आफ्ना देशवासीहरूको अविश्‍वास
मत्ती १३:३४-५८
6
अनि उहाँ त्यहाँबाट निस्कनुभयो र आफ्नो मुलुकमा आउनुभयो; अनि उहाँका चेलाहरूले उहाँलाई पछ्याए। 2 अनि विश्रामदिन आएपछि उहाँले सभाघरमा शिक्षा दिन थाल्नुभयो; र सुन्‍नेहरू धेरैजना यसो भन्दै छक्‍क परे: “यी मानिसले यी कुराहरू कहाँबाट पाए? अनि यिनलाई दिइएको यो के बुद्धि हो, कि यिनका हातहरूद्वारा यस्ता सामर्थ्यका कामहरू पनि हुँदछन्? 3 के यिनी ती सिकर्मी, मरियमका छोरा, र याकूब, योसेस, यहूदा र शिमोनका दाजु होइनन् र? अनि के यिनका बहिनीहरू यहाँ हामीसँग छैनन् र?” अनि तिनीहरूले उहाँमा ठेस खाए। 4 तर येशूले तिनीहरूलाई भन्‍नुभयो: “आफ्नो देशमा, आफ्ना नातादारको बीचमा र आफ्नो घरमा बाहेक अरू कहीं भविष्यवक्ता आदररहित हुँदैनन्।” 5 अनि त्यहाँ उहाँले केही बिरामीहरूमाथि आफ्ना हात राखी तिनीहरूलाई निको पार्नु बाहेक अरू कुनै सामर्थ्यको काम गर्न सक्नुभएन। 6 अनि तिनीहरूको अविश्‍वासको कारणले उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ शिक्षा दिँदै फेरो मारेर गाउँहरूमा घुम्‍नुभयो।
बाह्रजना प्रेरितहरू प्रचार गर्न पठाइए
मत्ती १०:१-४२; लूका ९:१-६
7 अनि उहाँले बाह्रजनालाई आफूकहाँ बोलाउनुभयो, र दुई-दुई गरी तिनीहरूलाई पठाउन थाल्नुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो। 8 अनि उहाँले तिनीहरूलाई यात्राका निम्ति एउटा लौरोबाहेक अरू केही नबोक्नू भन्‍ने आज्ञा दिनुभयो – न झोला, न रोटी, न ता पटुकामा पैसा, 9 तर जुत्ता लाउनू, र दुईवटा दौरा नलाउनू। 10 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जुनसुकै ठाउँमा, जहाँ तिमीहरू कुनै घरमा पसौला, त्यहाँबाट नजाउन्जेल त्यहीं बस। 11 अनि जसकसैलेले तिमीहरूलाई ग्रहण नगर्ला र तिमीहरूका वचन नसुन्ला, त्यहाँबाट निस्कँदाखेरि तिनीहरूको विरोधमा साक्षी हुनलाई तिमीहरूका पाउमुनिका धूलो टकटक्याइराख! म तिमीहरूलाई साँचो भन्दछु, न्यायको दिनमा सदोम र गमोराको दशाचाहिँ त्यस शहरको भन्दा बढ़ी सहन सक्ने हुनेछ।” 12 अनि तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। 13 अनि तिनीहरूले धेरै दुष्‍ट आत्माहरू निकाले, अनि धेरै बिरामीहरूलाई तेल घसिदिए र निको पारे।
बप्‍तिस्‍मा दिने यूहन्‍नाको हत्या
मत्ती १४:१-१४
14 अनि राजा हेरोदले उहाँको विषयमा सुने, किनकि उहाँको नाम प्रसिद्ध भएको थियो; अनि तिनले भने: “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकाहरूबाट बौरेर उठेछन्, र यसैकारण तिनमा सामर्थ्यका कार्यहरूले काम गर्दछन्।” 15 अरूले भने: “तिनी एलिया हुन्।” अनि अरूले भने: “तिनी भविष्यवक्ता हुन्, अथवा भविष्यवक्ताहरूमध्ये कुनै एकजनाजस्ता हुन्।” 16 तर जब हेरोदले सुने, तब तिनले भने: “यिनी यूहन्‍नै हुन्, जसको टाउको मैले काटिदिएँ; यिनी मरेकाहरूबाट बौरी उठेका छन्!” 17 किनभने हेरोद आफैले आफ्नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारणले सिपाही पठाई यूहन्‍नालाई पक्रे, र उनलाई झ्यालखानामा बाँधेर राखे; किनकि तिनले यिनलाई विवाह गरेका थिए। 18 किनभने यूहन्‍नाले हेरोदलाई भनेका थिए: “आफ्नो भाइकी पत्‍नीलाई राख्‍नु तपाईंलाई उचित छैन।” 19 यसकारण हेरोदियासले उनीप्रति इबी राखेकी थिइन्, र उनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्; 20 किनभने यूहन्‍ना धर्मी र पवित्र जन हुन् भनी थाहा पाएर हेरोद उनीसँग डराउँथे, र उनलाई सुरक्षित राख्थे; अनि उनको वचन सुनेर तिनले धेरै कुराहरू गरे, र आनन्दपूर्वक उनको कुरा सुन्थे।
