प्रभु येशूले पक्षाघातको रोगीलाई निको पार्नुभयो
मर्कूस २:३-१२; लूका ५:१८-२६
9
अनि उहाँ डुङ्गामा पसेर वारि तर्नुभयो, र आफ्नो शहरमा आउनुभयो। 2 अनि हेर, तिनीहरूले ओछ्यानमा पस्रिरहेको एकजना पक्षाघातको रोग लागेको मानिसलाई उहाँकहाँ ल्याए; अनि तिनीहरूको विश्‍वास देखेर येशूले त्यस पक्षाघातको बिरामीलाई भन्‍नुभयो: “छोरा, साहस गर; तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्।” 3 अनि हेर, शास्त्रीहरूमध्ये कतिले मन-मनैमा भने: “यस मानिसले ईश्‍वरनिन्दा गर्दछ।” 4 अनि येशूले तिनीहरूका विचारहरू बुझेर भन्‍नुभयो: “तिमीहरू आफ्ना हृदयमा किन खराब विचार गर्दछौ? 5 किनकि कुनचाहिँ सजिलो छ: ‘तिम्रा पापहरू तिमीलाई क्षमा भए’ भन्‍नु कि ‘उठ र हिँड़’ भन्‍नु? 6 तर मानिसका पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान!” त्यसपछि उहाँले त्यस पक्षाघात भएको बिरामीलाई भन्‍नुभयो: “उठ, तिम्रो ओछ्यान बोक र आफ्नो घर जाऊ।” 7 अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। 8 तर जब भीड़हरूले यो देखे, तब तिनीहरू छक्‍कै परे, अनि मानिसहरूलाई यस्तो सामर्थ्य दिनुहुने परमेश्‍वरको महिमा गरे।
मत्तीको बोलावट र तिनको घरमा लगाइएको भोज
मर्कूस २:१४-२०; लूका ५:२७-३५
9 अनि त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले महसूल उठाउने ठाउँमा मत्ती नाम भएका एकजना मानिसलाई बसिरहेका देख्‍नुभयो; अनि उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” र तिनी उठे, र उहाँको पछि लागे। 10 अनि यस्तो भयो: येशू घरमा खानका निम्ति बस्‍नुहुँदा हेर, धेरै महसूल उठाउने र पापीहरू आएर उहाँ र उहाँका चेलाहरूसँग बसे। 11 अनि यो देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई भने: “तिमीहरूका गुरु किन महसूल उठाउने र पापीहरूसँग खान्छन्?” 12 तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्‍नुभयो: “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ। 13 तर तिमीहरू जाओ, र यसको अर्थ के रहेछ, सो सिक: म दया चाहन्छु, बलिदान होइन;किनकि म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापका निम्ति बोलाउन आएको हुँ।”
पुरानो वस्त्र र पुरानो छालाको थैली
मर्कूस २:१८-२२; लूका ५:३३-३९
14 तब यूहन्‍नाका चेलाहरू यसो भन्दै उहाँकहाँ आए: “हामीहरू र फरिसीहरू किन घरीघरी उपवास बस्दछौं, तर तपाईंका चेलाहरूचाहिँ उपवास बस्दैनन्?” 15 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “जबसम्म दुलहा उनीहरूको साथमा छन्, तबसम्म के दुलहाका साथीहरूले विलाप गर्न सक्छन् र? तर दिनहरू आउनेछन्, जब दुलहा उनीहरूकहाँबाट लगिनेछन्, तब उनीहरू उपवास बस्‍नेछन्। 16 कुनै मानिसले पनि पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन; किनकि त्यस टालोले वस्त्रलाई खिँच्दछ, र फटाइ झन् खराब पारिन्छ। 17 न ता मानिसहरूले पुराना मशकहरूमा नयाँ दाखमद्य हाल्छन्, नत्र ती मशकहरू फुट्छन्, र दाखमद्य पोखिन्छ, अनि मशकहरू नष्‍ट हुन्छन्; तर तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकहरूमा हाल्छन्, र दुवै जोगिन्छन्।”
