स्‍वास्‍नी त्‍याग्‍ने सम्बन्धमा प्रभु येशूको शिक्षा
मत्ती ५:३१-३२, १९:१-९; लूका १६:१८; रोमी ७:१-३; १ कोरिन्थी ७:१०-१६
10
अनि त्यहाँबाट उठेर उहाँ यर्दनको पारिपट्टिबाट यहूदियाका इलाकाहरूमा आउनुभयो। अनि मानिसहरू फेरि उहाँकहाँ भेला भए, र आफ्नै आदतअनुसार उहाँले तिनीहरूलाई फेरि पनि शिक्षा दिनुभयो। 2 अनि उहाँकहाँ आएर फरिसीहरूले उहाँको परीक्षा गर्दै उहाँलाई सोधे: “आफ्नी स्‍वास्‍नीलाई त्याग्‍नु के मानिसलाई उचित छ?” 3 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” 4 अनि तिनीहरूले भने: “मोशाले एउटा त्याग-पत्र लेख्‍ने र उसलाई त्यागिदिने अनुमति दिएका छन्।” 5 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदयको कठोरताको कारणले उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए; 6 तर सृष्‍टिको शुरुदेखि नै परमेश्‍वरले तिनीहरूलाई नर र नारी बनाउनुभयो। 7 ‘यही कारणले गर्दा मानिसले आफ्ना बुबा र आमालाई छोड़्‍नेछ र आफ्नी स्‍वास्‍नीसित मिलिरहनेछ; 8 अनि ती दुई एउटै शरीर हुनेछन्;’ यसैकारण तिनीहरू अब उसो दुई होइनन्, तर एउटै शरीर हुन्। 9 यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड़्नुभएको छ, त्यसलाई मानिसले अलग नपारोस्।” 10 अनि घरभित्र उहाँका चेलाहरूले उहाँलाई फेरि यही विषयमा सोधे। 11 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जसले आफ्नी स्‍वास्‍नीलाई त्याग्दछ र अर्कीलाई विवाह गर्दछ, त्यसले उसको विरोधमा व्यभिचार गर्दछ। 12 अनि आफ्ना लोग्‍नेलाई त्यागेर कुनै स्त्री अर्कोसँग विवाहित भई भने त्यसले व्यभिचार गर्दछे।”
प्रभु येशूले बालबालिकाहरूलाई आशिष्‌ दिनुहुन्छ
मत्ती १९:१३-१५; लूका १९:१५-१७
13 अनि उहाँले उनीहरूलाई छोइदिऊन् भनेर तिनीहरूले साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए; अनि चेलाहरूले ती ल्याउनेहरूलाई हकारे। 14 तर यो देखेर येशू साह्रै नाराज हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र यिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो। 15 म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्य सानो बालकले जस्तै गरी ग्रहण नगर्ला, त्यो कुनै रीतिले त्यसभित्र पस्‍नेछैन।” 16 अनि उनीहरूलाई अँगालोमा राखेर उहाँले उनीहरूमाथि आफ्ना हात राखी उनीहरूलाई आशिष्‌ दिनुभयो।
धनी जवान
मत्ती १९:१६-३०; लूका १८:१८-२७
17 अनि उहाँ बाटोमा जाँदै गर्नुहुँदा एकजना दगुर्दै आयो र उहाँको सामु घुँड़ा टेकेर त्‍यसले उहाँलाई सोध्यो: “हे असल गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरूँ?” 18 अनि येशूले त्यसलाई भन्‍नुभयो: “तिमी मलाई किन ‘असल’ भन्दछौ? एकैजना अर्थात्‌ परमेश्‍वरबाहेक अरू कोही असल छैन। 19 तिमी आज्ञाहरू त जान्दछौ: व्यभिचार नगर, हत्या नगर, चोरी नगर, झूटो गवाही नदेऊ, नधुत, आफ्ना बुबा र आमालाई आदर गर!” 20 अनि त्यसले जवाफ दिएर उहाँलाई भन्यो: “गुरुज्यू, मेरो बालककालदेखि नै मैले यी सबै पालन गरेकै हुँ।” 