विश्रामदिनमा प्रभु येशूले निको पार्नुभयो
मत्ती १२:९-१४; लूका ६:६-११
3
अनि उहाँ सभाघरभित्र फेरि पस्नुभयो, र त्यहाँ सुकेको हात भएको एकजना मानिस थियो। 2 अनि उहाँलाई दोष लाउनका निम्ति, उहाँले विश्रामदिनमा कहीं त्यस मानिसलाई निको पार्नुहुन्छ कि भनी तिनीहरूले उहाँलाई चियो गरिरहेका थिए। 3 अनि उहाँले त्यस सुकेको हात भएको मानिसलाई भन्नुभयो: “माझमा खड़ा होऊ!” 4 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “विश्रामदिनहरूमा भलाइ गर्नु उचित छ कि खराबी गर्नु, प्राण बचाउनु कि मार्नु?” तर तिनीहरू चुप रहे। 5 अनि तिनीहरूको हृदयको कठोरताको कारणले दुःखित भई उहाँले रिसले तिनीहरूलाई चारैतिर हेर्नुभयो, र त्यस मानिसलाई भन्नुभयो: “तिम्रो हात पसार!” अनि त्यसले हात पसार्यो, र त्यसको हात अर्कोजस्तै स्वस्थ पारियो। 6 अनि फरिसीहरू बाहिर गए, र उहाँलाई कसरी नाश पारौं भनी उहाँको विरोधमा हेरोदीहरूसँग तुरुन्तै सल्लाह गरे।7 तर येशू आफ्ना चेलाहरूसँग समुद्रतिर हटेर जानुभयो; अनि गालीलबाट एउटा ठूलो भीड़ले उहाँलाई पछ्यायो; अनि यहूदियाबाट, 8 यरूशलेमबाट, इदुमियाबाट र यर्दनपारिबाट, साथै टायर र सिडोनको वरिपरिकाहरू, एउटा ठूलो भीड़ उहाँले कति महान् कामहरू गरिरहनुभएको छ भन्ने सुनेर उहाँकहाँ आए। 9 अनि भीड़को कारणले गर्दा, कहीं तिनीहरूले उहाँलाई मिच्लान् कि भनेर उहाँका लागि एउटा सानो डुङ्गा तयार रहोस् भनी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो। 10 किनकि उहाँले धेरैलाई निको पार्नुभएको थियो; यहाँसम्म कि रोगले पीड़ित भएकाहरू जति उहाँलाई छुनका निम्ति उहाँमाथि ठेलमठेला गर्थे। 11 अनि जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे, तब तिनीहरू उहाँको सामु भुइँमा घोप्टो परेर यसो भन्दै कराउँथे: “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” 12 अनि तिनीहरूले उहाँलाई नचिनाऊन् भनी उहाँले तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो।
बाह्रजना प्रेरितहरू चुनिए
मत्ती १०:१-४; लूका ६:१२-१६
13 अनि उहाँ पहाड़माथि चढ़्नुभयो, अनि जस-जसलाई उहाँले चाहनुभयो, उनीहरूलाई उहाँले आफूकहाँ बोलाउनुभयो; र उनीहरू उहाँकहाँ आए। 14 अनि उनीहरू उहाँको साथमा रहून्, र उनीहरूलाई उहाँले प्रचार गर्न पठाउन सकून्, 15 अनि रोगहरू निको पार्ने र दुष्ट आत्माहरू निकाल्ने अधिकार पाऊन् भनेर उहाँले बाह्रजनालाई नियुक्त गर्नुभयो : 16 शिमोन, जसको नाम उहाँले पत्रुस राख्नुभयो; 17 अनि जब्दीका छोरा याकूब र याकूबका भाइ यूहन्ना; उहाँले तिनीहरूलाई ‘बोअनर्गेस’ अर्थात् ‘गर्जनका छोराहरू’ भन्ने नाम दिनुभयो; 18 अनि अन्द्रियास, फिलिप, बार्थोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थद्देयस, शिमोन कनानीक, 19 र यहूदा इस्करयोती, जसले चाहिँ उहाँलाई पक्राइदियो। अनि उहाँहरू एउटा घरभित्र जानुभयो। 20 अनि भीड़ फेरि भेला भइगयो, यहाँसम्म कि उहाँहरूले रोटी पनि खान सक्नुभएन। 21 अनि यो कुरा सुनेर उहाँका आफन्तहरू उहाँलाई पक्रन निस्के; किनकि ‘उहाँको होश ठेगानमा छैन’ भनी उनीहरू भन्थे।
पवित्र आत्माको निन्दा
मत्ती १२:२४-३२; लूका ११:१४-२३
22 अनि यरूशलेमबाट तल आएका शास्त्रीहरूले चाहिँ यसो भन्थे: “यससँग बेल्जेबुल छ, र दुष्ट आत्माहरूको शासकद्वारा यसले दुष्ट आत्माहरू निकाल्छ।” 23 अनि उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र दृष्टान्तहरूद्वारा तिनीहरूलाई भन्नुभयो: “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ र? 24 अनि कुनै राज्यमा आपसमा फाटो भयो भने त्यो राज्य खड़ा रहन सक्दैन। 25 अनि कुनै घरमा आपसमा फाटो भयो भने त्यो घर खड़ा रहन सक्दैन। 26 अनि शैतानले पनि आफ्नै विरोधमा उठेर फाटो ल्यायो भने त्यो खड़ा रहन सक्दैन, तर त्यसको अन्त नै हुन्छ। 27 कसैले बलियो मानिसलाई पहिले बाँधेन भने यसले त्यसको घरभित्र पस्न र त्यसका मालसामान लुट्न सक्दैन; अनि त्यसपछि यसले त्यसको घर लुट्नेछ। 28 म तिमीहरूलाई साँचो भन्दछु, सबै पापहरू र जे-जे ईश्वरनिन्दा तिनीहरूले गर्लान्, मानिसहरूका सन्तानलाई ती क्षमा हुनेछन्; 29 तर जसले पवित्र आत्माको विरोधमा निन्दा गदर्छ, त्यसले कहिल्यै क्षमा पाउँदैन, तर त्यो अनन्त दण्डको योग्य ठहर्दछ।” 30 किनभने तिनीहरूले ‘त्यससँग अशुद्ध आत्मा छ’ भने।
एउटा नयाँ सम्बन्ध
मत्ती १२:४६-५०; लूका ८:१९-२१
31 तब उहाँका भाइहरू र उहाँकी आमा आए, र बाहिर उभिएर उहाँलाई बोलाइपठाए। 32 अनि भीड़ उहाँको चारैपट्टि बसिरहेको थियो; र तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर तपाईंलाई खोज्दैछन्।” 33 अनि उहाँले तिनीहरूलाई यसो भन्दै जवाफ दिनुभयो: “मेरी आमा वा मेरा भाइहरू को हुन्?” 34 अनि आफ्नो चारैतिर बस्नेहरूलाई वरिपरि हेरेर उहाँले भन्नुभयो: “हेर, मेरी आमा र मेरा भाइहरू! 35 किनभने जसले परमेश्वरको इच्छा पूरा गर्दछ, उही नै मेरो भाइ, मेरी बहिनी र आमा हुन्।”