बीउ छर्नेको दृष्टान्त
मत्ती १३:१-१७; लूका ८:४-१०
4
अनि फेरि उहाँले समुद्रको किनारमा शिक्षा दिन थाल्नुभयो; अनि एउटा ठूलो भीड़ उहाँकहाँ भेला भयो, यसो हुँदा उहाँ एउटा डुङ्गाभित्र पसेर समुद्रमै रहनुभयो, र सम्पूर्ण भीड़चाहिँ समुद्रको किनारमा, जमिनमाथि थियो। 2 अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूद्वारा धेरै कुराहरू सिकाउनुभयो र आफ्नो शिक्षामा तिनीहरूलाई भन्नुभयो: 3 “सुन! हेर, एकजना बीउ छर्ने मानिस बीउ छर्न निस्क्यो। 4 अनि यस्तो भयो: उसले बीउ छर्दाखेरि केही बाटोको किनारमा खस्यो; अनि आकाशका चराहरू आए, र त्यसलाई खाइदिए। 5 अनि केही ढुङ्गेनी जमिनमा खस्यो, जहाँ त्यसले धेरै माटो पाएन; अनि माटोको गहिराइ नभएको हुनाले त्यो तुरुन्तै उम्रिहाल्यो; 6 तर जब घाम लाग्यो, तब त्यो खरियो, र जरा नभएको हुनाले त्यो सुकिहाल्यो। 7 अनि केही काँड़ाहरूको बीचमा खस्यो; अनि काँड़ाहरू बढ़े, र त्यसलाई निसास्याइदिए, र त्यसले फल फलाएन। 8 अनि केही असल जमिनमा खस्यो, अनि बढ़्दै र फस्टाउँदै गएर फल फलायो; र कसैले तीस, कसैले साठी र कसैले सय गुणा फल फलाए।” 9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “जसका सुन्नलाई कानहरू छन्, त्यसले सुनोस्!”10 अनि जब उहाँ एकलै हुनुहुन्थ्यो, तब उहाँको वरिपरि हुनेहरूले ती बाह्रजनाको साथ उहाँलाई यस दृष्टान्तको विषयमा सोधे। 11 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्न दिइएको छ, तर बाहिर हुनेहरूका लागि सबै कुरा दृष्टान्तहरूमा गरिन्छन्, 12 कि
‘हेर्दाखेरि तिनीहरूले देखून् तर थाहा नपाऊन्, अनि सुन्दाखेरि तिनीहरूले सुनून्, तर नबुझून्; नत्र ता कुनै समय तिनीहरू फर्कलान्, र तिनीहरूका पापहरू तिनीहरूलाई क्षमा होलान्।’ ”क
13 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? तब तिमीहरूले सबै दृष्टान्तहरू कसरी बुझ्नेछौ त? 14 बीउ छर्नेले वचन छर्दछ। 15 अनि बाटोको किनारमा भएकाहरू यी हुन्, जहाँ वचन छरिन्छ; तर तिनीहरूले सुनेपछि तुरुन्तै शैतान आउँछ, र त्यसले तिनीहरूका हृदयमा छरिएको वचन लैजान्छ। 16 यही प्रकारले ढुङ्गेनी जमिनमा छरिएकाहरू यी हुन्, जसले वचन सुनेपछि तुरुन्तै त्यसलाई आनन्दपूर्वक ग्रहण गर्दछन्; 17 अनि तिनीहरूको आफैमा जरा हुँदैन, र यसकारण तिनीहरू थोरै समयसम्म मात्र रहन्छन्; पछि जब वचनको कारणले कष्ट वा खेदो आइपर्दछ, तब तुरुन्तै तिनीहरूले ठेस खान्छन्। 18 अनि काँड़ाहरूको बीचमा छरिएकाहरूचाहिँ यी हुन्, जसले वचन सुन्छन्, 19 अनि यस संसारका चिन्ताफिक्रीहरू, धनसम्पत्तिको धोका र अरू-अरू कुराहरूका अभिलाषाहरू भित्र पसेर वचनलाई निसास्याइदिन्छन्, र त्यो फलहीन बन्छ। 20 अनि असल जमिनमा छरिएकाहरू यी हुन्, जसले वचन सुन्छन् र त्यसलाई ग्रहण गर्छन्, अनि फल फलाउँछन्; कसैले तीस, कसैले साठी र कसैले सय गुणा।”
बत्तीको दृष्टान्त
लूका ८:१६-१८
