प्रभु येशूको रूप-परिवर्तन
मत्ती १७:१-८; लूका ९:२८-३६
9
अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, यहाँ उभिरहेकाहरूमध्ये कतिजना छन्, जसले परमेश्वरको राज्य सामर्थ्यसित आइरहेको नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्नेछैनन्।” 2 अनि छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई लिएर तिनीहरूलाई अलग्गै एउटा अग्लो पहाड़माथि एकान्तमा लैजानुभयो; अनि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो। 3 अनि उहाँका वस्त्रहरू चम्किने, हिउँजस्तै अति नै सेता भए; यस्तो कि पृथ्वीमा कुनै धोबीले त्यस्तो सेतो पार्न सक्दैन। 4 अनि तिनीहरूकहाँ मोशासित एलिया देखा परे; अनि उनीहरूले येशूसित कुरा गरिरहेका थिए। 5 अनि पत्रुसले जवाफ दिएर येशूलाई भने: “हे रब्बी, हामीलाई यहाँ रहनु असल छ; र हामी तीनवटा डेरा बनाऔं; तपाईंका निम्ति एउटा, मोशाका निम्ति एउटा र एलियाका निम्ति एउटा।” 6 किनकि के भन्नुपर्नेथियो, तिनले जानेनन्; किनभने तिनीहरू साह्रै डराएका थिए। 7 अनि एउटा बादल आएर तिनीहरूलाई ढाकिदियो, र त्यस बादलबाट यसो भन्ने वाणी आयो: “यिनी मेरा प्रिय पुत्र हुन्; यिनैको कुरा सुन!” 8 अनि एक्कासि जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफ्नो साथमा येशूलाई बाहेक फेरि अरू कसैलाई देखेनन्। 9 अनि उहाँहरू पहाड़बाट ओर्लंदै गर्नुहुँदा ‘मानिसका पुत्र मरेकाहरूबाट बौरेर नउठुन्जेल तिमीहरूले देखेका कुराहरू अरू कसैलाई नबताउनू’ भनी येशूले तिनीहरूलाई कड़ा आज्ञा गर्नुभयो। 10 अनि मरेकाहरूबाट बौरेर उठ्नु भनेको के होला भन्दै आपसमा तर्क-वितर्क गर्दै तिनीहरूले त्यो कुरा आफैसँग राखे। 11 अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे: “ एलिया पहिले आउनैपर्छ भनी किन शास्त्रीहरूले किन भन्छन् त?” 12 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “एलिया साँच्चै पहिले आउँछन्, र उनले सबै कुराहरू पुनर्स्थापित गर्छन्; अनि कसरी मानिसका पुत्रको विषयमा चाहिँ, यिनले धेरै दु:खहरू भोग्नुपर्छ र यिनी तुच्छ ठहरिनुपर्छ भनेर लेखिएको छ। 13 तर म तिमीहरूलाई भन्दछु: एलिया साँच्चै आइसकेका छन्, र जसरी उनको विषयमा लेखिएको छ, त्यसरी नै तिनीहरूलाई जे इच्छा लाग्यो, त्यही तिनीहरूले उनीमाथि गरेका छन्।”शक्तिहीन चेलाहरू र सामर्थी प्रभु
मत्ती १७:१४-२१; लूका ९:३७-४२
14 अनि जब उहाँ आफ्ना चेलाहरूकहाँ आउनुभयो, तब उहाँले तिनीहरूको वरिपरि एउटा ठूलो भीड़ र शास्त्रीहरूलाई तिनीहरूसँग तर्क गरिरहेका देख्नुभयो। 15 अनि तुरुन्तै सबै मानिसहरूले उहाँलाई देखेर साह्रै अचम्म माने, र उहाँकहाँ दगुरेर गई उहाँलाई अभिवादन गरे। 16 अनि उहाँले ती शास्त्रीहरूलाई सोध्नुभयो: “तिमीहरू तिनीहरूसँग के विवाद गरिरहेका छौ?” 17 अनि भीड़बाट एकजनाले जवाफ दिएर भन्यो: “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरालाई ल्याएको छु, जसमा गुँगा आत्मा छ; 18 अनि त्यसले यसलाई जहाँ पक्रन्छ, त्यहीं यसलाई पछारिहाल्छ; अनि यसले फींज काढ़्छ, र दाह्रा किट्छ, र यो सुख्दै जान्छ; अनि तपाईंका चेलाहरूले त्यसलाई निकालिदिऊन् भनी मैले उनीहरूसँग कुरा गरें; तर उनीहरूले सकेनन्।” 19 उहाँले त्यसलाई जवाफ दिँदै भन्नुभयो: “हे विश्वासहीन पुस्ता, कहिलेसम्म म तिमीहरूसँग रहुँ? कहिलेसम्म म तिमीहरूलाई सहूँ? त्यसलाई मकहाँ ल्याओ!” 20 अनि तिनीहरूले त्यसलाई उहाँकहाँ ल्याए, र उहाँलाई देखेर तुरुन्तै आत्माले त्यसलाई मड़ारमुडुर पारिहाल्यो; अनि भुइँमा पछारिएर त्यो फींज काढ़्दै लड़ीबुड़ी गर्न लाग्यो। 21 अनि उहाँले त्यसको बुबालाई सोध्नुभयो: “कहिलेदेखि यसलाई यस्तो भइरहेको छ?” अनि उसले भन्यो: “बालककालदेखि नै। 22 अनि यसलाई नाश पार्न त्यसले यसलाई घरीघरी आगोमा र पानीमा फालेको छ; तर तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया राख्नुहोस् र हामीलाई सहायता गर्नुहोस्!” 23 येशूले उसलाई भन्नुभयो: “तिमी विश्वास गर्न सक्छौ भने, विश्वास गर्नेका निम्ति सबै कुरा सम्भव छन्।” 24 अनि तुरुन्तै त्यस केटाको बुबाले कराएर आँसुसित भन्यो: “प्रभुजी, म विश्वास गर्दछु, मेरो अविश्वासलाई सहायता गर्नुहोस्!” 