गुप्त दान र गुप्त प्रार्थना
6
“होशियार रहो, मानिसहरूले देखून् भनेर तिनीहरूको सामु तिमीहरूको दान नगर; नत्र स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउँदैनौ। 2 यसकारण जब तिमी दान गर्दछौ, तब आफ्नो अघिल्तिर तुरही नबजाऊ, जसरी कपटीहरूले सभाघर र सड़कहरूहुँदो मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। 3 तर जब तिमी दान गर्दछौ, तब तिम्रो दाहिने हातले के गर्दछ, सो तिम्रो देब्रे हातले थाहा नपाओस्। 4 तिम्रो दान गुप्तमा गरियोस्, र गुप्तमा देख्नुहुने तिम्रा पिता आफैले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ। 5 अनि जब तिमी प्रार्थना गर्दछौ, तब तिमी कपटीहरूजस्तो नहोऊ; किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनाहरूमा, मानिसहरूले देखून् भनेर उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। 6 तर तिमी, जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर गुप्तमा हुनुहुने आफ्ना पितालाई प्रार्थना गर; अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ। 7 तर जब तिमीहरू प्रार्थना गर्दछौ, तब अन्यजातिहरूले जस्तै व्यर्थमा नबरबराओ; किनकि बेसी बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू सोच्दछन्। 8 यसकारण तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले उहाँलाई माग्नुभन्दा पहिल्यै, तिमीहरूलाई के-के खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। 9 यसकारण तिमीहरूले यस प्रकारले प्रार्थना गर:
‘हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईंको नाम पवित्र गरियोस्। 10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा होस्। 11 आज हामीलाई हाम्रो दिनहुँको रोटी दिनुहोस्। 12 अनि हाम्रा ऋणहरू हामीलाई क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना ऋणीहरूलाई क्षमा गर्दछौं। 13 अनि हामीलाई परीक्षामा नलैजानुहोस्, तर हामीलाई दुष्टबाट छुटाउनुहोस्; किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन!’
14 किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूका अपराधहरू क्षमा गर्यौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 तर तिमीहरूले मानिसहरूलाई तिनीहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”
साँचो उपवास गुप्तमा गरिन्छ
16 “अनि जब तिमीहरू उपवास बस्दछौ, तब कपटीहरूजस्तै उदास चेहरा भएको नहोओ, किनकि मानिसहरूकहाँ उपवास बसेका देखा परौं भनेर तिनीहरूले आफ्ना मुख बिगार्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। 17 तर तिमीले चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ, 18 र उपवास बसेका छौ भनी मानिसहरूकहाँ होइन, तर गुप्तमा हुनुहुने आफ्ना पिताकहाँ देखा पर; अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ।”
स्वर्गमा धन थुपार!
19 “आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्; 20 तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपार, जहाँ न कीराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्। 21 किनभने जहाँ तिमीहरूको सम्पत्ति हुन्छ, त्यहीं तिमीहरूको हृदय पनि हुनेछ। 22 शरीरको बत्ती आँखा हो; यसकारण तिम्रो आँखा चोखोक छ भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुनेछ। 23 तर तिम्रो आँखा खराब छ भने तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यसकारण तिमीमा भएको उज्यालोधरि अँध्यारो हुन्छ भने त्यो अँध्यारो कति ठूलो होला!
24 कसैले पनि दुईजना मालिकहरूको सेवा गर्न सक्दैन; किनकि कि त उसले एकजनालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा ऊ एकजनासँग टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
फिक्रीबाट छुटकारा पाऊ!
25 “यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाऔंला वा के पिऔंला भनी आफ्ना प्राणका लागि, साथै के पहिरौंला भनी आफ्ना शरीरका लागि फिक्री नगर। के प्राण भोजनभन्दा र शरीर लुगाफाटाभन्दा बढ़ी होइन र? 26 आकाशका चराचुरुङ्गीहरूलाई हेर; किनकि ती न ता बीउ छर्दछन्, न कटनी गर्दछन्, न ढुकुटीहरूमा बटुल्दछन्; तर पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। त के तिमीहरू तीभन्दा धेरै मूल्यवान् होइनौ र? 27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो उचाइमा एक हात थप्न सक्छ र? 28 अनि लुगाफाटाका लागि तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई विचार गर, ती कसरी बढ़्दछन्; ती न ता परिश्रम गर्दछन्, न धागो कात्दछन्; 29 तर पनि म तिमीहरूलाई भन्दछु, सुलेमानले पनि आफ्नो सम्पूर्ण महिमामा तीमध्ये एउटाले जस्तो वस्त्र पहिरेका थिएनन्। 30 यसकारण परमेश्वरले मैदानको घाँसलाई, जुन घाँस आज छ र भोलि चुलामा फालिन्छ, यसरी पहिराउनुहुन्छ भने हे अल्पविश्वासीहरूहो, के उहाँले तिमीहरूलाई झन् बढ़्ता गरी पहिराउनुहुन्न र? 31 यसकारण ‘हामी के खाऔंला? हामी के पिऔंला? वा हामी के पहिरौंला?’ भन्दै तिमीहरू फिक्री नगर। 32 किनकि अन्यजातिहरूले यी सबै थोकहरूको खोजी गर्दछन्; किनकि तिमीहरूलाई यी सबै थोकहरूको खाँचो छ भनी तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ। 33 तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। 34 यसकारण भोलिका निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नै थोकहरूका निम्ति फिक्री गर्नेछ। आजको खराबी आजका निम्ति प्रशस्त छ।”