मलाकी
इस्राएलप्रति परमप्रभुको प्रेम
1
इस्राएलका निम्ति मलाकीद्वारा परमप्रभुको वचनको भविष्यवाणी
2 “परमप्रभु भन्‍नुहुन्छ: मैले तिमीहरूलाई प्रेम गरेको छु; तर तिमीहरू भन्छौ: ‘तपाईंले हामीलाई कुन कुरामा प्रेम गर्नुभएको छ?’ परमप्रभु भन्‍नुहुन्छ: के एसाव याकूबका दाजु थिएन र? तर मैले याकूबलाई प्रेम गरें, 3 अनि एसावलाई चाहिँ मैंले घृणा गरें; अनि त्यसका पहाड़हरू र त्यसको अधिकारको भाग मैले उजाड़स्थानका स्यालहरूका निम्ति उजाड़ पारिदिएँ। 4 तैपनि एदोमले भन्छ: ‘हामी नष्‍ट पारिएका छौं, तर हामी ती उजाड़ भएका ठाउँहरू फेरि बनाउनेछौं’; सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ: तिनीहरूले बनाउनेछन्, तर म भत्काइदिनेछु; अनि मानिसहरूले तिनीहरूलाई ‘दुष्‍टताको इलाका’, र ‘त्यो जाति, जससँग परमप्रभु सदा क्रोधित रहनुहुन्छ’ भन्‍ने नाम राख्‍नेछन्। 5 अनि तिमीहरूका आँखाहरूले यो देख्‍नेछन्, र तिमीहरूले भन्‍नेछौ: ‘इस्राएलको सिमानादेखि बाहिर पनि परमप्रभुको बढ़ाइ हुने रहेछ।’ ”
पूजाहारीहरूप्रति परमप्रभुको आरोप
6 “छोराले आफ्ना बुबालाई, र दासले आफ्ना मालिकलाई आदर गर्छ; तब मचाहिँ बुबा हुँ भने मेरो आदर खोइ, कहाँ छ? अनि मचाहिँ मालिक हुँ भने मेरो डर खोइ, कहाँ छ? हे मेरो नामलाई तुच्छ ठान्‍ने पूजाहारीहरूहो, सेनाहरूको परमप्रभु तिमीहरूलाई भन्‍नुहुन्छ, जसले भन्छौ: ‘कुन कुरामा हामीले तपाईंको नामलाई तुच्छ ठानेका छौं?’ 7 तिमीहरू मेरो वेदीमाथि अशुद्ध भोजन चढ़ाउँछौ, र पनि तिमीहरू भन्छौ: ‘कुन कुरामा हामीले तपाईंलाई अशुद्ध तुल्याएका छौं?’ यस कुरामा, जब तिमीहरू भन्छौ: ‘परमप्रभुको टेबल तुच्छ छ।’ 8 अनि बलिदानको रूपमा जब तिमीहरू अन्धा पशु चढ़ाउँछौ, त के यो खराब कुरा होइन र? अनि जब तिमीहरू लङ्गड़ा र रोगी पशु चढ़ाउँछौ, त के यो खराब कुरा होइन र? यही कुरा आफ्ना राज्यपाललाई चढ़ाऊ त! के तिनी तिमीसित प्रसन्‍न होलान् त? अथवा के तिनले तिमीलाई ग्रहण गर्लान् त?, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 9 अनि अब परमेश्‍वरले हामीलाई अनुग्रह देखाऊन् भनेर उहाँलाई विन्‍ती चढ़ाओ त! तिमीहरूको हातद्वारा यो भएकै हो; के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुन्छ होला त?, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 10 अँ, तिमीहरूमध्ये को छ, जसले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, र तिमीहरूले व्यर्थमा मेरो वेदीमाथि आगो बाल्नेथिएनौ?! म तिमीहरूसँग प्रसन्‍न छैनँ, न ता म तिमीहरूको हातबाट कुनै भेटी नै ग्रहण गर्नेछु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 11 किनकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म नै अन्यजातिहरूको बीचमा मेरो नाम महान् हुनेछ, अनि हरेक ठाउँमा मेरो नामका निम्ति धूप र शुद्ध भेटी चढ़ाइनेछन्; किनकि अन्यजातिहरूको बीचमा मेरो नाम महान् हुनेछ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 12 तर तिमीहरूले यसलाई अपवित्र तुल्याएका छौ, जब तिमीहरू भन्छौ: ‘परमप्रभुको टेबल अशुद्ध छ, र त्यसको फल अर्थात् उहाँको भोजन तुच्छ छ।’ 13 अनि तिमीहरू भन्छौ: ‘हेर, यो कति दिकलाग्दो कुरा!’ अनि तिमीहरूले यस भोजनप्रति नाक खुम्च्याएका छौ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; अनि तिमीहरूले लुटिएकोलाई, लङ्गड़ेलाई र रोगीलाई ल्यायौ; यस प्रकारले तिमीहरूले भेटी ल्यायौ; के म तिमीहरूको हातबाट यो भेटी ग्रहण गरूँ?, परमप्रभु भन्‍नुहुन्छ। 14 तर त्यो छली श्रापित होस्, जसको बगालमा नर-पशु छ र जसले भाकल गर्छ, तर प्रभुका निम्ति चाहिँ खोट भएकोलाई बलि गर्छ! किनकि म महान् राजा हुँ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; अनि अन्यजातिहरूको बीचमा मेरो नाम भययोग्य छ।”