यहूदा र यूसुफको घरानालाई फर्काएर ल्याउने परमप्रभुको प्रतिज्ञा
10
“पछिल्‍लो वर्षाको समयमा तिमीहरू परमप्रभुबाट वर्षा माग! तब परमप्रभुले चम्किला बादलहरू बनाउनुहुनेछ र तिनीहरूलाई वर्षाका झरीहरू, हरेकलाई मैदानमा घाँस दिनुहुनेछ। 2 किनभने गृह-देवताहरूले व्यर्थको कुरा बोलेका छन्, जोखना हेर्नेहरूले झूट देखेका छन् र झूटा सपनाहरू बताएका छन्; उनीहरू व्यर्थमा सान्‍त्‍वना दिन्छन्; यसकारण तिनीहरू भेड़ाबाख्राहरूझैं आफ्नो बाटो लागेका छन्; गोठाला नभएको हुनाले तिनीहरू कष्‍टमा परेका छन्।
3 गोठालाहरूको विरोधमा मेरो रिस दन्क्यो, र मैले बोकाहरूलाई दण्ड दिएँ; किनभने सेनाहरूको परमप्रभुले आफ्नो बगाललाई अर्थात् यहूदाको घरानालाई भेट्नुभएको छ र तिनीहरूलाई लड़ाइँमा आफ्नो प्रतापी घोड़ा तुल्याउनुभएको छ। 4 उसैबाट कुना-ढुङ्गा, उसैबाट कीला, उसैबाट लड़ाइँको धनु, उसैबाट हरेक थिचोमिचो गर्ने एकसाथ निस्कन्छन्। 5 अनि तिनीहरू शूरवीरहरूजस्ता हुनेछन्, जसले आफ्ना शत्रुहरूलाई लड़ाइँमा सड़कहरूको मैलामा कुल्चीमिल्ची पार्नेछन्; अनि तिनीहरूले लड़ाइँ गर्नेछन्, किनभने परमप्रभु तिनीहरूको साथमा हुनुहुन्छ, अनि घोड़ाहरूमाथि चढ़ेका सवारहरू लज्जित हुनेछन्। 6 अनि म यहूदाको घरानालाई बलियो तुल्याउनेछु र यूसुफको घरानालाई बचाउनेछु; अनि म तिनीहरूलाई फर्काएर ल्याउनेछु; किनभने मैले तिनीहरूमाथि कृपा देखाएको छु, अनि तिनीहरू मानौं मैले तिनीहरूलाई कहिल्यै अफालेको थिइनँ जस्ता हुनेछन्; किनकि म परमप्रभु तिनीहरूको परमेश्‍वर हुँ, अनि म तिनीहरूको पुकार सुन्‍नेछु 7 अनि एप्रैमीहरू शूरवीरजस्ता हुनेछन्, र तिनीहरूको हृदय दाखमद्यबाट भएझैं रमाउनेछ; अँ, तिनीहरूका छोराछोरीहरूले यो देख्‍नेछन्, र आनन्दित हुनेछन्; तिनीहरूको हृदयले परमप्रभुमा आनन्द गर्नेछ। 8 सुसेली मारेर म तिनीहरूलाई बोलाउनेछु, र तिनीहरूलाई भेला पार्नेछु; किनभने मैले तिनीहरूलाई दाम तिरेर छुटाएको छु; अनि जसरी तिनीहरू संख्यामा बढ़ेका थिए, त्यसरी नै तिनीहरू संख्यामा बढ्दै जानेछन्। 9 अनि म तिनीहरूलाई जातिहरूको बीचमा छर्नेछु; अनि तिनीहरूले मलाई टाढ़ाका देशहरूमा सम्झना गर्नेछन्; अनि तिनीहरू आफ्ना छोराछोरीहरूसित जीवित रहनेछन्, र फर्केर आउनेछन्। 10 अनि म तिनीहरूलाई मिस्र देशबाट फर्काएर ल्याउनेछु, र अश्शूरबाट भेला पार्नेछु; अनि म तिनीहरूलाई गिलाद देश र लेबानोनमा ल्याउनेछु; अनि तिनीहरूका निम्ति ठाउँ पाइनेछैन। 11 अनि ऊ सङ्कष्‍टरूपी समुद्रबाट पार हुनेछ, र समुद्रमा छालहरूले हानाहान गर्नेछन्, अनि नदीका सबै गहिरा ठाउँहरू सुक्नेछन्; अनि अश्शूरको घमण्ड तल झारिनेछ, र मिस्रको राजदण्ड हट्नेछ। 12 अनि म तिनीहरूलाई परमप्रभुमा बलियो तुल्याउनेछु; अनि उहाँको नाममा तिनीहरूले यताउता हिँड़्डुल गर्नेछन्, परमप्रभु भन्‍नुहुन्छ।”