यरूशलेममा प्रभु येशूको प्रवेश
मत्ती २१:१-९; लूका १९:२८-३८; यूहन्ना १२:१२-१८
11
अनि यरूशलेमको नजिकै, जैतुन-डाँड़ामा बेथफागे र बेथानीमा आइपुग्नुभएपछि उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई पठाउनुभयो; 2 र उहाँले तिनीहरूलाई भन्नुभयो: “आफ्नो सामुन्नेको गाउँमा जाओ; र त्यसभित्र पस्नासाथ तिमीहरूले बाँधिएको एउटा गधाको बच्चा भेट्टाउनेछौ, जसमाथि कुनै मानिस बसेको छैन; त्यसैलाई फूकाएर ल्याओ! 3 कसैले तिमीहरूलाई ‘तिमीहरू यस्तो किन गर्दछौ’ भनी भन्यो भने ‘प्रभुलाई यसको खाँचो छ’ भनिदेओ, र तुरुन्तै उसले त्यसलाई यहाँ पठाइदिनेछ।” 4 यसकारण तिनीहरू बाटो लागे र एउटा दोबाटोमा, बाहिरपट्टि ढोकानिर बाँधिएको त्यो गधाको बच्चा भेट्टाए, र तिनीहरूले त्यसलाई फुकाए। 5 अनि त्यहाँ उभिरहेकाहरूमध्ये कतिजनाले तिनीहरूलाई भने: “यस गधाको बच्चालाई फुकाएर तिमीहरूले के गरिरहेका छौ?” 6 अनि येशूले आज्ञा गर्नुभएअनुसार नै तिनीहरूले उनीहरूलाई भने; र उनीहरूले तिनीहरूलाई जान दिए। 7 अनि तिनीहरूले त्यस गधाको बच्चालाई येशूकहाँ ल्याए, र त्यसमाथि आफ्ना लुगाहरू ओछ्याए, अनि उहाँ त्यसमाथि बस्नुभयो। 8 अनि धेरैले आ-आफ्ना लुगा बाटोमा ओछ्याए, अनि अरू-अरूले चाहिँ रूखहरूका हाँगा काटे र बाटोमा ओछ्याए। 9 अनि अघि-अघि हिँड़िरहेका र पछि-पछि आइरहेकाहरू यसो भन्दै कराए: “होसन्ना!क परमप्रभुको* नाममा आउनुहुने धन्य हुनुहुन्छ! 10 हाम्रा पिता दाऊदको राज्य, जुन राज्य परमप्रभुको* नाममा आउँछ, धन्य होस्! परमधाममा होसन्ना!” 11 अनि येशू यरूशलेमभित्र, र मन्दिरभित्र पस्नुभयो; अनि चारैतिर सबै थोकहरू हेर्नुभएपछि समय बितिसकेको हुनाले उहाँ निस्केर बाह्रजनाको साथमा बेथानीतिर जानुभयो।12 अनि भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कनुभएपछि उहाँ भोकाउनुभयो। 13 अनि टाढ़ामा पातैपात भएको एउटा नेभाराको रूख देखेर त्यसमा केही पाउँछु कि भनी उहाँ जानुभयो; र त्यसनिर आउनुभएपछि उहाँले पातबाहेक अरू केही पाउनुभएन, किनकि नेभाराहरूको फल्ने समय थिएन। 14 अनि येशूले जवाफ दिएर त्यसलाई भन्नुभयो: “अबदेखि उसो कहिले पनि कसैले तेरो फल नखाओस्!” अनि उहाँका चेलाहरूले त्यो सुने।
प्रभु येशूले मन्दिर शुद्ध पार्नुभयो
मत्ती २१:१२-१६; लूका १९:४५-४७
15 अनि उहाँहरू यरूशलेम आउनुभयो; अनि येशू मन्दिरभित्र पसेर मन्दिरमा बेच्नेहरू र किन्नेहरूलाई धपाउन लाग्नुभयो, र सराफीहरूका टेबलहरू र ढुकुर बेच्नेहरूका पिराहरू पल्टाइदिनुभयो। 16 अनि उहाँले कसैलाई पनि मन्दिरको बीचबाट कुनै भाँड़ाकुँड़ा बोकी जान दिनुभएन। 17 अनि उहाँले तिनीहरूलाई यसो भन्दै शिक्षा दिनुभयो: “मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर कहलिनेछ’ख भनी के लेखिएको छैन? तर तिमीहरूले यसलाई डाँकूहरूको ओड़ार बनाएका छौ।” 18 अनि शास्त्रीहरू र मुख्य पूजाहारीहरूले यो सुने, र तिनीहरूले उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न थाले; किनकि तिनीहरू उहाँसँग डराउँथे, किनभने सबै मानिसहरू उहाँको शिक्षामा छक्क पर्दथे। 19 अनि साँझ परेपछि उहाँ शहरदेखि बाहिर जानुभयो।
