प्रभु येशूको बौरिउठाइ र त्यस दिनको घटना
मर्कूस १६:१-४; लूका २४:१-४९; यूहन्‍ना २०:१-२३
28
अब विश्रामदिनको अन्तमा, हप्‍ताको पहिलो दिनमा मिरमिरे उज्यालो हुँदै गर्दा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। 2 अनि हेर, ठूलो भुइँचालो गयो; किनभने प्रभुका दूत स्वर्गबाट ओर्ले, अनि आएर तिनले ढोकाबाट त्यो ढुङ्गा गुड़ाएर हटाए, र तिनी त्यसमाथि बसे। 3 तिनको चेहरा बिजुलीजस्तै र तिनको वस्त्र हिउँजस्तै सेतो थियो। 4 अनि ती पहरेदारहरू तिनको डरले लगलग कामे र मुर्दाहरूसरह भए। 5 अनि स्वर्गदूतले जवाफ दिएर ती स्त्रीहरूलाई भने: “नडराओ; किनकि म जान्दछु, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। 6 उहाँ यहाँ हुनुहुन्‍न; किनभने उहाँले भन्‍नुभएअनुसार उहाँ बौरेर उठ्नुभयो। आओ, प्रभुलाई राखिएको ठाउँ हेर! 7 अनि चाँड़ो गएर उहाँका चेलाहरूलाई ‘उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो’ भनी भनिदेओ; अनि हेर, उहाँ तिमीहरूभन्दा पहिले गालील जानुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्‍नेछौ; हेर, मैले तिमीहरूलाई भनेको छु!” 8 अनि तिनीहरू डर र ठूलो आनन्दको साथ त्‍यस चिहानबाट छिटो-छिटो निस्के, र उहाँका चेलाहरूलाई खबर पुर्‍याउन दगुरे। 9 अनि तिनीहरू उहाँका चेलाहरूलाई खबर दिन जाँदै गर्दा हेर, येशूले तिनीहरूलाई यसो भन्दै भेट्नुभयो: “सलाम!” अनि आएर तिनीहरूले उहाँका पाउ पक्री उहाँलाई दण्डवत् गरे। 10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “नडराओ; जाओ, मेरा भाइहरूलाई ‘गालील जानू’ भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन्।”
11 अब तिनीहरू जाँदै गर्दा हेर, पहरेदार सिपाहीहरूमध्ये कोही शहरमा आए, र मुख्य पूजाहारीहरूलाई भएका सबै घटनाहरू बताइदिए। 12 अनि बूढ़ा प्रधानहरूसँग भेला भएर सल्‍लाह लिएपछि तिनीहरूले ती सिपाहीहरूलाई यसो भन्दै धेरै पैसा दिए: 13 “तिमीहरूले भन्‍नू, ‘त्यसका चेलाहरू राती आएर हामी निदाइरहेका बेलामा त्यसलाई चोरेर लगेछन्।’ 14 अनि यो कुरा राज्यपालको कानमा पुग्यो भने हामी उनलाई मनाउनेछौं र तिमीहरूलाई जोगाइदिनेछौं।” 15 तब तिनीहरूले त्यो पैसा लिए, र जस्तो सिकाइएको थियो, त्यस्तै गरे; अनि आजसम्म पनि यही कुरा यहूदीहरूको बीचमा फैलिएको छ।
प्रभु येशूको महान् आज्ञा
मर्कूस १६:१५-१८ ; लूका २४:४६-४८; प्रेरित १:८
16 तब एघारजना चेलाहरू गालीलमा, येशूले तिनीहरूलाई खटाउनुभएको पहाड़मा गए। 17 अनि उहाँलाई देखेर तिनीहरूले उहाँलाई दण्डवत् गरे; तर कति जनाले शङ्का गरे। 18 अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। 19 यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्‍तिस्‍मा देओ, 20 मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ; अनि हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु।” आमेन!