परमेश्वरको आज्ञाविरुद्ध मानिसका रीतिथितिहरू
मत्ती १५:१-९
7
तब फरिसीहरू र यरूशलेमबाट आएका केही शास्त्रीहरू उहाँकहाँ भेला भए। 2 अनि जब तिनीहरूले उहाँका कतिजना चेलाहरूलाई अशुद्ध अर्थात् नधोइएका हातले रोटी खाएका देखे, तब तिनीहरूले दोष लगाइहाले। 3 किनकि फरिसीहरू र सबै यहूदीहरूले प्राचीनहरूको रीति थामेका हुनाले जबसम्म राम्ररी हात धुँदैनन्, तबसम्म खाँदैनन्। 4 अनि बजारबाट आएपछि ननुहाएसम्म तिनीहरूले खाँदैनन्। र पालन गर्नाका निम्ति तिनीहरूले पाएका अरू पनि धेरै कुराहरू छन्, जस्तै कचौरा, लोहोटा, पित्तलका भाँड़ाकुँडा र टेबलहरूक धुनु। 5 तब ती फरिसी र शास्त्रीहरूले उहाँलाई सोधे: “तपाईंका चेलाहरू किन प्राचीनहरूको रीतिअनुसार हिँड़्दैनन्, तर नधोइएका हातले रोटी खान्छन्?” 6 तर उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “यशैयाले तिमी कपटीहरूको विषयमा सठीक भविष्यवाणी गरेका छन्, जस्तो लेखिएको छ:‘यस जातिले मलाई आफ्ना ओठले त आदर गर्दछ, तर यिनीहरूको हृदय मदेखि टाढ़ो छ। 7 तर यिनीहरूले व्यर्थमा मेरो उपासना गर्दछन्, किनकि यिनिहरूले मानिसहरूका आज्ञाहरू धर्म-शिक्षाहरूको रूपमा सिकाउँछन्।’ख
8 किनकि परमेश्वरको आज्ञा पर सारेर तिमीहरू मानिसहरूको रीतिथिति पालन गर्दछौ, जस्तै लोहोटा र कचौराहरू धुनु; र यस्तै किसिमका अरू धेरै कुराहरू तिमीहरू गर्दछौ।” 9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू आफ्नो रीतिथिति पालन गर्नलाई परमेश्वरको आज्ञा कति राम्ररी रद्द गर्दछौ। 10 किनभने मोशाले भने : ‘आफ्ना बुबा र आफ्नी आमालाई आदर गर;’ग अनि ‘जसले बुबा वा आमालाई श्राप गर्दछ, त्यो निश्चय नै मारियोस्।’घ 11 तर तिमीहरू भन्दछौ : ‘यदि कसैले आफ्ना बुबा वा आमालाई, “मबाट तपाईंलाई जे फाइदा हुनेथियो, त्योचाहिँ ‘कुरबान’ अर्थात् भेटी भएको छ” भनी भन्ला, त्यो स्वतन्त्र हुनेछ।’ 12 अनि त्यसलाई तिमीहरूले आफ्ना बुबा वा आफ्नी आमाका निम्ति फेरि केही गर्न दिँदैनौ; 13 तिमीहरू आफूले सुम्पेको आफ्नो रीतिथितिद्वारा परमेश्वरको वचन बेकम्मा तुल्याउँछौ। र यस्तै किसिमका धेरै कुराहरू तिमीहरू गर्दछौ।”
मानिसको हृदयको अवस्था
मत्ती १५:१०-२०
14 अनि सबै मानिसहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू हरेकले मेरो कुरा सुन, र बुझ! 15 मानिसको बाहिरपट्टिबाट उसभित्र पसेर उसलाई अशुद्ध पार्न सक्ने कुनै कुरा छैन, तर जुन कुराहरू उसबाट बाहिर निस्कँदछन्, ती कुराहरूले नै मानिसलाई अशुद्ध पार्दछन्। 16 कसैका सुन्नलाई कानहरू छन् भने त्यसले सुनोस्!” 17 अनि जब त्यस भीड़लाई छोड़ेर उहाँ एउटा घरभित्र पस्नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्टान्तको विषयमा सोधे। 