21 तब येशूले त्यसलाई हेरेर त्यसलाई प्रेम गर्नुभयो र त्यसलाई भन्‍नुभयो: “तिमीमा एउटा कुराको घटी छ: जाऊ, तिमीसँग जेजति छन्, बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ; अनि आऊ, क्रूस उठाएर मेरो पछि लाग!” 22 अनि त्यस कुराले खिन्‍न भई त्यो दुःखित भएर गयो, किनकि त्यससँग धेरै धनसम्पत्ति थिए। 23 अनि येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “धनसम्पत्ति हुनेहरू कति कठिनसँग परमेश्‍वरको राज्यभित्र पस्‍नेछन्।” 24 अनि उहाँका यी शब्‍दहरूमा चेलाहरू छक्‍कै परे। तर येशूले फेरि जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “हे नानीहरूहो, धनसम्पत्तिमा भरोसा गर्नेहरूलाई परमेश्‍वरको राज्यभित्र पस्‍नु कति कठिन छ! 25 धनी मानिसलाई परमेश्‍वरको राज्यभित्र पस्‍नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो हुन्छ।” 26 अनि तिनीहरूले आपसमा “तब कसले मुक्ति पाउन सक्छ र?” भन्दै साह्रै अचम्म माने। 27 अनि तिनीहरूलाई हेर्दै येशूले भन्‍नुभयो: “मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्‍वरका निम्ति छैन; किनकि परमेश्‍वरका निम्ति सबै कुराहरू सम्भव छन्।”
सबै थोकहरू त्‍याग्‍ने प्रेरितहरूको इनाम
मत्ती १९:२७-३०; लूका १८:२८-३०
28 तब पत्रुसले उहाँलाई भन्‍न थाले: “हेर्नुहोस्, हामीले सबै थोकहरू त्यागेका छौं र तपाईंको पछि लागेका छौं।” 29 अनि येशूले जवाफ दिएर भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, कोही यस्तो मानिस छैन, जसले मेरो निम्ति र सुसमाचारको निम्ति घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बुबा वा आमा वा स्‍वास्‍नी वा छोराछोरीहरू वा जग्गा-जमिनहरू त्यागेको छ, 30 र अहिले, यस समयमा सतावटहरूको साथ सय गुणा पाउनेछैन : घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू, जग्गा-जमिनहरू र आउने युगमा अनन्त जीवन। 31 तर धेरैजना, जो पहिला छन्, पछिल्‍ला हुनेछन्; र पछिल्‍लाचाहिँ पहिला हुनेछन्।”
32 अनि माथि यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँहरू बाटोमा हुनुहुन्थ्यो; अनि येशू तिनीहरूका अघि-अघि गइरहनुभएको थियो, र तिनीहरू अचम्म मानिरहेका थिए; र पछि-पछि हिँड़्‍दै तिनीहरू डराइरहेका थिए। अनि उहाँले फेरि बाह्रजनालाई लिएर आफूमाथि आउन लागेका कुराहरूको विषयमा तिनीहरूलाई भन्‍न लाग्‍नुभयो: 33 “हेर, हामी माथि यरूशलेमतिर गइरहेका छौं; अनि मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन्; अनि तिनीहरूले उनलाई मृत्युदण्डको योग्य ठहराउनेछन्, र उनलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्; 34 अनि तिनीहरूले उनलाई गिल्‍ला गर्नेछन्, उनलाई कोर्रा लाउनेछन्, उनलाई थुक्नेछन् र उनलाई मार्नेछन्; अनि तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्।”
याकूब र यूहन्‍नाको विन्‍ती
मत्ती २०:२०-२८
