दुई गोठालाहरू
11
“हे लेबानोन, तेरा ढोकाहरू खोल्, र आगोले तेरा देवदारहरू भस्म पारोस्! 2 हे सल्‍लाको रूख, रोइकराइ गर्; किनकि देवदार ढल्यो; किनभने शक्तिशालीहरू नष्‍ट भए; हे बाशानका फलाँटहरूहो, रोइकराइ गर; किनकि घना जङ्गल ढालियो 3 गोठालाहरूको रोइकराइको आवाज छ; किनकि तिनीहरूको महिमा नष्‍ट भयो; जवान सिंहहरूको गर्जनको आवाज छ; किनभने यर्दनको घमण्ड नष्‍ट भयो।
4 परमप्रभु मेरा परमेश्‍वर यसो भन्‍नुहुन्छ: काटिने भेड़ाबाख्राहरू चराऊ! 5 तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन् र आफूलाई दोषी ठान्दैनन्; अनि तिनीहरूलाई बेच्‍नेहरूले भन्छन्: ‘परमप्रभु धन्यको होऊन्; किनकि म धनी भएँ’; अनि तिनीहरूका गोठालाहरूले तिनीहरूलाई टिठाउँदैनन्। 6 किनकि म यस देशका बासिन्दाहरूलाई फेरि टिठाउनेछैनँ, परमप्रभु भन्‍नुहुन्छ; तर हेर, म मानिसहरूमध्ये हरेकलाई त्यसको छिमेकीको हातमा र त्यसको राजाको हातमा सुम्पिदिनेछु; अनि उनीहरूले यस देशलाई कुटेर टुक्रा-टुक्रा पार्नेछन्; अनि म तिनीहरूलाई उनीहरूको हातबाट छुटाउनेछैनँ। 7 अनि म काटिने भेड़ाबाख्राहरू चराउनेछु, हे बगालका दरिद्रहरूहो, विशेष गरी म तिमीहरूलाई चराउनेछु; अनि मैले आफूकहाँ दुईवटा लौरा लिएँ; एउटालाई मैले ‘सुन्दरता’ नाम राखें, अर्काको नाम ‘बन्धनहरू’ राखें; अनि मैले बगाललाई चराएँ। 8 अनि एकै महिनामा मैले तीनजना गोठालाहरूलाई नाश गरें; अनि मेरो प्राणले तिनीहरूलाई अमन गर्‍यो, र तिनीहरूको प्राणले पनि मलाई घृणा गर्‍यो। 9 तब मैले भनें: ‘म तिमीहरूलाई चराउनेछैनँ; जो मर्छ, त्यो मरोस्; अनि जो नष्‍ट हुन लागेको छ, त्यो नष्‍ट होस्; अनि बाँकी रहेकाहरूले एक-अर्काको मासु खाऊन्!’ 10 अनि मैले ‘सुन्दरता’ नामक मेरो लौरो लिएँ र सबै मानिसहरूसित मैले बाँधेको मेरो वाचा तोड़िदिऊँ भनेर त्यसलाई काटेर टुक्रा-टुक्रा पारें। 11 अनि त्यस दिन त्यो भाँचियो; अनि यसरी मेरो बाटो हेर्ने बगालका दरिद्रहरूले यो परमप्रभुको वचन रहेछ भनी जाने। 12 अनि मैले तिनीहरूलाई भनें: ‘तिमीहरूलाई असल लाग्यो भने मलाई मेरो ज्याला देओ! होइन भने छोड़िदेओ!’ तब तिनीहरूले मेरो ज्याला तौले: चाँदीका तीस टुक्रा। 13 अनि परमप्रभुले मलाई भन्‍नुभयो: "त्यो कुम्हालेको सामु फ्याँकिदेऊ – त्यो सानदार दाम, जुन दाम तिनीहरूले मेरा निम्ति तोके!’ अनि मैले ती चाँदीका तीस टुक्रा लिएँ र तिनलाई परमप्रभुको भवनमा कुम्हालेको सामु फ्याँकिदिएँ। 14 तब यहूदा र इस्राएलको बीचको भाइ-भाइको बन्धन तोड़िदिनलाई मैले ‘बन्धनहरू’ नामक मेरो अर्को लौरो काटेर टुक्रा-टुक्रा पारें।”
15 अनि परमप्रभुले मलाई भन्‍नुभयो: “अझै एउटा मूर्ख गोठालाका सरसामानहरू आफूकहाँ लेऊ! 16 किनभने हेर, यस देशमा म एकजना गोठाला खड़ा गर्नेछु, जसले न नष्‍ट हुन लागेकाहरूलाई भेट गर्छ, न सानो बच्‍चाको खोजी गर्छ, न भाँचिएकोलाई निको पार्छ, न भलोचङ्गोलाई चराउँछ; तर त्यसले मोटाको मासु खानेछ र तिनीहरूका खुरहरू च्यातेर टुक्रा-टुक्रा पारिदिनेछ।
17 आफ्नो बगाललाई त्‍याग्‍ने त्यस निकम्मा गोठालालाई धिक्‍कार! त्यसको पाखुरामाथि र त्यसको दाहिने आँखामाथि तरवार पर्नेछ; त्यसको पाखुरा बिलकुलै सुक्नेछ, र त्यसको दाहिने आँखा बिलकुलै अँध्यारो हुनेछ।”