येशू ख्रीष्टको परीक्षा
मर्कूस १:१२-१३; लूका ४:१-१३
4
तब शैतानद्वारा परीक्षा गरिनलाई येशू आत्माद्वारा उजाड़स्थानमा लगिनुभयो। 2 अनि चालीस दिन र चालीस रात उपवास बस्नुभएपछि उहाँ भोकाउनुभयो। 3 अनि परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो: “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने आज्ञा दिनुहोस्, र यी ढुङ्गाहरू रोटी होऊन्।” 4 तर उहाँले जवाफ दिएर भन्नुभयो: “यो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ।’ ”क 5 तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो, र उहाँलाई मन्दिरको टुप्पामा राख्यो, 6 अनि उहाँलाई भन्यो: “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्; किनभने यो लेखिएको छ, ‘उहाँले तपाईंको विषयमा आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि कहीं तपाईंले आफ्नो पाउ ढुङ्गामा बजार्नुहुन्छ कि भनी तिनीहरूले तपाईंलाई आफ्ना हातमा उठाउनेछन्।’ ”ख 7 येशूले त्यसलाई भन्नुभयो: “फेरि यो लेखिएको छ, ‘तिमीले परमप्रभु* आफ्ना परमेश्वरलाई परीक्षा नगर!’ ”ग 8 फेरि शैतानले उहाँलाई एकदमै अग्लो पहाड़माथि लग्यो, र उहाँलाई संसारका सबै राज्यहरू र तिनीहरूका गौरव देखायो, 9 अनि उहाँलाई भन्यो: “भुइँमा घोप्टो परेर तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै थोकहरू म तपाईंलाई दिनेछु।” 10 तब येशूले त्यसलाई भन्नुभयो: “हे शैतान, हटिजा! किनभने यो लेखिएको छ, ‘तिमीले परमप्रभु* आफ्ना परमेश्वरलाई दण्डवत् गर, र उहाँकै मात्र सेवा गर!’ ”घ 11 त्यसपछि शैतानले उहाँलाई छोड्यो; अनि हेर, स्वर्गदूतहरू आए, र तिनीहरूले उहाँको सेवा गरे।12 यूहन्ना झ्यालखानामा हालिए भन्ने कुरा जब येशूले सुन्नुभयो, तब उहाँ गालीलतिर लाग्नुभयो। 13 अनि नासरत छोड़ेर उहाँ कपर्नहुममा आई बस्नुभयो, जुन कपर्नहुमचाहिँ जबूलून र नप्तालीका सिमानाभित्र समुद्रको किनारमा पर्छ, 14 भविष्यवक्ता यशैयाद्वारा बोलिएको यसो भन्ने वचन पूरा होस् भनेर:
15 ‘जबूलूनको मुलुक र नप्तालीको मुलुक, समुद्रको मार्ग, यर्दनपारि, अन्यजातिहरूको गालील; 16 अन्धकारमा बस्ने मानिसहरूले ठूलो ज्योति देखे, अनि मृत्युको देश र छायामा बस्नेहरूका निम्ति ज्योति उदय भएको छ।’ङ
17 त्यस समयदेखि येशूले प्रचार गर्न र भन्न थाल्नुभयो: “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै आएको छ।”
प्रथम चेलाहरूको बोलावट
मर्कूस १:१६-२०; लूका ५:१-११
18 अनि गालील समुद्रको किनारमा हिँड़िरहनुहुँदा येशूले दुई भाइ, पत्रुस भनिने शिमोन र उनका दाजु अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो; किनभने उनीहरू मछुवा थिए। 19 अनि उहाँले उनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” 20 अनि तुरुन्तै उनीहरूले आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे। 21 अनि त्यहाँबाट अघि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइ, जब्दीका छोरा याकूब र उनका भाइ यूहन्नालाई डुङ्गामा आफ्ना बुबा जब्दीसित आफ्ना जालहरू तुनिरहेका देख्नुभयो; अनि उहाँले तिनीहरूलाई बोलाउनुभयो। 22 अनि तुरुन्तै तिनीहरूले त्यो डुङ्गा र आफ्ना बुबालाई छोड़े, र उहाँको पछि लागे। 23 अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। 24 अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र तिनीहरूले किसिम-किसिमका रोग र पीड़ाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षाघात भएकाहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। 25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दनपारिबाट ठूला-ठूला भीड़हरू उहाँको पछि लागे।