लेवीसित बाँधिएको बाचा
2
“अनि अब हे पूजाहारीहरूहो, तिमीहरूका निम्ति यो आज्ञा छ: 2 मेरो नामलाई महिमा दिन तिमीहरूले सुनेनौ भने, र यो कुरा मनमा राखेनौ भने, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, म तिमीहरूमाथि श्राप पठाउनेछु र तिमीहरूका आशिष्‌हरूलाई श्राप दिनेछु; अँ, मैले तिनलाई श्राप दिइसकेको पनि छु; किनकि तिमीहरू यो कुरा मनमा राख्दैनौ। 3 हेर, म तिमीहरूको वंशलाई हप्काउनेछु, र तिमीहरूका अनुहारहरूभरि गोबर, अँ, तिमीहरूका चाड़हरूको गोबर लगाइदिनेछु, अनि कसैले तिमीहरूलाई त्योसितै उठाएर लैजानेछ। 4 तब लेवीसित बाँधिएको मेरो वाचा रहिरहोस् भनेर यो आज्ञा मैले तिमीहरूकहाँ पठाएको हुँ भनी तिमीहरूले जान्‍नेछौ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 5 ऊसितको मेरो वाचा जीवन र शान्ति थियो; अनि उसले मेरो डर मानोस् भनेर मैले उसलाई यी कुराहरू दिएँ, अनि उसले मेरो डर मान्थ्यो, र मेरो नामसँग डराउँथ्यो। 6 सत्यताको व्यवस्था उसको मुखमै हुन्थ्यो, र उसका ओठहरूमा अधर्म पाइँदैनथियो; ऊ मसँग शान्ति र इमानदारीसाथ हिँड़्थ्यो, र धेरै जनालाई अधर्मबाट फर्काउँथ्यो। 7 किनकि पूजाहारीका ओठहरूले ज्ञानको रक्षा गर्नुपर्छ, र उसको मुखबाट मानिसहरूले व्यवस्था खोज्‍नुपर्छ; किनभने ऊ सेनाहरूको परमप्रभुको दूत हो। 8 तर तिमीहरू त त्यस मार्गबाट भड़्किएका छौ; तिमीहरूले धेरैलाई व्यवस्थामा ठेस लाग्‍ने तुल्याएका छौ; तिमीहरूले लेवीको वाचा भ्रष्‍ट पारेका छौ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 9 यसैकारण जसरी तिमीहरूले मेरा मार्गहरू पालन गरेका छैनौ, तर व्यवस्थाको सम्बन्धमा पक्षपात गरेका छौ, त्यसरी नै मैले पनि तिमीहरूलाई सबै मानिसहरूको सामु तुच्छ र नीच तुल्याएको छु।”
परमप्रभुले पत्‍नी-त्यागलाई घृणा गर्नुहुन्छ
10 “के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई सृष्‍टि गर्नुभएन र? तब किन हाम्रा पितापुर्खाहरूको वाचा अपवित्र तुल्याएर हामी हरेकले आ-आफ्नो दाजुभाइसँग विश्‍वाससघात गर्छौं? 11 यहूदाले विश्‍वाससघात गरेको छ; अनि इस्राएलमा र यरूशलेममा घृणित काम गरिएको छ; किनभने परमप्रभुले प्रेम गर्नुभएको उहाँको पवित्रस्थानलाई यहूदाले अपवित्र तुल्याएको छ र पराई देवताकी छोरीलाई विवाह गरेको छ। 12 चाहे गुरु होस्, चाहे चेला होस्, यसो गर्ने हरेक मानिसलाई, साथै सेनाहरूको परमप्रभुलाई भेटी चढ़ाउनेलाई परमप्रभुले याकूबका वासस्थानहरूबाट नष्‍ट गर्नुहुनेछ। 13 अनि फेरि यो कुरा पनि तिमीहरूले गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले, रुवाइले र सुस्केराले ढाकिदिन्छौ, यहाँसम्म कि उहाँले त्यस भेटीप्रति अब उसो ध्यान लगाउनुहुन्‍न, न ता तिमीहरूको हातबाट त्यो खुशीसाथ ग्रहण गर्नुहुन्छ। 14 तरैपनि तिमीहरू भन्छौ: ‘यो किन?’ किनभने परमप्रभु तिमी र तिम्रो जवानीकी पत्‍नीको बीचमा साक्षी हुनुभएको छ, जुन पत्‍नीसित तिमीले विश्‍वाससघात गरेका छौ; तर ऊ त तिम्री जीवनसाथी र तिम्रो वाचाकी पत्‍नी हो। 15 के उहाँले एउटैलाई मात्र बनाउनुभएन र, जब कि उहाँसँग आत्माको बाँकी भाग थियो? अनि किन त्यस एउटैलाई मात्र? किनकि उहाँले ईश्‍वरीय सन्तानलाई खोज्‍नुहुन्छ। यसकारण आफ्नो आत्माको विषयमा होशियार होओ, र कसैले आफ्नो जवानीकी पत्‍नीसित विश्‍वाससघात नगरोस्! 16 किनकि परमप्रभु इस्राएलको परमेश्‍वर भन्‍नुहुन्छ: उहाँ पत्‍नी-त्यागलाई घृणा गर्नुहुन्छ; किनकि यस्तो मानिसले आफ्नो वस्त्रले अत्याचारलाई ढाक्दछ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; यसैकारण आफ्नो आत्माको विषयमा होशियार होओ, कि तिमीहरूले विश्‍वासघात नगर!
17 तिमीहरूले आफ्ना वचनहरूले परमप्रभुलाई थकित पारेका छौ; तैपनि तिमीहरू भन्छौ: ‘कुन कुरामा हामीले उहाँलाई थकित पारेका छौं?’ यस कुरामा, जब तिमीहरू भन्छौ: ‘हरेक जसले दुष्‍ट काम गर्दछ, त्यो परमप्रभुको दृष्‍टिमा असल ठहर्दछ; अनि उहाँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्छ’, अथवा ‘न्याय गर्नुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ?’ भन्छौ।”