येशूको दर्शन गर्न आउने ज्योतिषीहरू
2
अब हेरोद राजाको समयमा यहूदियाको बेतलेहेममा येशू जन्मनुभएपछि हेर, पूर्वबाट ज्योतिषीहरू यसो भन्दै यरूशलेममा आए: 2 “यहूदीहरूका राजा, जो जन्मनुभएको छ, कहाँ हुनुहुन्छ? किनभने पूर्वमा हामीले उहाँको तारा देख्यौं, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।” 3 तर जब राजा हेरोदले यी कुराहरू सुने, तब तिनी आत्तिए र तिनीसँग सारा यरूशलेम पनि। 4 अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरी ‘ख्रीष्टको जन्म कहाँ हुनुपर्ने हो?’ भनी तिनीहरूसित सोधपुछ गरे। 5 अनि तिनीहरूले तिनलाई भने: “यहूदियाको बेतलेहेममा; किनकि भविष्यवक्ताद्वारा यस्तो लेखिएको छ: 6 ‘अनि हे बेतलेहेम, यहूदाको मुलुक, तँ कुनै रीतिले यहूदाका शासकहरूमध्ये सबैभन्दा सानो होइनस्; किनकि तँबाट एकजना शासक निस्कनेछन्, जसले मेरो प्रजा इस्राएलको शासनक गर्नेछन्ख।’ ”7 तब हेरोदले ती ज्योतिषीहरूलाई सुटुक्कै बोलाएर त्यो तारा कुन समयमा देखा पर्यो भनी उनीहरूसित यत्नसित सोधपुछ गरे। 8 अनि तिनले उनीहरूलाई बेतलेहेम पठाए र भने: “जाओ, त्यस सानो बालकको विषयमा यत्नसित खोजी गर, अनि जब तिमीहरूले उहाँलाई भेटौला, तब मकहाँ खबर ल्याइदेओ, र म पनि आएर उहाँलाई दण्डवत् गर्न सकूँ।” 9 तब राजाको कुरा सुनेर उनीहरू हिँड़े; अनि हेर, त्यो तारा, जसलाई उनीहरूले पूर्वमा देखेका थिए, ती साना बालक हुनुभएको ठाउँमाथि आएर नअडुन्जेल उनीहरूको अघि-अघि लाग्यो। 10 अनि त्यस तारालाई देखेर उनीहरू अत्यन्तै ठूलो आनन्दले हर्षित भए। 11 अनि त्यस घरभित्र पसेर उनीहरूले ती साना बालकलाई आफ्नी आमा मरियमको साथमा देखे, र भुइँमा घोप्टो परेर उनीहरूले उहाँलाई दण्डवत् गरे; अनि आफ्ना धनका कन्तुरहरू खोलेर उनीहरूले उहाँलाई उपहार चढ़ाए: सुन, लोबानग र गन्धरसघ। 12 अनि सपनामा परमेश्वरबाट ‘हेरोदकहाँ फर्केर नजानू’ भन्ने चेताउनी पाएर उनीहरू अर्कै बाटो भएर आफ्नो देशतिर हिँड़े।
बालक येशू मिस्र देशमा
13 अनि उनीहरू हिँड़िसकेपछि हेर, सपनामा प्रभुका* दूत यसो भन्दै यूसुफकहाँ देखा परे: “उठ, यी साना बालक र उहाँकी आमालाई साथमा लेऊ र मिस्र देशमा भाग, अनि मैले तिमीलाई नभनुन्जेल त्यहीं बस; किनभने यी साना बालकलाई नाश गर्नका निम्ति हेरोदले उहाँलाई खोज्नेछ।” 14 अनि तिनी उठेर राती नै साना बालक र उहाँकी आमालाई साथमा लिए, र मिस्र देशतिर हिँड़े; 15 अनि हेरोदको मृत्यु नहोउन्जेल तिनी त्यहीं बसे; प्रभुले* भविष्यवक्ताद्वारा भन्नुभएको ‘मिस्रबाट मैले आफ्नो पुत्रलाई बोलाएको छु’ङ भन्ने वचन पूरा होस् भनेर।
16 तब ज्योतिषीहरूद्वारा आफ्नो ठट्टा भएको देखेर हेरोद साह्रै रिसाए; अनि तिनले पठाए, र ज्योतिषीहरूसित यत्नसित सोधपुछ गरेको समयअनुसार बेतलेहेम र त्यसको वरिपरिका सबै इलाकाहरूमा भएका दुई वर्षदेखि मुनिका सबै बालकहरूलाई मारे। 17 तब भविष्यवक्ता यर्मियाद्वारा यसो भन्दै बोलिएको वचन पूरा भयो:
18 ‘रामामा एउटा आवाज सुनियो: विलाप, रुवाबासी र ठूलो शोक; राहेल आफ्ना बालकहरूका लागि रोइरहन्छिन् र शान्त हुन चाहँदिनन्, किनकि ती छैनन्च।’
19 तर हेरोद मरेपछि हेर, मिस्रमा प्रभुका* दूत सपनामा यसो भन्दै यूसुफकहाँ देखा परे: 20 “उठ, साना बालक र उहाँकी आमालाई साथमा लेऊ, र इस्राएलको मुलुकमा जाऊ; किनकि साना बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।” 21 तब तिनी उठे, साना बालक र उहाँकी आमालाई साथमा लिएर इस्राएलको मुलुकमा आए। 22 तर यहूदियामा अर्खिलाउसले आफ्ना बुबा हेरोदको सट्टामा राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यहाँ जान डराए; तर सपनामा परमेश्वरबाट चेताउनी पाएर तिनी गालीलका इलाकाहरूतिर लागे; 23 अनि आएर तिनी नासरत भनिने शहरमा बसे; भविष्यवक्ताहरूद्वारा भनिएको ‘उहाँ नासरी भनिनुहुनेछ’ भन्ने वचन पूरा होस् भनेर।