यहूदा इस्करयोतीको पछुतो
प्रेरित १:१६-१९
27
जब बिहान भयो, तब सबै मुख्य पूजाहारीहरू र जनताका बूढ़ा प्रधानहरूले येशूलाई मार्नलाई उहाँको विरोधमा मतो गरे। 2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे र उहाँलाई राज्यपाल पोन्तियस पिलातसकहाँ सुम्पिदिए। 3 तब उहाँमाथि दण्डको आज्ञा भएको देखेर उहाँलाई पक्राइदिने यहूदा पछुतायो, र त्यसले ती चाँदीका तीस सिक्‍का मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूकहाँ यसो भन्दै फर्काएर ल्यायो: 4 “मैले निर्दोषको रगत बगाउनलाई पक्राइदिएर पाप गरेको छु।” अनि तिनीहरूले भने: “हामीलाई के? तिमी आफै जान!” 5 अनि ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकिर त्यो हिँड़्यो, अनि गएर त्यसले आफैलाई फाँसी लगायो। 6 अनि मुख्य पूजाहारीहरूले ती चाँदीका सिक्‍काहरू लिएर भने: “यिनलाई मन्दिरको ढुकुटीमा राख्‍नु उचित हुँदैन, किनकि यो रगतको दाम हो।” 7 अनि तिनीहरूले मतो गरे र परदेशीहरूलाई गाड्‍नका निम्ति ती सिक्‍काले कुमालेको जमिन किने। 8 यसैकारण आजको दिनसम्म पनि त्यस जमिनलाई ‘रगतको जमिन’ भनिन्छ। 9 तब भविष्यवक्ता यर्मियाद्वारा यसो भन्दै बोलिएको वचन पूरा भयो:
‘अनि उहाँको मूल्य, चाँदीका तीस सिक्‍का तिनीहरूले लिए, जुन मूल्यचाहिँ इस्राएलहरूले उहाँका निम्ति तोकेका थिए, 10 अनि परमप्रभुले* मलाई खटाउनुभएमुताबिक तिनीहरूले तिनलाई कुमालेको जमिनका निम्ति दिए।’
पिलातसद्वारा प्रभु येशूको जाँच
मर्कूस १५:२-५; लूका २३:२-३; यूहन्‍ना १८:२९-३८
11 अनि येशू राज्यपालको सामु उभिनुभयो; र राज्यपालले उहाँलाई यसो भन्दै सोधे: “के तिमी यहूदीहरूका राजा हौ?” अनि येशूले तिनलाई भन्‍नुभयो: “तपाईं नै भन्दै हुनुहुन्छ।” 12 अनि जब मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूले उहाँलाई दोष लगाए, तब उहाँले एउटै जवाफ दिनुभएन। 13 तब पिलातसले उहाँलाई भने: “तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?” 14 अनि उहाँले तिनलाई एक शब्द पनि जवाफ दिनुभएन, यहाँसम्म कि राज्यपाल साह्रै छक्‍क परे।
येशू कि बरब्बा?
मर्कूस १५:६-१५; लूका २३:१३-२५
15 अब चाड़को समयमा मानिसहरूका निम्ति तिनीहरूले इच्छा गरेको कैदीलाई छोड़िदिने राज्यपालको चलन थियो। 16 अनि त्यस बेला तिनीहरूको बरब्बा नाम भएको नामी कैदी थियो। 17 यसकारण तिनीहरू भेला हुँदा पिलातसले तिनीहरूलाई भने: “तिमीहरूका निम्ति म कसलाई छोड़िदिऊँ – तिमीहरू कसलाई चाहन्छौ? बरब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?” 18 किनकि डाहाले गर्दा तिनीहरूले उहाँलाई सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। 19 तिनी न्यायआसनमा बसिरहेका बेलामा तिनकी पत्‍नीले यसो भनी तिनीकहाँ पठाइन्: “त्यस धर्मी मानिससँग केही सरोकार नराख्‍नुहोस्, किनकि आज मैले सपनामा तिनको कारणले धेरै दुःख भोगेकी छु।” 20 तर मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूले भीड़हरूलाई, ‘तिमीहरूले बरब्बालाई छोड़िमाग्‍नू र येशूलाई चाहिँ नाश गर्नू’ भनी सुर्‍याए। 21 राज्यपालले जवाफ दिएर तिनीहरूलाई भने: “यी दुईजनामा तिमीहरूका निम्ति म कसलाई छोड़िदिऊँ – तिमीहरू कसलाई चाहन्छौ?” तिनीहरूले भने: “बरब्बालाई!” 22 पिलातसले तिनीहरूलाई भने: “तब ख्रीष्‍ट भन्‍ने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले तिनलाई भने: “त्यो क्रूसमा टँगाइयोस्!” 23 अनि राज्यपालले भने: “किन? उसले के कुकर्म गरेको छ र?” तर यसो भन्दै तिनीहरू झन् बेसी चिच्‍च्याए: “त्यो क्रूसमा टँगाइयोस्!!” 24 आफ्नो केही सीप नलागेको, बरु झन् कोलाहल मच्‍चिएको देखेर पिलातसले पानी लिए र भीड़को सामु यसो भन्दै आफ्ना हात धोए: “मचाहिँ यस धर्मी मानिसको रगतदेखि निर्दोष छु; तिमीहरू आफै जान!” 25 तब सबै मानिसहरूले जवाफ दिएर भने: “त्यसको रगत हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि परोस्!” 26 तब तिनले तिनीहरूका निम्ति बरब्बालाई छोड़िदिए, र येशूलाई चाहिँ कोर्रा लगाएर क्रूसमा टँगाइनका निम्ति सुम्पिदिए।
काँड़ाको मुकुट, गिल्‍ला र क्रूस
मर्कूस १५:१६-४१; लूका २३:२६-४९ यूहन्‍ना १९:१६-३७