21 अनि जब अनुकूल दिन आयो, तब हेरोदले आफ्नो जन्म-दिनमा आफ्ना उच्‍च पदाधिकारीहरू, मुख्य कप्‍तानहरू र गालीलका प्रमुख मानिसहरूलाई भोज दिए। 22 अनि त्यही हेरोदियासकी छोरी भित्र आएर नाची, र हेरोद र तिनीसँग खानामा बस्‍नेहरूलाई खुशी पारी; तब राजाले त्यस ठिटीलाई भने: “तिमी जे चाहन्छ्यौ, त्यही मसित माग, र म तिमीलाई दिनेछु।” 23 अनि तिनले शपथ खाएर त्यसलाई भने: “तिमीले मसित जे माग्छ्यौ, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।” 24 अनि त्यो बाहिर गई, र आफ्नी आमालाई भनी: “म के मागूँ?” अनि तिनले भनिन्: “बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको।” 25 अनि तुरुन्तै त्यो हत्तारिँदै भित्र राजाकहाँ गएर यसो भन्दै मागी: “म इच्छा गर्दछु, हजुरले झट्टै मलाई एउटा थालमा बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको दिनुहोस्!” 26 अनि राजा अत्यन्तै दुःखित भए; तरै पनि आफ्नो शपथ र आफैसित खानामा बस्‍नेहरूको कारणले गर्दा तिनले त्यसलाई इन्कार गर्ने इच्छा गरेनन्। 27 अनि तुरुन्तै राजाले एकजना अङ्गरक्षकलाई पठाए, र उनको टाउको ल्याइयोस् भनी हुकुम गरे; अनि त्यो गयो र झ्यालखानामा उनको टाउको काट्यो। 28 अनि त्यसले उनको टाउको एउटा थालमा ल्यायो र त्यस ठिटीलाई त्यो दियो; अनि त्यस ठिटीले चाहिँ त्यो आफ्नी आमालाई दिई। 29 अनि यो कुरा सुनेर उनका चेलाहरू आए, उनको लाश उठाए र त्यसलाई एउटा चिहानमा राखे।
30 अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे गरेका र सिकाएका थिए, ती सबै कुराहरू उहाँलाई बताए। 31 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू आफै अलग भएर एउटा एकान्त स्थानमा आओ, र केही बेर विश्राम गर!” किनभने आउने-जानेहरू धेरै थिए, र उहाँहरूले खाने समय पनि पाउनुहुन्‍नथियो।
प्रभु येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
मत्ती १४:१५-२१; लूका ९:१०-१७; यूहन्‍ना ६:५-१३
32 अनि उहाँहरू डुङ्गामा चढ़ेर अलग्गै एउटा एकान्त स्थानमा जानुभयो। 33 अनि भीड़हरूले उहाँहरूलाई जाँदै गर्नुभएको देखे, र धेरैले उहाँलाई चिनिहाले, अनि सबै शहरहरूबाट पैदलै त्यतातिर दगुरे, र उहाँहरूलाई उछिने, र उहाँकहाँ भेला भइहाले। 34 अनि निस्कनुभएपछि येशूले एउटा ठूलो भीड़ देख्‍नुभयो, र तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेड़ाहरूजस्ता थिए; अनि तिनीहरूलाई उहाँले धेरै कुराहरूको शिक्षा दिन थाल्नुभयो। 35 अनि दिन धेरै बितिसकेपछि उहाँका चेलाहरूले उहाँकहाँ आएर भने: “यो एउटा एकान्त स्थान हो, र समय धेरै बितिसकेको छ। 