बेठीक आलोचना नगर!
लूका ६:३७-४२
7
“न्याय नगर, र तिमीहरूको न्याय नगरियोस्। 2 किनभने जुन न्यायले तिमीहरू न्याय गर्दछौ, त्यसरी तिमीहरूको पनि न्याय गरिनेछ; र जुन नापले तिमीहरू नाप्दछौ, त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ। 3 अनि तिम्रो भाइको आँखामा भएको छेस्को तिमी किन हेर्दछौ, तर आफ्नै आँखामा भएको मुढ़ाचाहिँ थाहा पाउँदैनौ? 4 अथवा कसरी तिमी आफ्नो भाइलाई, ‘खै, मलाई तिम्रो आँखाबाट त्यो छेस्को निकाल्न देऊ’ भनी भन्छौ? हेर त तिम्रो आफ्नै आँखामा मुढ़ा छ। 5 हे कपटी, पहिले तिम्रो आफ्नै आँखाबाट मुढ़ा निकाल, त्यसपछि आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।6 जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ, न ता तिमीहरूले आफ्ना मोतीहरू नै सुँगुरहरूको अघि छर; नत्र तिनीहरूले आफ्ना खुट्टाले तिनलाई कुल्ची-मिल्ची पार्लान्, र फर्केर तिमीहरूलाई च्यातचुत पार्लान्।”
प्रार्थना गर्ने प्रोत्साहन
लूका ११:६-१३
7 “माग, र तिमीहरूलाई दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति खोलिनेछ। 8 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; अनि जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले ढकढक्याउँछ, त्यसका निम्ति खोलिनेछ। 9 अथवा तिमीहरूको बीचमा को मानिस होला, जसलाई आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला? 10 अथवा उसले माछा माग्दा उसलाई साँप देला? 11 यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल उपहारहरू दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले आफूसित माग्नेहरूलाई झन् कति बढ़्ता गरी असल कुराहरू दिनुहुन्छ होला त? 12 यसकारण सबै कुराहरूमा मानिसहरूले तिमीहरूसित जेजस्तो गरेका चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसित त्यस्तै गर; किनकि यही नै व्यवस्था र भविष्यवक्ताहरूको शिक्षा हो।
13 साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ, र बाटोचाहिँ चौड़ा हुन्छ; अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। 14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ; अनि यो भेट्टाउने थोरै हुन्छन्।”
झूटा शिक्षकहरूका लक्षणहरू
लूका ६:४३-४५
15 “झूटा भविष्यवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ तिनीहरू लुटाहा ब्वाँसा हुन्छन्। 16 तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँड़ाहरूबाट अङ्गुर वा सिउँड़ीहरूबाट नेभारा बटुल्दछन् र? 17 यही प्रकारले हरेक असल रूखले असल फल फलाउँछ, तर बिग्रेको रूखले खराब फल फलाउँछ। 18 असल रूखले खराब फल फलाउन सक्दैन, न ता बिग्रेको रूखले असल फल फलाउन सक्दछ। 19 असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ। 20 यसकारण निश्चय नै तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।
21 मलाई ‘हे प्रभु, हे प्रभु’ भन्ने हरेक स्वर्गको राज्यमा पस्नेछैन, तर त्यो पस्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ। 22 त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाममा भविष्यवाणी गरेनौं र? अनि के हामीले तपाईंकै नाममा दुष्ट आत्माहरू निकालेनौं र? अनि के हामीले तपाईंकै नाममा अनेकौं अचम्मका कामहरू गरेनौं र?’ 23 अनि तब म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ; हे कुकर्म गर्नेहरूहो, मदेखि टाढ़ा होओ!’ ”
दुईवटा जग र दुईवटा घर
लूका ६:४७-४९
24 “यसकारण हरेक जसले मेरा यी वचनहरू सुन्दछ र तिनलाई पालन गर्दछ, उसलाई म एउटा बुद्धिमान् मानिससित तुलना गर्दछु, जसले आफ्नो घर चट्टानमाथि बनायो। 25 अनि पानी बर्स्यो, अनि बाढ़ीहरू आए, आँधीहरू चले, र त्यस घरमाथि बजारिए, तर त्यो ढलेन; किनकि त्यो चट्टानमाथि बसालिएको थियो। 26 अनि हरेक मानिस, जसले मेरा यी वचनहरू सुन्दछ, तर तिनलाई पालन गर्दैन, त्योचाहिँ एउटा मूर्ख मानिससित तुलना गरिनेछ, जसले आफ्नो घर बालुवामाथि बनायो; 27 अनि पानी बर्स्यो, अनि बाढ़ीहरू आए, आँधीहरू चले, र त्यस घरमाथि बजारिए, र त्यो ढल्यो; अनि त्यसको पतन ठूलो भयो।”