बाह्रजना प्रेरितहरू प्रचार गर्न पठाइए
मर्कूस ३:१३-१९; लूका ६:१२-१९
10
अनि आफ्ना बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि, तिनलाई निकाल्ने, अनि हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो। 2 अब ती बाह्रजना प्रेरितहरूका नाम यी हुन्: पहिलो शिमोन, जो पत्रुस भनिन्छन्, र उनका दाजु अन्द्रियास; जब्दीका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना; 3 फिलिप र बार्थोलोमाइ; थोमा र महसूल उठाउने मत्ती; अल्फयसका छोरा याकूब र थद्देयस उपनाम भएका लेब्बेयस; 4 शिमोन कनानी र यहूदा इस्करयोती, जसले उहाँलाई पक्रायो पनि। 5 ती बाह्रजनालाई येशूले यसो भन्दै आज्ञा दिएर पठाउनुभयो: “अन्यजातिहरूको बाटोमा नजाओ, र सामरीहरूको कुनै शहरभित्र नपस। 6 तर बरु इस्राएलको घरानाका हराएका भेड़ाहरूकहाँ जाओ। 7 अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’ 8 बिरामीहरूलाई निको पार, कोरीहरूलाई शुद्ध पार, मरेकाहरूलाई बिउँताओ, दुष्‍ट आत्माहरू निकाल; तिमीहरूले सित्तैंमा पाएका छौ, सितैंमा देओ। 9 आफ्ना पटुकाहरूमा न ता सुन बोक, न चाँदी, न तामा; 10 न ता यात्राका निम्ति झोला, न दुईवटा दौरा, न जुत्ताहरू, न लौराहरू नै बोक; किनकि खेताला आफ्नो भोजनको योग्य हुन्छ।
11 अनि जुनसुकै शहर वा गाउँमा तिमीहरू पसौला, त्यस ठाउँमा को योग्यको छ भनी सोधपुछ गर; अनि तिमीहरू त्यहाँबाट नजाउन्जेल त्यहीं बस। 12 अनि जब तिमीहरू कुनै घरभित्र पस्दछौ, त्यसलाई अभिवादन गर। 13 अनि त्यो घर साँच्‍ची नै योग्यको छ भने तिमीहरूको शान्ति त्यसमाथि आओस्, तर त्यो योग्यको छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्कोस्। 14 अनि जसले तिमीहरूलाई ग्रहण नगर्ला, र तिमीहरूका वचनहरू नसुन्ला, तिमीहरू त्यस घर वा शहरबाट निस्कँदाखेरि तिमीहरूका पाउको धूलो टकटक्याइराख। 15 म तिमीहरूलाई साँचो भन्दछु, न्यायको दिनमा सदोम र गमोराको देशको दशाचाहिँ त्यस शहरको भन्दा बढ़ी सहन सक्ने हुनेछ।
16 हेर, म तिमीहरूलाई भेड़ाझैं ब्वाँसाहरूको बीचमा पठाउँछु; यसकारण तिमीहरू साँपहरूजस्तै चतुर र ढुकुरहरूजस्तै सोझा होओ। 17 तर मानिसहरूसँग होशियार होओ; किनकि तिनीहरूले तिमीहरूलाई महासभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्। 18 अनि मेरो कारणले तिमीहरू शासकहरू र राजाहरूको सामु, तिनीहरू र अन्यजातिहरूका निम्ति साक्षी हुनलाई ल्याइनेछौ। 19 तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदेलान्, तब कसरी वा के बोल्नुपर्ने हो भनी फिक्री नगर; किनकि जे तिमीहरूले बोल्नुपर्दछ, सो कुरा त्यही घड़ी तिमीहरूलाई दिइनेछ। 20 किनभने बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूका पिताको आत्मा हुनुहुन्‍छ, जो तिमीहरूभित्र बोल्नुहुन्छ। 21 अनि भाइले भाइलाई र बुबाले छोरालाई मृत्युका निम्ति सुम्पिदिनेछन्; अनि छोराछोरीहरू बुबाआमाको विरोधमा उठ्नेछन्, र उनीहरूलाई मार्न लाउनेछन्। 22 अनि मेरो नामको कारणले सबै मानिसहरूद्वारा तिमीहरू घृणा गरिनेछौ, तर जसले अन्तसम्म सहन्छ, उसको उद्धार हुनेछ। 23 तर जब तिनीहरूले तिमीहरूलाई यस शहरमा सताउलान्, तब तिमीहरू अर्कोमा भाग; किनभने म तिमीहरूलाई साँचो भन्दछु, मानिसका पुत्र नआउन्जेल तिमीहरू कुनै रीतिले पनि इस्राएलका शहरहरू घुमिसकेका हुनेछैनौ। 24 चेला आफ्ना गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न ता दास आफ्ना मालिकभन्दा श्रेष्‍ठ हुन्छ। 25 चेला आफ्ना गुरुसमान र दास आफ्ना मालिसमान हुनु नै यथेष्‍ट छ। तिनीहरूले घरका मालिकलाई बेल्जेबुल भनेका छन् भने उनको घरानाकाहरूलाई झन् कति बढ़्‍ता गरी भन्लान्!
26 यसकारण तिनीहरूसँग नडराओ, किनकि कुनै कुरो छोपिएको छैन, जो उघारिनेछैन, न ता कुनै कुरो लुकेको छ, जो थाहा पाइनेछैन। 27 अँध्यारोमा म तिमीहरूलाई जे भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ; अनि तिमीहरूले कानमा जे सुन्छौ, त्यो छानाहरूमा प्रचार गरिदेओ। 28 अनि शरीरलाई मार्ने, तर प्राणलाई चाहिँ मार्न नसक्नेहरूसँग नडराओ; तर बरु उहाँसँग डराओ, जसले प्राण र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुन्छ। 29 के दुईवटा भँगेरा एउटा तामाको पैसामा बिक्री हुँदैनन् र? अनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्‍नेछैन। 30 तर तिमीहरूका शिरका केशधरि सबै गन्ती गरिएका छन्। 31 यसकारण तिमीहरू नडराओ; तिमीहरू धेरै भँगेराभन्दा बढ़ी मूल्यका छौ। 32 यसकारण जसकसैले मलाई मानिसहरूको सामु स्वीकार गर्ला, उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु स्वीकार गर्नेछु। 33 तर जसले मलाई मानिसहरूको सामु इन्कार गर्ला, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु।
34 म पृथ्वीमा मिलाप ल्याउन आएको हुँ भनी नसम्झ; म मिलाप ल्याउन होइन, तर तरवार चलाउन आएँ। 35 किनकि म मानिसलाई उसको बुबाबाट, छोरीलाई उसकी आमाबाट, र बुहारीलाई उसकी सासूबाट अलग गराउन आएको हुँ। 36 अनि मानिसका शत्रु आफ्ना परिवारकाहरू हुनेछन्। 37 जसले बुबा वा आमालाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको हुँदैन; अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको हुँदैन। 38 अनि जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। 39 जसले आफ्नो प्राण प्राप्‍त गर्दछ, त्यसले त्यो गुमाउनेछ; अनि जसले मेरो कारणले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो प्राप्‍त गर्नेछ। 40 जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। 41 जसले भविष्यवक्तालाई भविष्यवक्ताको नाममा ग्रहण गर्दछ, त्यसले भविष्यवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी जनलाई धर्मी जनको नाममा ग्रहण गर्दछ, त्यसले धर्मी जनको इनाम पाउनेछ। 42 अनि जसले यी सानाहरूमध्ये एकजनालाई चेलाको नाममा एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरूलाई साँचो भन्दछु, त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन।”