20 अनि बिहान उहाँहरू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँहरूले त्यो नेभाराको रूख जरैदेखि सुकेको देख्नुभयो। 21 अनि पत्रुसले सम्झना गर्दै उहाँलाई भने: “हे रब्बी, हेर्नुहोस्, तपाईंले श्राप दिनुभएको नेभाराको रूख त सुकेछ।” 22 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “परमेश्वरमा विश्वास राख! 23 म तिमीहरूलाई साँचो भन्दछु, जसले यस पहाड़लाई ‘तँ हटेर समुद्रभित्र फालिई’ भन्नेछ र आफ्नो हृदयमा शङ्का गर्नेछैन, तर आफूले भनेका कुराहरू पूरा हुनेछन् भनी विश्वास गर्नेछ, उसले जे भन्दछ, त्यही पाउनेछ। 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थना गर्दै जे-जे कुराहरू माग्दछौ, ती कुराहरू पाउँछौं भनी विश्वास गर, र तिमीहरूले ती पाउनेछौ। 25 अनि जब तिमीहरू प्रार्थना गर्दै उभिन्छौ, तब कसैको विरोधमा तिमीहरूसँग केही छ भने क्षमा गरिदेओ, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूका अपराधहरू तिमीहरूलाई क्षमा गरिदिऊन्। 26 तर तिमीहरू क्षमा गर्दैनौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”
प्रभु येशूको अधिकारको विषयमा उठेको प्रश्न
मत्ती २१:२३-२७; लूका २०:१-८
27 अनि उहाँहरू फेरि यरूशलेम आउनुभयो। अनि उहाँ मन्दिरमा टहलिरहनुहुँदा मुख्य पूजाहारीहरू, शास्त्रीहरू र बूढ़ा प्रधानहरू उहाँकहाँ आए, 28 र उहाँलाई भने : “कुन अधिकारले तिमी यी कुराहरू गर्दछौ? र यी कुराहरू गर्नका निम्ति कसले तिमीलाई यो अधिकार दियो?” 29 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्नेछु; र तिमीहरूले मलाई जवाफ देओ, अनि म यी कुराहरू कुन अधिकारले गर्दछु, सो म तिमीहरूलाई भन्नेछु; 30 यूहन्नाको बप्तिस्मा – यो स्वर्गबाटको थियो कि मानिसहरूबाटको? मलाई जवाफ देओ!” 31 अनि तिनीहरूले यसो भन्दै आपसमा तर्क गरे: “स्वर्गबाटको भनौं भने, ‘तब किन तिमीहरूले उनलाई विश्वास गरेनौ?’ भनी यसले भनिहाल्नेछ; 32 तर मानिसहरूबाटको भनौं भने” – तिनीहरूलाई भीड़को डर थियो, किनकि सबै मानिसहरूले यूहन्नालाई, उनी साँच्चै भविष्यवक्ता हुन् भनी मानेका थिए। 33 अनि तिनीहरूले येशूलाई जवाफ दिएर भने: “हामीलाई थाहा छैन।” अनि येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो: “म पनि यी कुराहरू कुन अधिकारले गर्दछु, तिमीहरूलाई भन्दिनँ।”