एकजना कोरी शुद्ध पारियो
मर्कूस १:४०-४५; लूका ५:१२-१४
8
जब उहाँ यस पहाड़बाट ओर्लनुभयो, तब ठूला-ठूला भीड़हरू उहाँको पछि लागे। 2 अनि हेर, एकजना कोरी आयो, र यसो भन्दै उसले उहाँलाई दण्डवत् गर्‍यो: “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 3 अनि येशूले आफ्नो हात पसारेर यसो भन्दै उसलाई छुनुभयो: “म इच्छा गर्दछु, तिमी शुद्ध होऊ!” अनि तुरुन्तै उसको कोर शुद्ध भइहाल्यो। 4 अनि येशूले उसलाई भन्‍नुभयो: “हेर, कसैलाई नभन्‍नू, तर जाऊ, आफूलाई पूजाहारीकहाँ देखाऊ; अनि तिनीहरूका लागि साक्षी हुनलाई मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ।”
सुबेदारको नोकर निको पारियो
लूका ७:१-१०
5 अनि येशू कपर्नहुमभित्र पस्‍नुभएपछि एकजना सुबेदारले उहाँकहाँ आई उहाँलाई विन्ती गर्दै भने: 6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै पीड़ित भएर घरमा पस्रिरहेको छ।” 7 अनि येशूले उनलाई भन्‍नुभयो: “म आएर त्यसलाई निको पार्नेछु।” 8 तब यी सुबेदारले जवाफ दिएर भने: “हे प्रभु, तपाईं मेरो छानामुनि आउने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। 9 किनभने म पनि अधिकारमुनि रहने मानिस हुँ, मेरो अधीनमा पनि सिपाहीहरू छन्; अनि म एकजनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ; र अर्कोलाई ‘आइज’, अनि त्यो आउँछ; र मेरो दासलाई ‘यो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।” 10 जब येशूले यो सुन्‍नुभयो, तब उहाँ छक्‍क पर्नुभयो, र आफ्नो पछि-पछि आउनेहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले यति ठूलो विश्‍वास पाएको छैनँ। 11 अनि म तिमीहरूलाई भन्दछु, धेरैजना पूर्व र पश्‍चिमबाट आउनेछन् अनि अब्राहाम, इसहाक र याकूबसँग स्वर्गको राज्यमा बस्‍नेछन्। 12 तर राज्यका सन्तानचाहिँ बाहिरको अँध्यारोमा फालिनेछन्; त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्।” 13 अनि येशूले यी सुबेदारलाई भन्‍नुभयो: “जाऊ, र जस्तो तिमीले विश्‍वास गरेका छौ, त्यस्तै तिम्रा लागि गरियोस्।” अनि उनको नोकर त्यही घड़ी निको भयो।
पत्रुसकी सासूलाई निको पारियो
मर्कूस १:२९-३४; लूका ४:३८-४१
14 अनि पत्रुसको घरमा आएर येशूले उनकी सासूलाई पस्रिरहेकी र ज्वरोले बिरामी भएकी देख्‍नुभयो। 15 अनि उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोड़िहाल्यो; अनि तिनी उठिन्, र तिनले उहाँहरूको सेवा गरिन्। 16 अब साँझ परेपछि तिनीहरूले दुष्‍ट आत्माहरू लागेका धेरैजनालाई उहाँकहाँ ल्याए; अनि उहाँले आफ्नो वचनले ती आत्माहरू निकाल्नुभयो, र जति बिरामी थिए, ती सबैलाई निको पार्नुभयो; 17 भविष्यवक्ता यशैयाद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर:
‘उहाँ आफैले हाम्रा दुर्बलताहरू उठाउनुभयो र हाम्रा रोगहरू बोक्नुभयो।’
भावी चेलाहरूको जाँच
लूका ९:५७-६२
