प्रभु येशूले चार हजारलाई मानिसहरूलाई खुवाउनुभयो
मत्ती १५:३२-३९
8
ती दिनहरूमा जब भीड़ साह्रै ठूलो थियो, र तिनीहरूसित खानलाई केही थिएन, तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो: 2 “यस भीड़लाई म टिठ्याउँछु, किनकि यिनीहरू मसँग रहेका तीन दिन भइसक्यो, र यिनीहरूसित खानलाई केही छैन। 3 अनि मैले यिनीहरूलाई भोकैक यिनीहरूका घरहरूमा पठाएँ भने यिनीहरू बाटोमा मूर्च्छा पर्नेछन्; किनकि यिनीहरूमध्ये कतिजना टाढ़ाबाट आएका छन्।” 4 अनि उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए: “यहाँ यस उजाड़स्थानमा मानिसले कहाँबाट यी मानिसहरूलाई रोटीले तृप्त पार्न सक्छ र?” 5 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरूसँग कतिवटा रोटी छन्?” अनि तिनीहरूले भने: “सातवटा।” 6 अनि उहाँले त्यस भीड़लाई भुइँमा बस्ने आज्ञा दिनुभयो; अनि ती सातवटा रोटी लिई धन्यवाद दिएर उहाँले भाँच्नुभयो, र यिनीहरूको सामु राखिदिनका निम्ति आफ्ना चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले भीड़को सामु ती राखिदिए। 7 अनि तिनीहरूसँग अलिकता मसिना माछाहरू थिए; अनि आशिष् दिएर उहाँले तिनलाई पनि यिनीहरूको सामु राखिदिनू भनी आज्ञा दिनुभयो। 8 अनि यिनीहरूले खाए, र अघाए; अनि तिनीहरूले सात डाला उब्रेका टुक्राहरू उठाए। 9 अनि खानेहरू प्राय: चार हजार थिए; अनि उहाँले तिनीहरूलाई बिदा दिनुभयो।फरिसीहरू र हेरोदको खमीर
मत्ती १६:१-१२
10 अनि तुरुन्तै आफ्ना चेलाहरूसँग डुङ्गामा पसेर उहाँ डालमानुथाका इलाकाहरूमा आउनुभयो। 11 अनि फरिसीहरू आए, र उहाँलाई परीक्षा गर्दै उहाँबाट स्वर्गबाटको एउटा चिन्ह चाहँदै उहाँसँग तर्क गर्न लागे। 12 अनि उहाँले आफ्नो आत्मामा गहिरो गरी सुस्केरा हाल्नुभयो र भन्नुभयो: “किन यस पुस्ताले चिन्ह खोज्दछ? म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।” 13 अनि उहाँले तिनीहरूलाई छोड़्नुभयो, र फेरि डुङ्गामा पसेर पारिपट्टि जानुभयो। 14 अनि चेलाहरूले रोटी लैजान बिर्सेका रहेछन्, न ता तिनीहरूसँग डुङ्गामा एकभन्दा बढ़ी रोटी नै थियो। 15 अनि उहाँले तिनीहरूलाई यसो भन्दै कड़ा आज्ञा दिनुभयो: “सचेत रहो, फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि होशियार बस!” 16 अनि तिनीहरूले आपसमा यसो भन्दै तर्क गरे: “योचाहिँ हामीसँग रोटी नभएकै कारणले हो।” 17 अनि यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित रोटी छैन भनेर तिमीहरू किन तर्क गर्दछौ? के तिमीहरू अझै पनि थाहा पाउँदैनौ र बुझ्दैनौ? के तिमीहरूको हृदय अझै कठोर छ? 18 आँखाहरू भएर पनि तिमीहरू देख्दैनौ? कानहरू भएर पनि तिमीहरू सुन्दैनौ? र के तिमीहरूलाई याद छैन? 19 जब मैले पाँच हजारको बीचमा पाँचवटा रोटी भाँचें, तब टुक्राहरूले भरिएका कतिवटा डाला तिमीहरूले उठायौ?” तिनीहरूले उहाँलाई भने: “बाह्रवटा।” 20 “अनि जब चार हजारको बीचमा मैले सातवटा भाँचें, तब टुक्राहरूले भरिएका कतिवटा डाला तिमीहरूले उठायौ?” अनि तिनीहरूले भने: “सातवटा।” 21 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू बुझ्दैनौ, कसरी?”
