पहाड़ी उपदेश (५-७ अध्याय)
लूका ६:२०-४९
5
अनि यी भीड़हरूलाई देखेर उहाँ एउटा पहाड़माथि चढ़्नुभयो; अनि उहाँ बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए। 2 अनि आफ्नो मुख खोलेर यसो भन्दै तिनीहरूलाई शिक्षा दिनुभयो: 3 “आत्मामा गरिब हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै हो। 4 शोक गर्नेहरू धन्य हुन्, किनभने उनीहरूले सान्त्वना पाउनेछन्। 5 नम्र हुनेहरू धन्य हुन्, किनभने उनीहरू पृथ्वीका अधिकारी हुनेछन्। 6 धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने उनीहरू तृप्‍त हुनेछन्। 7 दयालु हुनेहरू धन्य हुन्, किनभने उनीहरूले दया पाउनेछन्। 8 हृदयमा शुद्ध हुनेहरू धन्य हुन्, किनभने उनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्। 9 मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने उनीहरू परमेश्‍वरका छोराहरू भनिनेछन्। 10 धार्मिकताका निम्ति सतावटमा परेकाहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै हो। 11 तिमीहरू धन्य हौ, जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन्, सताउनेछन् र झूट बोली-बोली तिमीहरूको विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन्। 12 रमाओ र अत्यन्तै खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए।”
येशूका चेलाहरूचाहिँ यस संसारको नुन र ज्योति हुन्
मर्कूस ४:२१-२३; लूका ८:१६-१८
13 “तिमीहरू पृथ्वीको नुन हौ; तर नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले नुनिलो पारिनेछ र? त्यसपछि त त्यो बाहिर फालिनु र मानिसहरूद्वारा कुल्ची-मिल्ची पारिनुबाहेक अरू कुनै कामको हुँदैन। 14 तिमीहरू संसारको ज्योति हौ। डाँड़ामाथि बसालिएको शहर लुक्न सक्दैन। 15 न ता मानिसहरूले बत्ती बालेर त्‍यो पाथीमुनि राख्दछन्, तर सामदानमाथि राख्दछन्, र त्यसले घरभित्र हुने सबैजनालाई उज्यालो दिन्छ। 16 त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका असल कामहरू देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”
ख्रीष्‍टले व्यवस्था पूरा गर्नुहुन्छ
17 “मचाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरूलाई रद्द गर्न आएको हुँ भन्‍ने नसम्झ; रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 किनकि म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्‍नेछैन। 19 यसैकारण जसले सबैभन्दा साना यी आज्ञाहरूमध्ये एउटालाई भङ्ग गर्ला र मानिसहरूलाई त्यस्तै सिकाउला, त्योचाहिँ स्वर्गको राज्यमा सबैभन्दा सानो कहलाइनेछ; तर जसले तिनलाई पालन गर्नेछ र सिकाउनेछ, उही नै स्वर्गको राज्यमा महान् कहलाइनेछ। 20 किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकताले शास्त्री र फरिसीहरूको धार्मिकता उछिनेन भने तिमीहरू कुनै हालतमा पनि स्वर्गको राज्यमा पस्‍नेछैनौ।”
मिलापपछि बलिदान
21 “तिमीहरूले सुनेका छौ, पुरानो समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले हत्या नगर, र जसले हत्या गर्ला, त्यो न्यायको योग्य हुनेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु; जो कोही आफ्नो भाइसँग विनाकारण रिसाउँछ, त्यो न्यायको योग्य हुनेछ; अनि जसले आफ्नो भाइलाई ‘निकम्मा’ भन्ला, त्यो महासभाको योग्य हुनेछ; तर जसले ‘हे मूर्ख’ भन्ला, त्यो नरकको आगोको योग्य हुनेछ। 23 यसकारण तिमीले आफ्नो भेटी वेदीमा ल्यायौ भने, र त्यहाँ तिम्रो विरोधमा तिम्रो भाइको केही छ भन्‍ने सम्झना भयो भने, 24 आफ्नो भेटी त्यहीं वेदीको अघिल्तिर छोड़, र जाऊ; पहिले आफ्नो भाइसँग मेलमिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