18 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरू पनि यस्तै विनासमझकै छौ? बाहिरबाट मानिसभित्र जे पस्दछ, त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनी के तिमीहरूलाई थाहा छैन? 19 किनकि त्यो उसको हृदयमा होइन, तर पेटमा पस्छ, र सबै खानेकुरा सफा गर्दै बाहिर चर्पीमा जान्छ।” 20 अनि उहाँले भन्नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्दछ। 21 किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, 22 चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्; 23 यी सबै खराब कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्दछन्।”
कनानी स्त्री
मत्ती १५:२१-२८
24 अनि त्यहाँबाट उठेर उहाँ टायर र सिडोनका इलाकाहरूमा जानुभयो, र एउटा घरभित्र पस्नुभयो, अनि कसैले यो थाहा नपाओस् भन्ने इच्छा गर्नुभयो, तर उहाँ छिपेर रहन सक्नुभएन। 25 किनकि एउटी स्त्रीले, जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो, उहाँको विषयमा सुनी, र आएर ऊ उहाँका पाउमा घोप्टो परी; 26 त्यो स्त्रीचाहिँ सुरोफोनिसी जातिकी ग्रीक थिई, अनि उसकी छोरीबाट उहाँले दुष्ट आत्मा निकालिदिऊन् भनी उसले उहाँलाई विन्ती गरी। 27 तर येशूले उसलाई भन्नुभयो: “पहिले नानीहरूलाई तृप्त हुन देऊ; किनकि नानीहरूको रोटी लगेर कुकुरहरूको सामु फ्याँक्न ठीक होइन।” 28 अनि उसले जवाफ दिएर उहाँलाई भनी: “ज्यू प्रभु,! तरै पनि टेबलमुनि कुकुरहरूले नानीहरूका रोटीका टुक्राहरूबाट खान्छन्।” 29 अनि उहाँले उसलाई भन्नुभयो: “यही भनाइको कारणले तिमी जाऊ; दुष्ट आत्मा तिम्री छोरीबाट निस्केर गएको छ।” 30 अनि आफ्नो घरमा आएपछि उसले दुष्ट आत्मा निस्किसकेको र आफ्नी छोरीलाई खाटमाथि ढल्किएकी भेट्टाई।
31 अनि फेरि टायर र सिडोनका इलाकाहरूबाट निस्केर डेकापोलिसका इलाकाहरूको बीचबाट भएर उहाँ गालीलको समुद्रमा आउनुभयो। 32 अनि तिनीहरूले उहाँकहाँ बहिरो र राम्ररी बोल्न नसक्ने एकजना मानिसलाई ल्याए, र त्यसमाथि आफ्नो हात राखिदिऊन् भनी तिनीहरूले उहाँलाई विन्ती गरे। 33 अनि उहाँले त्यसलाई भीड़बाट अलग लैजानुभयो, र त्यसका कानहरूमा आफ्ना औंला हाल्नुभयो, र थुकेर त्यसको जिब्रो छुनुभयो; 34 अनि स्वर्गतिर हेरेर उहाँले सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो: “एफ्फाथा” अर्थात् ‘खोलिजा!’ 35 अनि तुरुन्तै त्यसका कान खोलिए, र त्यसको जिब्रोको बन्धन फुस्क्यो र त्यो सफासँग बोल्यो। 36 अनि उहाँले तिनीहरूलाई ‘कसैलाई नभन्नू’ भनी कड़ा आज्ञा दिनुभयो; तर जति कड़ा आज्ञा उहाँले तिनीहरूलाई दिनुभयो, त्यति नै बढ़्ता गरी तिनीहरूले त्यो कुरा प्रचार गरे; 37 अनि तिनीहरू यसो भन्दै अत्यन्तै छक्क परे: “उहाँले सबै कुराहरू असल गर्नुभएको छ; उहाँले बहिरालाई सुन्ने र गुँगालाई बोल्ने बनाउनुहुन्छ।”