पक्षाघात भएको मानिस निको पारियो
मत्ती ९:१-८; लूका ५:१७-२६
2
अनि केही दिनपछि उहाँ फेरि कपर्नहुममा पस्‍नुभयो; अनि उहाँ घरभित्र हुनुहुन्छ भन्‍ने कुरा सुनियो। 2 अनि तुरुन्तै धेरैजना भेला भइगए, यहाँसम्म कि तिनीहरूका निम्ति ढोकाको वरिपरि पनि ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। 3 अनि चारजनाद्वारा बोकिएको कुनै पक्षाघातको रोगीलाई लिएर तिनीहरू उहाँकहाँ आए। 4 अनि जब भीड़को कारणले तिनीहरू उहाँको नजिक आउन सकेनन्, तब तिनीहरूले उहाँ हुनुभएको ठाउँको छाना उघारे, र छेड़ पारिसकेपछि तिनीहरूले त्यो पक्षाघातको रोगी पस्रिरहेको ओछ्यान तल ओराले। 5 जब येशूले तिनीहरूको विश्‍वास देख्‍नुभयो, तब उहाँले त्यस पक्षाघातको रोगीलाई भन्‍नुभयो: “हे छोरा, तिम्रा पापहरू तिमीलाई क्षमा भए।” 6 तर केही शास्त्रीहरू त्यहाँ बसिरहेका र आ-आफ्ना हृदयहरूमा विचार गरिरहेका थिए: 7 “त्यस मान्छेले किन यसरी ईश्‍वरनिन्दा गर्दछ? एकैजना अर्थात् परमेश्‍वरले बाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ र?” 8 अनि तिनीहरूले आ-आफ्ना मनमा यसरी विचार गरिरहेका छन् भनी येशूले तुरुन्‍तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आ-आफ्ना हृदयहरूमा यी कुराहरू सोच्दछौ? 9 यस पक्षाघातको रोगीलाई कुन कुरा भन्‍नु सजिलो छ? ‘तिम्रा पापहरू तिमीलाई क्षमा भए’ भन्‍नु कि ‘उठ, र आफ्नो ओछ्यान उठाएर हिँड़’ भन्‍नु? 10 तर मानिसका पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान भनेर” (उहाँले यस पक्षाघातको रोगीलाई भन्‍नुभयो) 11 “म तिमीलाई भन्दछु: उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घरमा जाऊ!” 12 अनि तुरुन्तै त्‍यो उठ्यो, आफ्नो ओछ्यान उठायो र सबैको सामुन्‍नेबाट गयो; यहाँसम्म कि सबैजना छक्‍क परे, र यसो भन्दै परमेश्‍वरलाई महिमा दिए: “हामीले यसरी कहिल्यै देखेका थिएनौं।”
लेवीको बोलावट
मत्ती ९:९-१५; लूका ५:२७-३५
13 अनि उहाँ फेरि समुद्रको किनारमा जानुभयो; अनि सारा भीड़ उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। 14 अनि त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई महसूल उठाउने ठाउँमा बसिरहेका देख्‍नुभयो र तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।
15 अनि यस्तो भयो: येशू तिनको घरमा खानका निम्ति बस्‍नुभएको बेला धेरै महसूल उठाउनेहरू र पापीहरू पनि येशू र उहाँका चेलाहरूसँगै बसिरहेका थिए; किनकि ती धेरै थिए, र तिनीहरू उहाँको पछि लागे। 16 अनि जब शास्त्री र फरिसीहरूले उहाँलाई महसूल उठाउनेहरू र पापीहरूसँग खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई भने: “तिनी त महसूल उठाउनेहरू र पापीहरूसँग खान्छन् र पिउँछन्, कसरी?” 17 अनि येशूले यो सुनेर तिनीहरूलाई भन्‍नुभयो: “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ; म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापका निम्ति बोलाउन आएको हुँ।”
पुरानो वस्त्र र पुरानो छालाको थैली
मत्ती ९:१४-१७; लूका ५:३३-३९
18 अनि यूहन्‍नाका र फरिसीहरूका चेलाहरू उपवास बस्दथे; अनि आएर तिनीहरूले उहाँलाई भने: “किन यूहन्‍नाका र फरिसीहरूका चेलाहरू उपवास बस्दछन्, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” 19 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “जबसम्म दुलहा उनीहरूको साथमा छन्, तबसम्म के दुलहाका साथीहरू उपवास बस्‍न सक्छन् र? दुलहा उनीहरूको साथमा रहुन्‍जेल उनीहरू उपवास बस्‍न सक्दैनन्। 20 तर दिनहरू आउनेछन्, जब दुलहा उनीहरूकहाँबाट लगिनेछन्, र तब, ती दिनहरूमा उनीहरू उपवास बस्‍नेछन्। 21 कुनै मानिसले पनि पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन; नत्रभने त्यहाँ लगाइएको नयाँ टालोले पुरानोबाट खिँच्दछ, र फटाइ झन् खराब पारिन्छ। 22 अनि कसैले पनि नयाँ दाखमद्य पुराना मशकहरूमा हाल्दैन; नत्रभने नयाँ दाखमद्यले ती मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य पोखिन्छ, र मशकहरू नष्‍ट हुनेछन्; तर नयाँ दाखमद्य नयाँ मशकहरूमा नै हालिनुपर्छ।”
ख्रीष्‍ट येशू विश्रामदिनका पनि प्रभु हुनुहुन्छ
मत्ती १२:१-८; लूका ६:१-५
23 अनि यस्तो भयो: उहाँ विश्रामदिनमा अन्‍नका बारीहरूबाट भएर जानुभयो; अनि उहाँहरू जाँदै गर्नुहुँदा उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले। 24 अनि फरिसीहरूले उहाँलाई भने: “हेर्नुहोस्, विश्रामदिनमा जुन कुरा उचित छैन, त्यही कुरा तिनीहरूले किन गर्दछन्?” 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जब दाऊद खाँचोमा परे, अनि उनी र उनीसित भएकाहरू भोकाए, तब उनले के गरे, के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ? 26 कसरी उनले अबियाथार महापूजाहारीका दिनहरूमा परमेश्‍वरको भवनभित्र पसेर भेटीका रोटीहरू खाए, जुनचाहिँ पूजाहारीहरूलाई बाहेक अरू कसैलाई खानु उचित छैन, र उनले आफूसँग भएकाहरूलाई पनि दिए?” 27 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “विश्रामदिन मानिसका निम्ति बनाइएको हो, तर मानिस विश्रामदिनका निम्ति होइन। 28 यसकारण मानिसका पुत्र विश्रामदिनका पनि प्रभु हुन्।”