बेथसैदामा अन्धा मानिस निको पारियो
22 अनि उहाँ बेथसैदामा आउनुभयो; अनि तिनीहरूले उहाँकहाँ एकजना अन्धा मानिसलाई ल्याए र त्यसलाई छोइदिनुहोस् भनी उहाँलाई विन्ती गरे। 23 अनि त्यस अन्धा मानिसलाई हातमा समातेर उहाँले त्यसलाई गाउँबाट बाहिर लैजानुभयो; अनि त्यसका आँखाहरूमा थुकेर, र आफ्ना हात त्यसमाथि राखेर, त्यसले केही देख्छ कि भनी उहाँले त्यसलाई सोध्नुभयो। 24 अनि त्यसले माथितिर हेरेर भन्यो: “म मानिसहरूलाई रूखहरूजस्तै, हिँड़िरहेका देख्छु।” 25 त्यसपछि उहाँले आफ्ना हात फेरि त्यसका आँखाहरूमाथि राख्नुभयो र त्यसलाई माथितिर हेर्न लाउनुभयो; अनि त्यो ज्यूँका त्यूँ भयो, र त्यसले हरेक मानिसलाई छर्लङ्ग देख्यो। 26 अनि उहाँले त्यसलाई यसो भनेर त्यसको घरतिर पठाउनुभयो: “न ता गाउँभित्र पस, न गाउँमा कसैलाई यो कुरा बताऊ!”
येशू ‘ख्रीष्ट’ हुनुहुन्छ भन्ने पत्रुसको अङ्गीकार
मत्ती १६:१३-१६; लूका ९:१८-२१
27 अनि येशू र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानुभयो; अनि बाटोमा तिनीहरूलाई यसो भन्दै उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसहरू के भन्छन् – म को हुँ?” 28 अनि तिनीहरूले जवाफ दिए: “बप्तिस्मा दिने यूहन्ना, तर कतिले, एलिया; अनि अरू-अरूले, भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्।” 29 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तर तिमीहरूचाहिँ नि के भन्छौ – म को हुँ?” अनि पत्रुसले जवाफ दिएर उहाँलाई भने: “तपाईं ख्रीष्ट हुनुहुन्छ।” 30 अनि तिनीहरूले उहाँको विषयमा कसैलाई नभनून् भनी उहाँले तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो।
31 अनि मानिसका पुत्रलाई धेरै दु:खहरू भोग्नु, बूढ़ा प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूद्वारा रद्द गरिनु, मारिनु, र तीन दिनपछि बौरेर उठ्नु आवश्यक छ भनी उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो। 32 अनि यो कुरा उहाँले खुल्लमखुल्ला भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर उहाँलाई हप्काउन लागे। 33 तर पछिल्तिर फर्की आफ्ना चेलाहरूलाई हेरेर उहाँले पत्रुसलाई यसो भन्दै हप्काउनुभयो: “हे शैतान, मेरो पछिल्तिर जा! किनकि तँ परमेश्वरका कुराहरूमा होइन, तर मानिसका कुराहरूमा ध्यान लगाउँछस्।”
येशूको चेला हुनलाई तिर्नुपर्ने दाम
मत्ती १६:२४-२७; लूका ९:२३-२६
34 अनि जब उहाँले भीड़लाई आफ्ना चेलाहरूसित आफूकहाँ बोलाउनुभयो, तब उहाँले तिनीहरूलाई भन्नुभयो: “जसले मेरो पछि आउने इच्छा गर्दछ, उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्। 35 किनभने जसले आफ्नो आत्माख बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरो निम्ति र सुसमाचारका निम्ति आफ्नो आत्माख गुमाउँछ, उसैले त्यो बचाउनेछ। 36 किनकि मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो आत्माचाहिँख गुमायो भने त्यसलाई के फाइदा हुनेछ र? 37 अथवा आफ्नो आत्माकोख सट्टामा मानिसले के देला र? 38 यसकारण यस व्यभिचारी र पापी पुस्तामा जो मसँग र मेरा वचनहरूसँग लजाउनेछ, मानिसका पुत्र पनि पवित्र दूतहरूको साथमा आफ्ना पिताको महिमामा आउँदा त्योसँग लजाउनेछन्।”