दुष्ट आत्माहरूको फौज निकालियो
मत्ती ८:२८-३४; लूका ८:२६-३९
5
अनि उहाँहरू समुद्रको पारिपट्टि गादारेनीको देशमा आउनुभयो। 2 अनि उहाँ डुङ्गाबाट निस्कनुभएपछि तुरुन्तै एकजना अशुद्ध आत्मा लागेको मान्छेले चिहानहरूबाट उहाँलाई भेट्यो, 3 जसको बसाइचाहिँ चिहानहरूकै बीचमा थियो; अनि कसैले पनि त्यसलाई साङ्लाहरूले धरि बाँध्न सकेको थिएन; 4 किनभने त्यो धेरैपल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो; तर त्यसद्वारा साङ्लाहरू चुँड़ाइएका थिए र नेलहरू टुक्रा-टुक्रा पारिएका थिए; र कसैले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। 5 अनि त्यो सधैंभरि, रातदिन चिच्च्याउँदै र आफैलाई ढुङ्गाहरूले काट्दै पहाड़हरू र चिहानहरूमा रहन्थ्यो। 6 तर टाढ़ाबाट येशूलाई देखेर त्यो दगुर्यो, र त्यसले उहाँलाई दण्डवत् गर्यो, 7 र ठूलो सोरले कराएर भन्यो: “हे परमप्रधान परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के काम छ र? परमेश्वरको नाममा म तपाईंलाई विन्ती गर्दछु, तपाईंले मलाई पीड़ा नदिनुहोस्!” 8 किनभने उहाँले त्यसलाई ‘हे अशुद्ध आत्मा, तँ त्यस मान्छेबाट निस्की’ भनी भन्नुभएको थियो; 9 अनि उहाँले त्यसलाई सोध्नुभयो: “तेरो नाम के हो?” अनि त्यसले यसो भन्दै जवाफ दियो: “मेरो नाम फौजक हो; किनभने हामी धेरै छौं” 10 अनि उहाँले तिनीहरूलाई देशबाट बाहिर नपठाऊन् भनी त्यसले उहाँलाई खूबै विन्ती गर्यो। 11 अब त्यहाँ, पहाड़हरूको छेवैमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 12 अनि ती सबै दुष्ट आत्माहरूले उहाँलाई यसो भन्दै विन्ती गरे: “हामीलाई ती सुँगुरहरूभित्र पठाइदिनुहोस्, र हामी तीभित्र पस्न पाऔं!” 13 अनि तुरुन्तै येशूले तिनीहरूलाई अनुमति दिनुभयो, र ती अशुद्ध आत्माहरू निस्केर ती सुँगुरहरूभित्र पसे; (ती प्राय: दुई हजार थिए); अनि त्यो बगाल डरलाग्दो प्रकारले ओरालै-ओरालो दगुरेर समुद्रभित्र पस्यो, र समुद्रभित्र ती निसासिए।14 अनि सुँगुर चराउनेहरूचाहिँ भागे, र त्यो कुरा शहर र गाउँहुँदो सुनाए। अनि जे भएको थियो, सो हेर्न तिनीहरू निस्केर गए। 15 अनि तिनीहरू येशूकहाँ आए, र त्यस दुष्ट आत्मा लागेको मान्छेलाई, जससँग एउटा फौज नै थियो, बसिरहेको, लुगा पहिरेको र ठीक होशमा भएको देखे; अनि तिनीहरू डराए। 16 अनि ती देख्नेहरूले तिनीहरूलाई त्यस दुष्ट आत्मा लागेको मान्छेमाथि कसरी त्यो घटना आइपर्यो, सो कुरा र ती सुँगुरहरूको विषयमा बताइदिए। 17 अनि तिनीहरूले उहाँलाई ‘हाम्रा इलाकाहरूबाट गइदिनुहोस्’ भनी विन्ती गर्न लागे। 18 अनि जब उहाँ डुङ्गामा पस्नुभयो, तब त्यस दुष्ट आत्मा लागेको मान्छेले ‘तपाईंसँग रहन पाऊँ’ भनी उहाँलाई विन्ती गर्यो। 19 तरै पनि येशूले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो: “घरमा, आफ्ना मानिसहरूकहाँ जाऊ, र प्रभुले* तिम्रा निम्ति कति ठूला-ठूला कामहरू गर्नुभयो र तिमीप्रति कस्तो दया देखाउनुभयो, सो तिनीहरूलाई बताइदेऊ!” 20 अनि त्यो हिँड़्यो र येशूले त्यसका निम्ति कति ठूला-ठूला कामहरू गर्नुभएको थियो, सो कुरा डेकापोलिसमा प्रचार गर्न थाल्यो; अनि सबैजना छक्क परे।
याइरसकी छोरी र रगत बहने स्त्री
मत्ती ९:१८-२६; लूका ८:४०-५६