याइरसकी छोरी र रगत बहने स्त्री
मर्कूस ५:२१-४३; लूका ८:४०-५६
18 उहाँले यी कुराहरू तिनीहरूलाई भन्दै गर्नुहुँदा हेर, एकजना शासक आएर यसो भन्दै उहाँलाई दण्डवत् गरे: “मेरी छोरी भर्खरै मरी, तर हजुर आएर आफ्नो हात उसमाथि राखिदिनुहोस्, र ऊ बाँच्‍नेछे।” 19 अनि येशू उठेर तिनको पछि लाग्‍नुभयो, र उहाँका चेलाहरू पनि।
20 अनि हेर, बाह्र वर्षदेखि रगत बहने रोग लागेकी एउटी स्त्रीले उहाँको पछिल्तिर आएर उहाँको वस्त्रको किनार छोई; 21 किनकि उसले मन-मनमा भन्थी: “मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” 22 तर येशू पछिल्तिर फर्किनुभयो, र उसलाई देखेर उहाँले भन्‍नुभयो: “छोरी, साहस गर! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यही घड़ीदेखि निको भई।
23 अनि जब येशू ती शासकको घरमा आइपुग्‍नुभयो, अनि बाँसुरी बजाउनेहरू र मानिसहरूलाई खैलाबैला गरिरहेका देख्‍नुभयो, 24 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हट, किनकि ठिटी मरेकी छैन, तर निदाएकी छे।” अनि तिनीहरूले उहाँलाई खिसी गरेर हाँसिदिए। 25 तर त्यस भीड़लाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो, र उहाँले उसको हात समात्नुभयो, र त्यो ठिटी उठी। 26 अनि यस कुराको कीर्ति त्यस मुलुकभरि फैलियो।
दुईजना अन्धाहरू र एकजना दुष्‍ट आत्मा लागेको मानिस
27 अनि येशू त्यहाँबाट जाँदै गर्नुहुँदा दुई अन्धा मानिसहरू कराउँदै र यसो भन्दै उहाँको पछि लागे: “हे दाऊदका पुत्र, हामीमाथि दया राख्‍नुहोस्।” 28 अनि उहाँ घरभित्र आउनुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए; अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने: “ज्यू, प्रभु!” 29 तब उहाँले यसो भन्दै तिनीहरूका आँखाहरू छुनुभयो: “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्!” 30 अनि तिनीहरूका आँखाहरू खोलिए; अनि येशूले यसो भन्दै तिनीहरूलाई कड़ा आज्ञा गर्नुभयो: “हेर, यो कुरा कसैले थाहा नपाओस्!” 31 तर गएपछि तिनीहरूले उहाँको कीर्ति त्यस मुलुकभरि फिँजाए।
32 उहाँहरू निस्केर जाँदै गर्नुहुँदा हेर, तिनीहरूले उहाँकहाँ दुष्‍ट आत्मा लागेको एकजना गुँगो मानिसलाई ल्याए। 33 अनि त्‍यो दुष्‍ट आत्मा निकालिएपछि यो गुँगो बोल्यो; अनि भीड़हरू यसो भन्दै छक्‍क परे: “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन!” 34 तर फरिसीहरूले भने: “यसले त दुष्‍ट आत्माको शासकद्वारा दुष्‍ट आत्माहरू निकाल्छ।” 35 अनि येशू सबै शहर र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएको हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्दै घुम्‍नुभयो।
प्रभु येशू भीड़हरूमाथि टिठाउनुहुन्छ
36 तर भीड़हरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेड़ाहरूजस्‍तै क्लान्त भएका र तितरबितर पारिएका थिए। 37 तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “साँच्‍चै फसल प्रशस्तै छ, तर खेतालाहरू थोरै छन्। 38 यसकारण तिमीहरूले फसलका प्रभुलाई, उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी प्रार्थना गर।”