बप्तिस्मा दिने यूहन्नाको प्रशंसा
लूका ७:१८-३५
11
अनि यस्तो भयो: जब येशूले आफ्ना बाह्रजना चेलाहरूलाई आज्ञा दिइसक्नुभयो, तब उहाँ उनीहरूका शहरहरूमा शिक्षा दिन र प्रचार गर्नलाई त्यहाँबाट हिँड़्नुभयो। 2 अनि जब यूहन्नाले झ्यालखानामा ख्रीष्टका कामहरूको विषयमा सुने, तब उनले आफ्ना चेलाहरूमध्ये दुईजनालाई पठाए, 3 र उहाँलाई भने: “के ती आउनुहुने तपाईं नै हुनुहुन्छ, कि के हामी अर्कोको बाटो हेरौं?” 4 येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो: “जाओ, तिमीहरूले जे कुरा सुन्छौ र देख्छौ, ती कुराहरू यूहन्नालाई बताइदेओ: 5 अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गड़ाहरू हिँड़्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू बिउँताइन्छन् र गरिबहरूलाई सुसमाचार सुनाइन्छ। 6 अनि जसले ममा ठेस खाँदैनन्, तिनी धन्य हुन्।” 7 अनि तिनीहरू गएपछि येशूले भीड़हरूलाई यूहन्नाको विषयमा भन्न लाग्नुभयो: “तिमीहरू उजाड़स्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई? 8 तर तिमीहरू के हेर्न गयौ त? के मुलायम पोसाक पहिरेका मानिसलाई? हेर, मुलायम वस्त्र पहिरनेहरू त राजाहरूका भवनहरूमा पो हुन्छन्! 9 तर तिमीहरू के हेर्न गयौ त? के कुनै भविष्यवक्तालाई? अँ, म तिमीहरूलाई भन्दछु, भविष्यवक्ताभन्दा पनि महान्लाई। 10 किनकि यिनी तिनी नै हुन्, जसको विषयमा यो लेखिएको छ:‘हेर, म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन्।’क
11 म तिमीहरूलाई साँचो भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन; तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हुन्छ। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्यले बलमिचाइ सहिरहेको छ, अनि बलजफती गर्नेहरूले जबरजस्तसँग यसलाई लिन्छन्। 13 किनकि सबै भविष्यवक्ताहरू र व्यवस्थाले यूहन्नासम्म भविष्यवाणी गरे। 14 अनि तिमीहरू मान्न चाहन्छौ भने एलिया, जो आउनेवाला थिए, यिनी नै हुन्। 15 जसका सुन्नलाई कानहरू छन्, त्यसले सुनोस्! 16 तर म यस पुस्तालाई केसित तुलना गरूँ? योचाहिँ बजारहरूमा बसेर आफ्ना साथीहरूलाई यसो भन्दै बोलाइरहने केटाकेटीहरूजस्तो छ: 17 ‘तिमीहरूका निम्ति हामीले बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ; तिमीहरूका निम्ति हामीले शोक मनायौं, तर तिमीहरूले विलाप गरेनौ।’ 18 किनकि यूहन्ना न ता खाँदै न पिउँदै आए, र तिनीहरू भन्छन्: ‘ऊसँग दुष्ट आत्मा छ।’ 19 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिनीहरू भन्छन्: ‘हेर, घिचुवा मान्छे र मतवाला, महसूल उठाउने र पापीहरूको साथी!’ तर बुद्धि आफ्ना सन्तानद्वारा सत्यख ठहरिन्छ।”
पश्चात्ताप नगर्नेहरूलाई हाय!
लूका १०:१३-१५
20 तब उहाँ ती शहरहरूलाई, जहाँ उहाँका धेरैजसो सामर्थ्यका कामहरू भएका थिए, हप्काउन लाग्नुभयो; किनकि तिनीहरूले पश्चात्ताप गरेनन्: 21 “हाय, तँलाई, हे खोराजिन! हाय, तँलाई, हे बेथसैदा! किनकि जति सामर्थ्यका कामहरू तिमीहरूमा गरिए, ती कामहरू यदि टायर र सिडोनमा गरिएका भए तिनीहरूले धेरै पहिले नै भाङ्ग्राको लुगा र खरानीमा पश्चात्ताप गरिसकेका हुनेथिए। 22 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा टायर र सिडोनको दशाचाहिँ तिमीहरूको भन्दा बढ़ी सहन सक्ने हुनेछ। 23 र हे कपर्नहुम, तँ जो स्वर्गसम्म उचालिएको छस्, तँ नरकसम्म खसालिनेछस्; किनकि तँमा गरिएका ती सामर्थ्यका कामहरू यदि सदोममा गरिएका भए त्यो आजको दिनसम्म रहिरहनेथियो। 24 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा सदोमको देशको दशाचाहिँ तेरोभन्दा बढ़ी सहन सक्ने हुनेछ।”
25 त्यस बेला येशूले जवाफ दिई भन्नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंलाई धन्यवाद दिन्छु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट छिपाउनुभएको छ र यिनलाई बालकहरूकहाँ प्रकट गर्नुभएको छ। 26 हो पिता, किनकि तपाईंको दृष्टिमा यस्तै असल ठहरियो। 27 मेरा पिताद्वारा सबै कुराहरू मलाई सुम्पिइएका छन्, र पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन; न ता पुत्रले बाहेक अरू कसैले पितालाई चिन्छ, साथै उसले चिन्छ, जसकहाँ पुत्रले पितालाई प्रकट गर्ने इच्छा गर्दछन्।