18 अब येशूले आफ्नो चारैतिर ठूला-ठूला भीड़हरूलाई देखेर उहाँले पारिपट्टि जाने आज्ञा दिनुभयो। 19 अनि कुनै एकजना शास्त्रीले नजिक आएर उहाँलाई भने: “हे गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, त्यहाँ-त्यहाँ म तपाईंको पछि-पछि लाग्‍नेछु।” 20 अनि येशूले तिनलाई भन्‍नुभयो: “स्यालहरूका ओड़ार र आकाशका चराहरूका गुँड़ छन्, तर मानिसका पुत्रको शिर राख्‍ने ठाउँधरि छैन।” 21 अनि उहाँका चेलाहरूमध्ये अर्को एकजनाले उहाँलाई भने: “हे प्रभु, पहिले मलाई जाने र मेरा बुबालाई गाड्‍ने अनुमति दिनुहोस्।” 22 तर येशूले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग, र मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड्‍न देऊ।”
प्रभु येशूले आँधी शान्त पार्नुभयो
मर्कूस ४:३६-४१; लूका ८:२२-२५
23 अनि उहाँ डुङ्गामा चढ़्नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। 24 अनि हेर, समुद्रमा एउटा ठूलो आँधी चल्यो, यहाँसम्म कि डुङ्गा छालहरूद्वारा छोपियो; तर उहाँचाहिँ निदाउनुभएको थियो। 25 अनि उहाँकहाँ आएर उहाँका चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए: “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी नष्‍ट भइरहेछौं।” 26 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हे अल्पविश्‍वासीहरूहो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, अनि उहाँले बतासहरू र समुद्रलाई हपार्नुभयो, र एकदमै शान्त भयो। 27 तर ती मानिसहरू यसो भन्दै छक्‍क परे: “यहाँ त कस्ता किसिमका मानिस हुनुहुँदो रहेछ? बतासहरू र समुद्रले पनि यहाँको आज्ञा पालन गर्दा रहेछन्!”
दुष्‍ट आत्माहरूको फौज निकालियो
मर्कूस ५:१-२१; लूका ८:२६-४०
28 अनि जब उहाँ पारिपट्टि गेर्गेसिनीहरूको मुलुकमा आइपुग्‍नुभयो, तब दुईजना दुष्‍ट आत्मा लागेका मानिसहरूले चिहानहरूबाट निस्केर उहाँलाई भेटे; ती साह्रै डरलाग्दा थिए, यहाँसम्म कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो। 29 अनि हेर, तिनीहरू यसो भन्दै कराए: “हे येशू, परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के काम छ र? के तपाईं समयभन्दा पहिले नै हामीलाई पीड़ा दिन यहाँ आउनुभएको हो?” 30 अनि तिनीहरूदेखि निकै टाढ़ामा धेरै सुँगुरहरूको एउटा बगाल चरिरहेको थियो। 31 यसकारण ती दुष्‍ट आत्माहरूले यसो भन्दै उहाँलाई विन्ती गरे: “तपाईंले हामीलाई निकाल्नुभयो भने हामीलाई त्यस सुँगुरको बगालभित्र जाने अनुमति दिनुहोस्!” 32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ!” अनि तिनीहरू निस्केर त्यस सुँगुरको बगालभित्र पसे; अनि हेर, सुँगुरको त्‍यो सारा बगाल डरलाग्दो प्रकारले ओरालै-ओरालो दगुरेर समुद्रभित्र पस्यो र पानीभित्र नष्‍ट भयो। 33 अनि तिनलाई चराउनेहरू भागे, र शहरमा गएर सबै कुराहरू, साथै ती दुष्‍ट आत्मा लागेकाहरूलाई के भयो, सो सुनाए। 34 अनि हेर, सम्पूर्ण शहर येशूलाई भेट्न निस्क्यो, र उहाँलाई भेटेपछि तिनीहरूले उहाँलाई ‘हाम्रा इलाकाहरूबाट गइदिनुहोस्’ भनी विन्ती गरे।