मत्तीको सुसमाचार
येशू ख्रीष्‍टको वंशावली
लूका ३:२३-३८
1
अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक।
2 अब्राहामले इसहाकलाई जन्माए, इसहाकले याकूबलाई जन्माए, अनि याकूबले यहूदा र उनका दाजुभाइहरूलाई जन्माए। 3 अनि यहूदाले तामारद्वारा पेरेस र जारालाई जन्माए, पेरेसले हेस्रोनलाई जन्माए र हेस्रोनले आरामलाई जन्माए। 4 अनि आरामले अमिनादाबलाई जन्माए, अमिनादाबले नास्सोनलाई जन्माए र नास्सोनले सल्मोनलाई जन्माए। 5 अनि सल्मोनले राहाबद्वारा बोअजलाई जन्माए, बोअजले रूथद्वारा ओबेदलाई जन्माए र ओबेदले यिशाईलाई जन्माए। 6 अनि यिशाईले राजा दाऊदलाई जन्माए; राजा दाऊदले तिनीद्वारा, जो उरियाहकी पत्‍नी थिइन्, सुलेमानलाई जन्माए। 7 अनि सुलेमानले रोओबामलाई जन्माए, रोओबामले अबियालाई जन्माए र अबियाले आसालाई जन्माए। 8 अनि आसाले योसाफातलाई जन्माए, योसाफातले योरामलाई जन्माए र योरामले ओजियालाई जन्माए। 9 अनि ओजियाले योतामलाई जन्माए, योतामले आहाजलाई जन्माए र आहाजले एजेकियालाई जन्माए। 10 अनि एजेकियाले मनस्सेलाई जन्माए, मनस्सेले आमोनलाई जन्माए र आमोनले योसियालाई जन्माए। 11 अनि बेबिलोनमा लगिने बेलामा योसियाले येकोनिया र तिनका भाइहरूलाई जन्माए। 12 अनि तिनीहरू बेबिलोनमा लगिएपछि येकोनियाले शाल्तिएललाई जन्माए र शाल्तिएलले जरूबाबेललाई जन्माए। 13 अनि जरूबाबेलले अबिउदलाई जन्माए, अबिउदले एलियाकिमलाई जन्माए र एलियाकिमले आजोरलाई जन्माए। 14 अनि आजोरले सादोकलाई जन्माए, सादोकले आखिमलाई जन्माए र आखिमले एलिउदलाई जन्माए। 15 अनि एलिउदले एलियाजारलाई जन्माए, एलियाजारले मत्‍थानलाई जन्‍माए र मत्‍थानले याकूबलाई जन्‍माए। 16 अनि याकूबले मरियमका पति यूसुफलाई जन्माए, जुन मरियमबाट ख्रीष्‍ट भनिनुहुने येशू जन्मनुभयो। 17 यसरी अब्राहामदेखि दाऊदसम्मका सबै पुस्ताहरू चौध पुस्ता, अनि दाऊददेखि बेबिलोन लगिउन्जेल चौध पुस्ता, र बेबिलोनमा लगिएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता भए।
प्रभु येशू ख्रीष्‍टको जन्म
लूका १:२६-३८
18 अब येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी यूसुफसँग भएपछि, उनीहरू सँगै बस्‍नुभन्दा पहिल्यै उनीचाहिँ पवित्र आत्मापट्टिबाट गर्भवती भएकी थिइन्। 19 तर उनका पति यूसुफले, धर्मी मानिस भएका हुनाले र जनताको सामु उनलाई प्रकट गर्न नचाहेका हुनाले उनलाई गुप्‍तमै त्यागिदिने विचार गरे। 20 तर जब तिनले यी कुराहरूको विषयमा सोचिरहेका थिए, तब हेर, सपनामा प्रभुका* दूत तिनीकहाँ यसो भन्दै देखा परे: “यूसुफ, दाऊदका छोरा, आफ्नी पत्‍नी मरियमलाई आफूकहाँ ल्याउन नडराऊ; किनकि जो उनको गर्भमा हुनुहुन्छ, उहाँचाहिँ पवित्र आत्माबाटकै हुनुहुन्छ। 21 अनि उनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम ‘येशू’ राख्‍नू; किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।” 22 अब प्रभुले भविष्यवक्ताद्वारा भन्‍नुभएको कुरा पूरा होस् भनेर यो सब भएको थियो:
23 ‘हेर, कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, अनि तिनीहरूले उहाँको नाम “इम्मानुएल” राख्‍नेछन्’, जसको अर्थ हो: ‘परमेश्‍वर हामीसित’।
24 तब यूसुफले निद्राबाट बिउँझेर प्रभुका* दूतले तिनलाई आज्ञा दिएमुताबिक गरे र आफ्नी पत्‍नीलाई आफूकहाँ ल्याए, 25 अनि जबसम्म उनले आफ्ना जेठा छोरालाई जन्माइनन्, तबसम्म तिनले उनीसँग सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।