले उनीसँग यसो भन्दै बोल्नुभयो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ग 27 उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जिउँदाहरूका परमेश्वर हुनुहुन्छ; यसकारण तिमीहरू साह्रै भूलमा परेका छौ।”
सबैभन्दा ठूलो आज्ञासम्बन्धी प्रभुको जवाफ
मत्ती २२:३४-४०
28 अनि शास्त्रीहरूमध्ये एकजना आए, अनि तिनीहरूले आपसमा तर्क गरेका सुनेर र उहाँले तिनीहरूलाई सठीक जवाफ दिनुभएको थाहा पाएर तिनले उहाँलाई सोधे: “सबैभन्दा पहिलो आज्ञा कुन हो?” 29 अनि येशूले तिनलाई जवाफ दिनुभयो: “सबैभन्दा पहिलो आज्ञाचाहिँ यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु* हाम्रा परमेश्वर एउटै परमप्रभु* हुनुहुन्छ; 30 अनि तिमीले परमप्रभु* आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा मनले र आफ्नो सारा बलले प्रेम गर!’घ पहिलो आज्ञा यही हो। 31 अनि योजस्तै दोस्रो पनि छ, जुनचाहिँ यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर!’ यीभन्दा ठूलो अर्को कुनै आज्ञा छैन।” 32 अनि ती शास्त्रीले उहाँलाई भने: “सही हो, गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभएको छ; किनभने एउटै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन। 33 अनि सारा हृदयले, सारा समझले, सारा प्राणले र सारा बलले उहाँलाई प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नुचाहिँ सम्पूर्ण होमबलि र बलिहरूभन्दा बढ़ी हो।” 34 अनि तिनले बुद्धिमानीसित जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो: “तिमी परमेश्वरको राज्यदेखि टाढ़ामा छैनौ।” अनि कसैले उहाँलाई फेरि प्रश्न गर्ने आँट गरेन।
शास्त्रीहरूलाई ख्रीष्टसम्बन्धी प्रभु येशूको प्रश्न
मत्ती २२:४१-४६; लूका २०:४१-४४
35 अनि मन्दिरमा शिक्षा दिँदै गर्नुहुँदा येशूले जवाफ दिई भन्नुभयो: “ख्रीष्ट दाऊदका पुत्र हुन् भनी शास्त्रीहरू कसरी भन्दछन्? 36 किनभने दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्:
‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।” ’ङ
37 यसकारण दाऊद आफैले उहाँलाई ‘प्रभु’ भन्छन्; तब कहाँबाट उहाँ उनका पुत्र हुनुहुन्छ त?” अनि साधारण जनताले उहाँको वचन आनन्दपूर्वक सुने। 38 अनि आफ्नो शिक्षामा उहाँले तिनीहरूलाई भन्नुभयो: “शास्त्रीहरूदेखि होशियार रहो, जसले लामा वस्त्रहरू पहिरेर यताउता घुम्न र बजारहरूहुँदो अभिवादन पाउन मन पराउँछन्, 39 अनि सभाघरहरूमा मुख्य आसनहरू र भोजहरूमा उच्च स्थानहरू रुचाउँछन्; 40 जसले विधवाहरूका घरहरू निल्छन्, र बहानाका निम्ति लामा-लामा प्रार्थना गर्छन्; यिनीहरूले झन् ठूलो दण्ड पाउनेछन्।”
विधवाको भेटी
लूका २१:१-४
41 अनि येशूले ढुकुटीको सामुन्ने बसेर मानिसहरूले ढुकुटीमा कसरी पैसा हाल्दा रहेछन्, सो हेर्नुभयो; अनि धेरै धनवान् हरूले थुप्रै-थुप्रै हाले। 42 अनि कुनै एउटी गरिब विधवा आई, र उसले दुईवटा तामाको पैसाच अर्थात् एक कोड्रान्टेस हाली। 43 अनि आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, ढुकुटीमा हाल्नेहरूमध्ये सबैभन्दा बढ़ी यही गरिब विधवाले हालेकी छे; 44 किनकि सबैले चाहिँ आफ्नो भरपूरीबाट चढ़ाएका छन्, तर उसले त आफ्नो अपुगबाट, आफूसँग जे जति थियो, सबै अर्थात् आफ्नो सम्पूर्ण जीविका नै हालेकी छे।”