यरूशलेमको विरोधमा आइलाग्‍ने सबै जातिहरू नष्‍ट हुनेछन्
12
“इस्राएलका निम्ति परमप्रभुको वचनको भविष्यवाणी: परमप्रभु भन्‍नुहुन्छ, जसले आकाश फैलाउनुहुन्छ, र पृथ्वीको जग बसाल्नुहुन्छ, अनि मानिसभित्र त्यसको आत्मा रच्‍नुहुन्छ, 2 हेर, म यरूशलेमलाई वरिपरिका सबै जातिका मानिसहरूका निम्ति ढुनमुन्याउने कचौरा तुल्याइदिनेछु, अनि यरूशलेमको विरोधमा घेराबन्दी हुँदा यो यहूदाको विरोधमा पनि हुनेछ। 3 अनि त्यस दिन यस्तो हुनेछ: म यरूशलेमलाई सबै जातिका मानिसहरूका निम्ति एउटा भारी ढुङ्गा तुल्याइदिनेछु; जतिले त्यसलाई उचाल्छन्, ती सबै चिरा-चिरा पारिनेछन्। अनि पृथ्वीका सबै जातिका मानिसहरू त्यसको विरोधमा भेला हुनेछन्। 4 परमप्रभु भन्‍नुहुन्छ, त्यस दिन म हरेक घोड़ालाई घबराहटले, र त्यसको सवारलाई पागलपनाले हिर्काउनेछु; अनि यहूदाको घरानामाथि म आफ्ना आँखाहरू खुला राख्‍नेछु र मानिसहरूको हरेक घोड़ालाई अन्धोपनाले हिर्काउनेछु। 5 अनि सेनाहरूका परमप्रभु तिनीहरूको परमेश्‍वरमा यरूशलेमका बासिन्दाहरू मेरो बल हुनेछन् भनी यहूदाका शासकहरूले आफ्नो मनमा भन्‍नेछन्। 6 त्यस दिन म यहूदाका शासकहरूलाई काठहरूको थाकमा एउटा अँगेठीजस्तो, र अन्‍नका बिटाहरूको बीचमा एउटा बलिरहेको राँकोजस्तो तुल्याइदिनेछु; अनि तिनीहरूले वरिपरिका सबै जातिका मानिसहरूलाई दाहिने हातपट्टि र देब्रे हातपट्टि भस्म पार्नेछन्; अनि यरूशलेम फेरि बसोबास गरिनेछ, त्यसको आफ्नै ठाउँमा, अँ, यरूशलेममै। 7 अनि दाऊदको घरानाको महिमा, र यरूशलेमका बासिन्दाहरूको महिमाचाहिँ यहूदाभन्दा उच्‍च नपारियोस् भनेर परमप्रभुले पहिले यहूदाका वासस्थानहरू बचाउनुहुनेछ। 8 त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्नुहुनेछ; अनि त्यस दिनमा तिनीहरूमध्ये जो कमजोर छ, त्यो दाऊदजस्तो हुनेछ; अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरजस्तो, अँ, तिनीहरूको अघि-अघि जानुहुने परमप्रभुको दूतजस्तो हुनेछ।”
त्यस समयमा इस्राएलीहरूले आफ्ना मुक्तिदातालाई चिन्‍नेछन्
9 “अनि त्यस दिनमा यस्तो हुनेछ: यरूशलेमको विरोधमा आइलाग्‍ने सबै जातिहरूलाई म नष्‍ट पार्न चाहन्छु। 10 अनि म दाऊदको घरानामाथि र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह पाउने र विन्‍तीहरू चढ़ाउने आत्मा खन्याउनेछु; अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले छेंड़ेका थिए; अनि आफ्नो एकमात्र छोराका निम्ति विलाप गरेझैं उहाँका निम्ति विलाप गर्नेछन्, अनि जेठा छोराका निम्ति शोकित भएझैं उहाँका निम्ति शोकित हुनेछन्। 11 त्यस दिन यरूशलेममा एउटा ठूलो विलाप, मगिद्दोको बेंसीमा हदद्-रिम्मोनको विलापजस्तो हुनेछ। 12 अनि यस देशले विलाप गर्नेछ: हरेक घरानाले अलग-अलग अर्थात् दाऊदको घरानाको परिवारले अलग्गै, र तिनीहरूका पत्‍नीहरूले अलग्गै; नातानको घरानाको परिवारले अलग्गै, र तिनीहरूका पत्‍नीहरूले अलग्गै; 13 लेवीको घरानाको परिवारले अलग्गै, र तिनीहरूका पत्‍नीहरूले अलग्गै; शिमीहरूको परिवारले अलग्गै, र तिनीहरूका पत्‍नीहरूले अलग्गै; 14 बाँकी रहेका सबै परिवारहरूमध्ये एक-एक परिवारले अलग-अलग, र तिनीहरूका पत्‍नीहरूले अलग्गै विलाप गर्नेछन्।”