21 अनि जब येशू डुङ्गामा फेरि पारिपट्टि पुग्नुभयो, तब एउटा ठूलो भीड़ उहाँकहाँ भेला भयो; अनि उहाँ समुद्रको किनारमा हुनुहुन्थ्यो। 22 अनि हेर, सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एकजना आए; अनि उहाँलाई देखेर तिनी उहाँका पाउमा घोप्टो परे, 23 र यसो भन्दै उहाँलाई साह्रै विन्ती गरे: “मेरी सानी छोरी मर्नै आँटेकी छे। हजुर आएर उसमाथि आफ्ना हात राखिदिनुहोस्, र ऊ निको भएकी होस्; र ऊ बाँच्नेछे।” 24 अनि येशू तिनीसँग जानुभयो, अनि एउटा ठूलो भीड़ले उहाँलाई पछ्यायो, र उहाँको वरिपरि खचाखच भयो।
25 अनि कुनै एउटी स्त्री, जसलाई बाह्र वर्षदेखि रगत बग्ने रोग लागेको थियो, 26 र अनेकौं वैद्यहरूबाट धेरै दुःख भोगेकी थिई, अनि आफूसँग भएका सबै कुरा खर्च गरेकी थिई, र केही लाभ भएको थिएन, तर झन् खराब भएको थियो; 27 जब उसले येशूको विषयमा सुनी, तब भीड़मा पछिल्तिर आएर उसले उहाँको वस्त्र छोई; 28 किनकि उसले भन्थी: “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” 29 अनि तुरुन्तै उसको रगतको धारा सुकिहाल्यो, अनि त्यस रोगबाट आफू निको भएको कुरा उसले आफ्नो शरीरमा थाहा पाई। 30 अनि येशूले आफूबाट सामर्थ्य निस्केको तुरुन्तै आफूभित्र थाहा पाएर भीड़मा पछिल्तिर फर्केर भन्नुभयो: “कसले मेरो लुगा छोयो?” 31 अनि उहाँका चेलाहरूले उहाँलाई भने: “तपाईंको वरिपरि भीड़ खचाखच भएको त तपाईंले देख्दै हुनुहुन्छ, र तपाईं भन्नुहुन्छ, ‘कसले मलाई छोयो?’ ” 32 अनि जसले यो कुरा गरेकी थिई, उसलाई देख्न उहाँले चारैतिर हेर्नुभयो। 33 तर आफूभित्र जे भएको थियो, सो थाहा पाएर त्यो स्त्री डराउँदै र काम्दै आई, अनि उहाँको अघिल्तिर भुइँमा घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा बताई। 34 अनि उहाँले उसलाई भन्नुभयो: “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसित जाऊ, र तिम्रो रोगबाट स्वस्थ होऊ!”
35 उहाँ बोलिरहनुहुँदा नै सभाघरका शासककहाँबाट मानिसहरू आए, र भने: “तपाईंकी छोरी त मरिहालिन्। गुरुज्यूलाई अब उसो तपाईं किन दुःख दिनुहुन्छ?” 36 येशूले त्यो भनिएको कुरा सुन्नसाथ ती सभाघरका शासकलाई भन्नुभयो: “नडराऊ, विश्वास मात्र गर!” 37 अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई आफ्नो पछि आउन दिनुभएन। 38 अनि उहाँ सभाघरका शासकको घरमा आउनुभयो; अनि खैलाबैला, साथै रुने र भारी विलाप गर्नेहरूलाई देख्नुभयो। 39 अनि भित्र पस्नुभएपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन खैलाबैला गर्छौ, र रुन्छौ? यो ठिटी मरेकी छैन, तर निदाएकी छे।” 40 अनि तिनीहरूले उहाँलाई खिसी गरेर हाँसिदिए। तर उहाँले सबैलाई बाहिर निकाल्नुभएपछि ठिटीका बुबा र आमा, र आफूसँग भएकाहरूलाई साथमा लिएर उहाँ ठिटी पस्रिरहेको ठाउँमा पस्नुभयो। 41 अनि उहाँले त्यस ठिटीको हात समातेर त्यसलाई भन्नुभयो: “तलिथा कूमी”, जसको अर्थ हो: ‘हे सानी केटी, म तिमीलाई भन्छु, उठ!’ 42 अनि तुरुन्तै त्यो सानी केटी उठी र हिँड़्न थाली, किनभने ऊ बाह्र वर्षकी थिई। अनि तिनीहरू साह्रै छक्क परे। 43 अनि ‘यो कुरा कसैले थाहा नपाओस्’ भनी उहाँले तिनीहरूलाई बारम्बार आज्ञा दिनुभयो, र ‘उसलाई खानलाई केही दिनू’ भनी भन्नुभयो।