25 जब येशूले मानिसहरूलाई एकसाथ दगुर्दै आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भन्दै हकार्नुभयो: “हे गुँगो र बहिरो आत्मा, म तँलाई आज्ञा गर्दछु, यसबाट निस्की र यसभित्र फेरि कहिल्यै नपस्!” 26 अनि त्यो आत्मा चिच्च्याएर र त्यसलाई बेसरी मड़ारमुडुर पारेर त्यसबाट निस्क्यो; अनि त्यो मरेको जस्तै भयो, यहाँसम्म कि धेरैले ‘यो त मरेछ’ भने। 27 तर येशूले त्यसलाई हातमा समात्नुभयो र त्यसलाई उठाउनुभयो; अनि त्यो उठ्यो। 28 अनि उहाँ घरभित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई एकान्तमा सोधे: “हामीले चाहिँ त्यसलाई किन निकाल्न सकेनौं?” 29 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “यस किसिमको चाहिँ प्रार्थना र उपवासद्वारा बाहेक अरू कुनै उपायद्वारा निस्कन सक्दैन।”
30 अनि त्यहाँबाट निस्केर उहाँहरू गालील भएर जानुभयो, अनि यो कसैले थाहा नपाओस् भनी उहाँले चाहनुभएको थियो। 31 किनभने उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिनुभयो र तिनीहरूलाई भन्नुभयो: “मानिसका पुत्रचाहिँ मानिसहरूका हातमा सुम्पिइन्छन्, र तिनीहरूले उनलाई मार्नेछन्; अनि मारिएपछि तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्।” 32 तर तिनीहरूले यो कुरा बुझेनन्, र उहाँलाई सोध्न डराउँथे।
स्वर्गको राज्यमा को ठूलो?
मत्ती १८:१-५; लूका ९:४६-४८
33 अनि उहाँ कपर्नहुम आउनुभयो; अनि घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो: “बाटोमा तिमीहरूले आपसमा के तर्क-वितर्क गरिरहेका थियौ?” 34 तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले ‘सबैभन्दा ठूलो को हो?’ भनी आपसमा तर्क गरेका थिए। 35 अनि बसेर उहाँले बाह्रैजनालाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो: “कसैले पहिलो हुने इच्छा गर्दछ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक बनोस्।” 36 अनि उहाँले एउटा बालकलाई लिएर त्यसलाई तिनीहरूको बीचमा राख्नुभयो; अनि त्यसलाई अँगालोमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो: 37 “जसले यस्ता साना बालबालिकाहरूमध्ये एउटालाई मेरो नाममा ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ; र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
38 अनि यूहन्नाले यसो भन्दै उहाँलाई जवाफ दिए: “गुरुज्यू, हामीले एकजना मानिसलाई तपाईंको नाममा दुष्ट आत्माहरू निकालिरहेको देख्यौं, अनि ऊ हाम्रो पछि लाग्दैन; र हामीले उसलाई मनाही गर्यौं, किनकि ऊ हाम्रो पछि लाग्दैन।” 39 तर येशूले भन्नुभयो: “उसलाई मनाही नगर, किनकि मेरो नाममा कुनै सामर्थ्यको काम गरेर मेरो विषयमा तुरुन्तै खराब बोल्न सक्ने कोही पनि छैन। 40 किनभने जो हाम्रो विरोधमा छैन, ऊ हाम्रो पक्षमा छ। 41 किनकि जसले, तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाममा एक कचौरा पानी पिउन देला, म तिमीहरूलाई साँचो भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन।”
नरकको बारेमा गम्भीर चेताउनी
मत्ती १८:६-९
42 “अनि जसले ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटालाई ठेस खुवाउला, त्यसको गर्धनमा एउटा जाँतो झुन्ड्याएर त्योचाहिँ समुद्रभित्र फालिएको भए त्यसका निम्ति बढ़िया हुन्छ। 43 अनि तिम्रो हातले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै हातसित नरकमा, कहिले पनि ननिभ्ने आगोमा जानुभन्दा डुँड़ो भएर जीवनमा पस्नु नै तिम्रा निम्ति उत्तम हो; 44 जहाँ तिनीहरूको कीरा मर्दैन र आगो निभ्दैन। 45 अनि तिम्रो पाउले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै पाउसित नरकमा, कहिले पनि ननिभ्ने आगोमा फालिनुभन्दा लङ्गड़ो भएर जीवनमा पस्नु नै तिम्रा निम्ति उत्तम हो; 46 जहाँ तिनीहरूको कीरा मर्दैन र आगो निभ्दैन। 47 अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालिदेऊ, किनभने दुवै आँखासित नरकको आगोमा फालिनुभन्दा कानो भएर परमेश्वरको राज्यमा पस्नु नै तिम्रा निम्ति उत्तम हो; 48 जहाँ तिनीहरूको कीरा मर्दैन र आगो निभ्दैन। 49 किनकि हरेक जन आगोद्वारा नुनिलो पारिनेछ, र हरेक बलि नुनद्वारा नुनिलो पारिनेछ। 50 नुन असल हो, तर नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई तिमीहरूले केले स्वादिलो पार्नेछौ? आफू-आफूमा नुन राख, र एक-अर्कासित मिलापमा बस!”