बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवा
मर्कूस १:१-८; लूका ३:१-२०; यूहन्‍ना १:६-८ यूहन्‍ना १:१५-३७
3
ती दिनहरूमा बप्‍तिस्‍मा दिने यूहन्‍ना यहूदियाको उजाड़स्थानमा प्रचार गर्दै र यसो भन्दै आए: 2 “पश्‍चात्ताप गर; किनभने स्वर्गको राज्य नजिकै आएको छ!” 3 किनकि यिनी उनै हुन्, जसको विषयमा भविष्यवक्ता यशैयाद्वारा यसो भनिएको छ:
‘उजाड़स्थानमा कराइरहनेको आवाज: “परमप्रभुको* बाटो तयार पार, उहाँका गोरेटाहरू सीधा बनाओ!” ’
4 अनि यिनै यूहन्‍नाको लाउने लुगा ऊँटको रौंको थियो, र उनको कम्मरमा छालाको पेटी हुन्थ्यो; अनि सलह र वनमहचाहिँ उनको खानेकुरा थियो। 5 तब यरूशलेम, सारा यहूदिया र यर्दन वरिपरिका सम्‍पूर्ण इलाकाका मानिसहरू उनीकहाँ निस्केर गए। 6 अनि आ-आफ्ना पापहरू स्वीकार गर्दै उनीद्वारा यर्दनमा बप्‍तिस्‍मा लिए। 7 तर जब उनले फरिसी र सदुकीहरूमध्ये धेरैजनालाई उनको बप्‍तिस्‍मामा आइरहेका देखे, तब उनले तिनीहरूलाई भने: “हे विषालु साँपका सन्तानहो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? 8 यसकारण पश्‍चात्ताप लायकका फल फलाओ; 9 अनि ‘अब्राहाम हाम्रा पिता हुनुहुन्छ‘ भन्‍नलाई आ-आफ्ना मनमा नसोच; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामका निम्ति सन्तान उत्‍पन्‍न गर्न सक्नुहुन्छ। 10 अनि अहिले पनि रूखहरूको जरामा बन्चरो राखिएको छ; यसकारण असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ। 11 साँच्‍चै, पश्‍चात्तापका निम्ति म तिमीहरूलाई पानीमा बप्‍तिस्‍मा दिन्छु, तर जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैनँ; उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। 12 उहाँको नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला बिलकुलै सफा पार्नुहुनेछ र आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ; तर भुसचाहिँ उहाँले ननिभ्ने आगोले जलाउनुहुनेछ।”
येशू ख्रीष्‍टको बप्‍तिस्‍मा
मर्कूस १:९-११; लूका ३:२१-२२
13 तब येशू गालीलबाट यर्दनमा यूहन्‍नाकहाँ, उनीद्वारा बप्‍तिस्‍मा लिन आउनुभयो। 14 तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोके: “मलाई तपाईंद्वारा बप्‍तिस्‍मा लिन खाँचो छ, अनि तपाईं पो मकहाँ आउनुहुन्छ?” 15 अनि येशूले जवाफ दिँदै उनलाई भन्‍नुभयो: “अहिले यस्तै हुन देऊ; किनभने यसरी नै सबै धार्मिकता पूरा गर्नु हामीलाई उचित छ।” तब उनले उहाँलाई अनुमति दिए। 16 अनि बप्‍तिस्‍मा लिएर येशू तुरुन्तै पानीबाट माथि निस्कनुभयो; अनि हेर, उहाँका निम्ति स्वर्ग खोलियो, अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैं ओर्लंदै गर्नुभएको र आफूमाथि आउँदै गर्नुभएको देख्‍नुभयो। 17 अनि हेर, स्वर्गबाट एउटा वाणी आयो, जसले भन्यो: “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रसन्‍न छु।”