21 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “के बत्ती पाथीमुनि वा खाटमुनि राख्नलाई ल्याइँदछ र? अनि के सामदानमाथि राख्नलाई होइन र? 22 किनभने कुनै कुरा लुकेको छैन, जो प्रकट हुनेछैन, न ता कुनै कुरा गुप्त राखिएको छ, जो प्रकाशमा आउनेछैन। 23 कसैका सुन्नलाई कानहरू छन् भने त्यसले सुनोस्!” 24 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू के सुन्दछौ, होशियार होओ; जुन नापले तिमीहरू नाप्दछौ, त्यही नाप तिमीहरूका निम्ति नापिनेछ, र तिमी सुन्नेहरूलाई बढ़ी दिइनेछ। 25 किनकि जससँग छ, उसलाई दिइनेछ; र जससँग छैन, ऊसँग जे छ, त्यो पनि ऊबाट लिइनेछ।” 26 अनि उहाँले भन्नुभयो: “परमेश्वरको राज्य यस्तो छ : मानो एकजना मानिसले जमिनमा बीउ छर्छ, 27 अनि सुत्छ र उठ्छ, राती र दिउँसो; अनि बीउ उम्रन्छ र बढ़्छ; कसरी, उसले जान्दैन। 28 किनभने पृथ्वी आफैले फल फलाउँछ : पहिले पात, त्यसपछि बाला, त्यसपछि बालामा पूरा अन्न। 29 तर जब फल लाग्छ, तब उसले तुरुन्तै हँसिया लगाउँछ, किनभने कटनी आएको छ।”
रायोको बीउको दृष्टान्त
मत्ती १३:३१-३२; लूका १३:१८-१९
30 अनि उहाँले भन्नुभयो: “परमेश्वरको राज्य हामी केसँग तुलना गरौं? अथवा कुनचाहिँ दृष्टान्तसँग हामी यसलाई दाँजौं? 31 यो रायोको एउटा दानाजस्तो हो, जुनचाहिँ भुइँमा छरिँदा पृथ्वीमा हुने सबै बीउहरूभन्दा सानो हुन्छ; 32 तर छरिएपछि यो बढ़्छ र सबै सागपातहरूभन्दा ठूलो हुन्छ, र ठूला-ठूला हाँगाहरू हाल्छ; यसो हुँदा आकाशका चराहरू यसको छहारीमा वास बस्न सक्छन्।” 33 अनि यस्ता धेरै दृष्टान्तहरूद्वारा उहाँले तिनीहरूलाई, तिनीहरूको सुन्ने क्षमता भएअनुसार वचन सुनाउनुभयो। 34 तर विनादृष्टान्त उहाँ तिनीहरूसँग बोल्नुभएन; अनि उहाँहरू एकान्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुराहरूको अर्थ खोलिदिनुहुन्थ्यो।
प्रभु येशूले आँधी शान्त पार्नुभयो
मत्ती ८:२३-२७; लूका ८:२२-२५
35 अनि त्यही दिन, साँझ परेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “लौ, हामी पारिपट्टि जाऔं!” 36 अनि भीड़लाई बिदा दिएपछि तिनीहरूले उहाँलाई, जस्तो उहाँ डुङ्गामा हुनुहुन्थ्यो, त्यस्तै नै लिएर गए। अनि उहाँको साथमा अरू साना-साना डुङ्गाहरू पनि थिए। 37 अनि एउटा ठूलो आँधी चल्यो, र छालहरू डुङ्गामाथि बजारिए, यसो हुँदा त्यो अब पानीले भरियो। 38 अनि उहाँचाहिँ जहाजको पछिल्लो भागमा सिरानीमा सुत्नुभएको थियो; अनि तिनीहरूले उहाँलाई बिउँझाए र उहाँलाई भने: “हे गुरु, हामी नष्ट भइरहेका छौं, के तपाईं वास्ता गर्नुहुन्न?” 39 अनि उहाँ उठ्नुभयो र बतासलाई हकार्नुभयो, अनि समुद्रलाई भन्नुभयो: “चुप लाग्! शान्त हो!” अनि बतास थामियो, र एकदमै शान्त भयो। 40 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन यसरी डराउँछौ? तिमीहरूसँग विश्वास छैन, कसरी?” 41 अनि तिनीहरू साह्रै डराए, र आपसमा भने: “यहाँ त कस्ता किसिमका मानिस हुनुहुँदो रहेछ, बतास र समुद्रले पनि यहाँको आज्ञा पालन गर्दा रहेछन्!”