36 यिनीहरूलाई पठाइदिनुहोस्, र यिनीहरूले वरिपरिका गाउँ र बस्तीहरूमा गएर आफ्ना निम्ति रोटी किनून्; किनकि यिनीहरूसँग केही खानेकुरा छैन।” 37 तर उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो: “तिमीहरूले नै यिनीहरूलाई खान देओ!” अनि तिनीहरूले उहाँलाई भने: “के हामी गएर दुई सय दीनारका रोटी किनौं, र यिनीहरूलाई खान दिऔं?” 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ, र हेर!” अनि थाहा भएपछि तिनीहरूले भने: “पाँचवटा; र दुईवटा माछा।” 39 अनि सबैलाई दल-दल गरी हरियो घाँसमाथि बस्‍न लगाउनू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। 40 अनि तिनीहरू सय-सय र पचास-पचासजनाका लहरहरूमा बसे। 41 अनि पाँचवटा रोटी र दुईवटा माछा लिएर उहाँले माथि स्वर्गतिर हेर्नुभयो, अनि आशिष्‌ दिनुभयो र रोटीहरू भाँच्‍नुभयो, अनि यिनीहरूको सामु राखिदिनलाई आफ्ना चेलाहरूलाई दिनुभयो; अनि ती दुईवटा माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। 42 अनि ती सबैले खाए, र अघाए। 43 अनि तिनीहरूले बाह्र डालाभरि टुक्राहरू उठाए, र माछाहरूका पनि। 44 अनि रोटी खानेहरू प्राय: पाँच हजार पुरुष थिए।
प्रभु येशू समुद्रमाथि हिँड़्‍नुभयो
मत्ती १४:२२-३३; यूहन्‍ना ६:१५-२१
45 अनि तुरुन्तै उहाँले आफ्ना चेलाहरूलाई, आफूले भीड़लाई बिदा गरुन्जेल डुङ्गामा चढ़्न र आफूभन्दा अघि पारिपट्टि बेथसैदातिर जान कर लाउनुभयो। 46 अनि तिनीहरूलाई बिदा दिइसक्‍नुभएपछि उहाँ प्रार्थना गर्नलाई पहाड़मा जानुभयो। 47 अनि साँझ पर्दा त्यो डुङ्गा समुद्रको माझमा थियो, र उहाँ एकलै जमिनमा हुनुहुन्थ्यो। 48 अनि उहाँले तिनीहरूलाई खियाउनमा मेहनत गरिरहेका देख्‍नुभयो, किनकि बतास तिनीहरूको विपरीत चलिरहेको थियो; अनि रातको चौथो पहरतिर उहाँ समुद्रमाथि हिँड़्‍दै तिनीहरूकहाँ आउनुभयो, र उहाँले तिनीहरूलाई उछिनेर जाने इच्छा गर्नुभयो। 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब तिनीहरूले भूत हो भन्ठानेर चिच्‍च्याए; 50 किनकि तिनीहरू सबैले उहाँलाई देखे, र आत्तिए; अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म हुँ; नडराओ!” 51 अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र पस्‍नुभयो, र बतास थामियो; अनि आपसमा तिनीहरू अत्यन्तै छक्‍क परे, र अचम्म माने; 52 किनभने तिनीहरूले रोटीहरूको विषयमा बुझेनन्, किनकि तिनीहरूको हृदय कठोर भएको थियो।
53 अनि पारि तर्नुभएपछि उहाँहरू गेन्‍नेसरेतको मुलुकमा आइपुग्‍नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो। 54 अनि उहाँहरू डुङ्गाबाट निस्कनुभएपछि तुरुन्तै तिनीहरूले उहाँलाई चिनिहाले, 55 अनि वरिपरिका सबै इलाकाहरूभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुन्थे, त्यहाँ-त्यहाँ तिनिहरूले बिरामीहरूलाई खाटहरूमा बोकेर लैजान थाले। 56 अनि गाउँहरू, शहरहरू वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्‍नुहुन्थ्यो, त्यहाँ-त्यहाँ तिनीहरूले बिरामीहरूलाई सड़कहरूमा राखिदिन्थे, र उहाँको वस्त्रको किनार मात्र भए पनि तिनीहरूले छुन पाऊन् भनी उहाँलाई विन्‍ती गर्थे; र जतिले उहाँलाई छोए, तिनीहरू निको भए।