परमप्रभुको दिनमा परमप्रभु परमेश्‍वर सबै पवित्र जनहरूको साथमा आउनुहुनेछ
14
“हेर, परमप्रभुको दिन आउँछ, अनि तेरो लुटको माल तेरो बीचमा बाँड़िनेछ। 2 किनभने म सबै जातिहरूलाई यरूशलेमको विरोधमा लड़ाइँ गर्न भेला पार्नेछु; अनि यो शहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू भ्रष्‍ट पारिनेछन्; अनि यस शहरको आधा भाग निस्केर कैदमा जानेछ; अनि यस प्रजाका बाँकी रहेका मानिसहरू यस शहरबाट नष्‍ट पारिनेछैनन्। 3 तब परमप्रभु निस्कनुहुनेछ, र लड़ाइँको दिनमा उहाँले लड़ाइँ गर्नुभएझैं ती जातिहरूको विरोधमा लड़ाइँ गर्नुहुनेछ। 4 अनि त्यस दिन उहाँका पाउहरू जैतुन डाँड़ामाथि उभिनेछन्, जुन डाँड़ा यरूशलेमको सामु पूर्वपट्टि अवस्थित छ; अनि जैतुन डाँड़ा त्यसको बीचमा, पूर्वतिर र पश्‍चिमतिर फाट्नेछ; अनि एउटा अति ठूलो बेंसी बनिनेछ; अनि त्यस ड़ाँड़ाको आधा भाग उत्तरतिर र त्यसको आधा भाग दक्षिणतिर सर्नेछ। 5 अनि तिमीहरू मेरा पहाड़हरूको बेंसीतिर भाग्‍नेछौ; किनकि पहाड़हरूको बेंसी आजलसम्म पुग्‍नेछ; अँ, जसरी तिमीहरू यहूदाका राजा उज्जियाहका दिनहरूमा भुइँचालोको सामुबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्‍नेछौ; अनि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ; अनि तपाईंको साथमा सबै पवित्र जनहरू पनि आउनेछन्
6 अनि त्यस दिनमा यस्तो हुनेछ: उज्यालो हुनेछैन, ताराहरू घटेर जानेछन्; 7 अनि यो एउटा यस्तो दिन हुनेछ, जुन दिन परमप्रभुलाई थाहा हुनेछ: दिन होइन, रात पनि होइन; तर यस्तो हुनेछ: बेलुकीपख उज्यालो हुनेछ। 8 अनि त्यस दिनमा यस्तो हुनेछ: यरूशलेमबाट जिउँदा पानीहरू निस्केर जानेछन्; तिनमा आधाचाहिँ पूर्वी समुद्रतिर, र तिनमा आधाचाहिँ पश्‍चिमी समुद्रतिर जानेछन्; गरम र जाड़ो याममा यस्तै हुनेछ। 9 अनि परमप्रभु सम्पूर्ण पृथ्वीमाथि राजा हुनुहुनेछ; त्यस दिन एउटै परमप्रभु हुनुहुनेछ, र उहाँको एउटै नाम हुनेछ।
10 गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा देश एउटा मैदानमा परिणत हुनेछ; तर बिन्यामिनको मूलढोकादेखि लिएर पहिलो मूलढोकाको ठाउँसम्म अर्थात् कुनाको मूलढोकासम्म, र हननेलको धरहरादेखि राजाका दाखका कोलहरूसम्म यरूशलेम उचालिनेछ, र आफ्नै ठाउँमा बस्‍नेछ। 11 अनि यसमा मानिसहरूले बस्‍नेछन्, र फेरि कहिल्यै कुनै सर्वनाश हुनेछैन; तर यरूशलेम सुरक्षित बस्‍नेछ।
12 अनि जुन महामारीले परमप्रभुले यरूशलेमको विरोधमा लड़ाइँ गर्ने सबै जातिहरूलाई हिर्काउनुहुनेछ, त्यो महामारी यही हुनेछ: तिनीहरू आफ्ना खुट्टाहरूमा उभिरहेकैमा तिनीहरूको मासु कुहुनेछ, तिनीहरूका आँखाहरू तिनका टोड़्काहरूभित्रै कुहुनेछन् र तिनीहरूको जिब्रो तिनीहरूको मुखभित्रै कुहुनेछ।
13 अनि त्यस दिनमा यस्तो हुनेछ: तिनीहरूको बीचमा परमप्रभुबाट एउटा ठूलो हलचल मच्चिनेछ; अनि तिनीहरू हरेकले आफ्नो छिमेकीको हात पक्रनेछन्, र आफ्नो हात आफ्नो छिमेकीको हातको विरोधमा उठ्नेछ। 14 अनि यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ, र वरिपरिका सबै जातिहरूको धनसम्पत्ति जम्मा गरिनेछ: प्रशस्त गरी सुन, चाँदी र वस्त्रहरू। 15 अनि ती छाउनीहरूमा भएका घोड़ा, खच्‍चर, ऊँट, गधा र सबै पशुहरूको महामारी यस्तै, यस महामारीजस्तै हुनेछ।
16 अनि यस्तो हुनेछ: यरूशलेमको विरोधमा आइलाग्‍ने ती सबै जातिहरूबाट बाँकी रहेको हरेक मानिस प्रतिवर्ष सेनाहरूका परमप्रभु राजालाई दण्‍डवत्‌ गर्न र झुपड़ीहरूको चाड़ मनाउन माथि जानेछ। 17 अनि यस्तो हुनेछ: पृथ्वीका परिवार-परिवारबाट जो कोही सेनाहरूका परमप्रभु राजालाई दण्‍डवत्‌ गर्न माथि यरूशलेम जानेछैन, तिनीहरूमाथि पानी पर्नेछैन। 18 अनि मिस्रको परिवार माथि गएन भने, र आएन भने तिनीहरूमाथि पानी पर्नेछैन; महामारी यही हुनेछ, जसद्वारा परमप्रभुले झुपड़ीहरूको चाड़ मनाउन माथि नआउने जातिहरूलाई हिर्काउनुहुनेछ। 19 मिस्रको दण्ड र झुपड़ीहरूको चाड़ मनाउन माथि नजाने सबै जातिहरूको दण्ड यही हुनेछ।
20 त्यस दिन घोड़ाहरूका घण्टीहरूमाथि ‘परमप्रभुका निम्ति पवित्र’ भनी लेखिएको हुनेछ; अनि परमप्रभुको भवनमा भएका भाँड़ाहरू वेदीको सामु भएका बाटाहरूजस्ता पवित्र ठहरिनेछन्। 21 अँ, यरूशलेमको र यहूदाको हरेक भाँड़ा सेनाहरूका परमप्रभुका निम्ति पवित्र ठहरिनेछन्; अनि बलि चढ़ाउनेहरू सबै आएर ती भाँड़ाहरूबाट लिनेछन् र तिनमा पकाउनेछन्; अनि त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा फेरि कहिल्यै कुनै कनानी हुनेछैन।”