25 बाटोमा आफ्नो विरोधीसँग हुँदाखेरि नै झट्टै ऊसित मिलाप गरिहाल, नत्र ता कुनै घड़ी विरोधीले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले तिमीलाई अफिसरको हातमा सुम्पिदेलान्, अनि तिमी झ्यालखानाभित्र फालिनुपर्ला। 26 म तिमीलाई साँचो भन्दछु, तिमीले अन्तिम पैसा नतिरेसम्म तिमी त्यहाँबाट कुनै रीतिले निस्कनेछैनौ।”
व्यभिचार र पारपाचुके (वैवाहिक सम्बन्ध-विच्छेद)
27 “तिमीहरूले सुनेका छौ, पुरानो समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले व्यभिचार नगर!’ 28 तर म तिमीहरूलाई भन्दछु, जसकसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ, त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। 29 अनि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालेर आफूदेखि फालिदेऊ; किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा तिम्रा अङ्गहरूमध्ये एउटा नष्‍ट हुनु नै तिम्रा निम्ति लाभदायक हुन्छ। 30 अनि तिम्रो दाहिने हातले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटेर आफूदेखि फालिदेऊ; किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा तिम्रा अङ्गहरूमध्ये एउटा नष्‍ट हुनु नै तिम्रा निम्ति लाभदायक हुन्छ।
31 यसो पनि भनिएको छ, ‘जसले आफ्नी स्‍वास्‍नीलाई त्याग्ला, त्यसले उसलाई एउटा त्याग-पत्र देओस्।’ 32 तर म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारबाहेक अरू कुनै कारणले आफ्नी स्‍वास्‍नीलाई त्याग्ला, त्यसले उसलाई व्यभिचार गर्न लगाउँछ; अनि जसले त्यागिएकीलाई विवाह गर्ला, त्यसले व्यभिचार गर्छ।
33 फेरि तिमीहरूले सुनेका छौ, पुरानो समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले झूटो शपथ नखाऊ, तर प्रभुका* निम्ति आफ्ना शपथ पूरा गर।’ 34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न ता स्वर्गको नाममा, किनकि त्यो परमेश्‍वरको सिंहासन हो; 35 न ता पृथ्वीको नाममा, किनकि यो उहाँको पाउदान हो; न ता यरूशलेमको नाममा, किनकि यो महाराजाको शहर हो। 36 न ता तिमीले आफ्नो शिरकै नाममा शपथ खाऊ, किनकि तिमीले एउटा केशधरि सेतो वा कालो बनाउन सक्दैनौ। 37 तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’, ‘होइन’ चाहिँ ‘होइन’ रहोस्; किनकि यीभन्दा बढ़्‍ता जे पनि दुष्‍टबाटकै हो।
38 तिमीहरूले सुनेका छौ, यो भनिएको छ, ‘आँखाको बदला आँखा र दाँतको बदला दाँत।’ 39 तर म तिमीहरूलाई भन्दछु, दुष्‍टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड़ लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेऊ। 40 अनि कसैले तिम्रो विरोधमा मुद्दा चलाएर तिम्रो दौरा लैजान चाहन्छ भने त्यसलाई तिम्रो कोट पनि लैजान देऊ। 41 अनि जसकसैले तिमीलाई एक माइल जान कर लाउला, त्यससँग दुई माइल नै गइदेऊ। 42 जसले तिमीसित माग्छ, त्यसलाई देऊ; अनि जसले तिमीसँग सापट लिन चाहन्छ, त्यसपट्टि पिठ्यूँ नफर्काऊ।”
शत्रुलाई प्रेम गर!
लूका ६:२७-३६
43 “तिमीहरूले सुनेका छौ, यो भनिएको छ, ‘तिमीले आफ्नो छिमेकीलाई प्रेम गर, र आफ्नो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्नेहरू र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, 45 र तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान हुनेछौ; किनभने उहाँले दुष्‍ट र असल दुवैमाथि आफ्नो सूर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी बर्साउनुहुन्छ। 46 किनकि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ र? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? 47 अनि तिमीहरू आफ्नै दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने तिमीहरूले अरूले भन्दा के बढ़ी गर्दछौ र? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? 48 यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध होओ!”