35 अनि जब्दीका छोराहरू, याकूब र यूहन्‍ना यसो भन्दै उहाँकहाँ आए: “गुरुज्यू, हामी जे मागौंला, त्‍यो तपाईंले हाम्रा निम्ति गरिदिनुहोला भनी हामी चाहन्छौं।” 36 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू के चाहन्छौ, जुनचाहिँ म तिमीहरूका निम्ति गरूँ?” 37 तिनीहरूले उहाँलाई भने: “हामीलाई तपाईंको महिमामा एकजनालाई तपाईंको दाहिने हातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्‍न दिनुहोस्!” 38 तर येशूले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू के माग्छौ, सो जान्दैनौ; जुन कचौरा म पिउँछु, के तिमीहरू त्यो कचौरा पिउन सक्छौ? र जुन बप्‍तिस्‍माले मेरो बप्‍तिस्‍मा हुन्छ, के तिमीहरू त्यो बप्‍तिस्‍मा लिन सक्छौ?” 39 अनि तिनीहरूले उहाँलाई भने: “हामी सक्छौं।” अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “जुन कचौरा म पिउँछु, त्यो कचौरा साँच्‍चै तिमीहरूले पिउनेछौ र जुन बप्‍तिस्‍माले मेरो बप्‍तिस्‍मा हुन्छ, त्यो बप्‍तिस्‍मा तिमीहरूले लिनेछौ; 40 तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिनुचाहिँ मेरो काम होइन, तर जसका निम्ति यो तयार पारिएको छ, उसैलाई यो दिइनेछ।” 41 अनि यो सुनेर ती दसजना याकूब र यूहन्‍नासँग रिसाउन थाले। 42 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, अन्यजातिहरूमाथि शासन गर्न ठहरिएकाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका ठूलाहरूले चाहिँ तिनीहरूमाथि अधिकार चलाउँछन्। 43 तर तिमीहरूको बीचमा चाहिँ यस्तो हुनेछैन; तर तिमीहरूको बीचमा जसले ठूलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको सेवक बनोस्; 44 र तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, ऊचाहिँ सबैको दास बनोस्; 45 किनभने मानिसका पुत्र पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए।”
अन्धा बर्तिमै
मत्ती २०:२९-३४; लूका १८:३५-४३
46 अनि उहाँहरू येरिहोमा आउनुभयो; अनि उहाँ आफ्ना चेलाहरू र एउटा ठूलो भीड़सित येरिहोबाट बाहिर निस्कँदै गर्नुहुँदा तिमैको छोरा अन्धो बर्तिमै बाटोको किनारमा माग्दै बसिरहेको थियो। 47 अनि उहाँ नासरतका येशू हुनुहुन्छ भन्‍ने सुनेर त्यो यसो भन्दै कराउन थाल्यो: “हे येशू दाऊदका पुत्र, ममाथि दया राख्‍नुहोस्!” 48 अनि धेरैले त्यसलाई ‘चुप लाग्!’ भनी हकारे; तर त्यो झन् बेसी चिच्‍च्यायो: “हे दाऊदका पुत्र, ममाथि दया राख्‍नुहोस्!” 49 अनि येशू अड़िनुभयो, र उहाँले त्यसलाई बोलाइने आज्ञा दिनुभयो। अनि तिनीहरूले यसो भन्दै त्यस अन्धो मान्छेलाई बोलाए: “साहस गर, उठ, उहाँ तिमीलाई बोलाउँदै हुनुहुन्छ।” 50 अनि आफ्नो लुगा फ्याँकेर त्यो उठ्यो र येशूकहाँ आयो। 51 अनि येशूले जवाफ दिएर त्यसलाई भन्‍नुभयो: “म तिम्रा निम्ति के गरूँ - तिमी के चाहन्छौ?” त्यस अन्धाले उहाँलाई भन्यो: “हे प्रभु, म दृष्‍टि पाऊँ!” 52 अनि येशूले त्यसलाई भन्‍नुभयो: “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि तुरुन्तै त्यसले दृष्‍टि पायो, र बाटोमा त्यो येशूको पछि-पछि लाग्यो।