पाप धुने धारा खोलिनेछ
13
“त्यस दिनमा दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूका निम्ति पाप र अशुद्धता धुनलाई एउटा धारा खोलिनेछ।
2 सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ: अनि त्यस दिनमा यस्तो हुनेछ: म यस देशबाट मूर्तिहरूका नामहरू नष्‍ट गर्नेछु, र तिनको सम्झना फेरि कहिल्यै गरिनेछैन; अनि ती भविष्यवक्ताहरू र अशुद्ध आत्मालाई पनि म यस देशबाट हटाइदिनेछु।
3 अनि यस्तो हुनेछ: अझै पनि कसैले भविष्यवाणी गर्‍यो भने त्यसलाई जन्माउने त्यसका बुबा र त्यसकी आमाले त्यसलाई भन्‍नेछन्: ‘तँ बाँच्‍नेछैनस्; किनकि तँ परमप्रभुको नाममा झूट बोल्दैछस्!’ अनि जब त्यसले भविष्यवाणी गर्छ, तब त्यसलाई जन्माउने त्यसका बुबा र त्यसकी आमाले त्यसलाई वारपार छेंड़िदिनेछन्।
4 अनि त्यस दिनमा यस्तो हुनेछ: ती भविष्यवक्ताहरूमध्ये हरेक आफूले भविष्यवाणी गरेकोमा, आफ्नो दर्शनमा लज्जित हुनेछ; अनि ठग्‍नलाई तिनीहरूले रौंको खस्रो वस्त्र पहिरनेछैनन्। 5 तर त्यसले भन्‍नेछ: ‘म भविष्यवक्ता होइनँ, म एउटा खेतीवाल हुँ; किनकि मान्छेले मलाई मेरो बालककालदेखि नै पशु पाल्न सिकायो।’ 6 अनि कसैले त्यसलाई भन्‍नेछ: ‘तिम्रा हातहरूमा भएका यी घाउहरू के हुन् त?’ तब त्यसले जवाफ दिनेछ: ‘यी मेरा मित्रहरूको घरमा मलाई लागेका चोटहरू हुन्।’
7 हे तरवार, मेरो गोठालाको विरोधमा र मेरो सङ्गी-साथीको विरोधमा जागिउठ्, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्; अनि म सानाहरूमाथि आफ्नो हात उठाउनेछु 8 अनि यस्तो हुनेछ: सारा देशभरि, यसमा दुई भाग नाश हुनेछन् र मर्नेछन्, तर यसमा तेस्रो भागचाहिँ छोड़िनेछ, परमप्रभु भन्‍नुहुन्छ। 9 अनि त्यो तेस्रो भाग म आगोबाट भएर लैजानेछु, र चाँदी खारिएझैं म तिनीहरूलाई खार्नेछु, अनि सुन जाँचिएझैं म तिनीहरूलाई जाँच्‍नेछु; तिनीहरूले मेरो नाम पुकार्नेछन्, अनि म तिनीहरूको पुकार सुन्‍नेछु; म भन्‍नेछु: ‘यो मेरो प्रजा हो’; अनि तिनीहरूले भन्‍नेछन्: ‘परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ।’ ”