27 तब राज्यपालका सिपाहीहरूले येशूलाई राजभवनमा लगे र सम्पूर्ण पल्टनलाई उहाँकहाँ भेला गरे। 28 अनि उहाँका वस्त्रहरू फुकालेर तिनीहरूले उहाँलाई सिन्दूरे रङ्गको वस्त्र पहिराइदिए। 29 अनि काँड़ाको मुकुट गाँथेर तिनीहरूले त्यो उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अघिल्तिर घुँड़ा टेक्दै ‘सलाम यहूदीहरूका राजा!’ भन्दै उहाँलाई खिसी गरे। 30 अनि तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँलाई शिरमा हिर्काए।
31 अनि उहाँलाई गिल्‍ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र उहाँबाट फुकालिदिए, र उहाँलाई उहाँको आफ्नै वस्त्रहरू पहिराइदिए, अनि उहाँलाई क्रूसमा टाँग्‍न लगे। 32 अनि तिनीहरू बाहिर जाँदै गर्दा शिमोन नाम भएको कुरेनीका एकजना मानिसलाई तिनीहरूले भेट्टाए; तिनैलाई तिनीहरूले उहाँको क्रूस बोक्न कर लगाए। 33 अनि जब तिनीहरू गलगथा भनिने ठाउँमा आइपुगे, जसको अर्थ हो ‘खोपड़ीको ठाउँ’, 34 तब तिनीहरूले उहाँलाई पित्त मिलाएको सिर्का पिउन दिए; अनि उहाँले चाख्नुभएपछि पिउने इच्छा गर्नुभएन। 35 अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र उहाँका वस्त्रहरू गोला हालेर बाँड़े; योचाहिँ भविष्यवक्ताद्वारा बोलिएको वचन पूरा हुनलाई भएको हो:
‘तिनीहरूले मेरा वस्त्रहरू आपसमा बाँड़े, र मेरा पोसाकको लागि गोला हाले।’
36 अनि त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिए; 37 अनि ‘यिनी यहूदीहरूका राजा, येशू हुन्’ भनी लेखिएको उहाँको दोषपत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। 38 तब दुईजना डाँकूहरू पनि उहाँसँगै क्रूसमा टँगाइए – एकजना दाहिने हातपट्टि र अर्को देब्रेपट्टि। 39 अनि त्यहाँबाट आउने-जानेहरूले आफ्ना टाउका हल्‍लाई-हल्‍लाई यसो भन्दै उहाँलाई गिल्‍ला गर्दथे: 40 “एई, मन्दिर भत्काएर तीन दिनमा बनाउने, आफैलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्ली आइज!” 41 त्यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र बूढ़ा प्रधानहरूसँगसँगै उहाँलाई गिल्‍ला गर्दै यसो भने: 42 “यसले अरूलाई बचायो; आफैलाई चाहिँ यसले बचाउन सक्दैन। यो इस्राएलको राजा हो भने अब क्रूसबाट ओर्ली आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं। 43 यसले परमेश्‍वरमाथि भरोसा गर्थ्यो; उहाँले यसलाई चाहनुहुन्छ भने उहाँले अहिल्यै यसलाई छुटकारा दिऊन्, किनभने यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनी भन्थ्यो।” 44 उहाँसँगै क्रूसमा टाँगिएका डाँकूहरूले पनि उहाँलाई त्यसरी नै निन्दा गरे।
45 अब बाह्र बजेदेखि तीन बजेसम्म सारा देशभरि अँध्यारो भयो। 46 तीन बजेतिर येशू यसो भन्दै ठूलो सोरले कराउनुभयो: “एली, एली, लामा सबकथनी?” अर्थात्‌ ‘हे मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभयो?’ 47 त्यहाँ उभिनेहरूमध्ये कतिले यो सुनेर भने: “यस मानिसले एलियालाई बोलाउँदैछ।” 48 अनि उत्तिखेरै तिनीहरूमध्ये एकजनाले दगुरेर एउटा स्पन्ज लियो, त्यसमा सिर्का भर्‍यो र त्यसलाई एउटा निगालोमा राखी उहाँलाई पिउन दियो। 49 तर अरूले भने: “छोड़िदेऊ; हेरौं न, कहीं एलिया त्यसलाई बचाउन आउँछन् कि!” 50 फेरी ठूलो सोरले कराएर येशूले प्राण छोड़्नुभयो।
51 अनि हेर, मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो; अनि पृथ्वी हल्‍लियो, र चट्टानहरू फाटे; 52 अनि चिहानहरू खोलिए; र सुतेका पवित्र जनहरूका धेरै शरीरहरू बौरेर उठे; 53 अनि उहाँको बौरिउठाइ भएपछि तिनीहरू चिहानहरूबाट निस्केर पवित्र शहरभित्र पसे र धेरैकहाँ देखा परे। 54 तर जब सुबेदार र उनको साथमा येशूलाई पहरा दिनेहरूले भुइँचालो र त्यहाँ भएका घटनाहरू देखे, तब तिनीहरू यसो भन्दै साह्रै डराए: “साँच्‍चै, यिनी परमेश्‍वरकै पुत्र हुँदा रहेछन्।” 55 अनि त्यहाँ टाढ़ाबाट हेरिरहने धेरै स्त्रीहरू थिए, जो येशूको सेवा गर्दै गालीलबाट उहाँको पछि-पछि लागेका थिए। 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेसकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिए।
प्रभु येशू गाड़िनुभयो
मर्कूस १५:४२-४७; लूका २३:५०-५६; यहून्‍ना १९:३८-४२
57 अब साँझ परेपछि यूसुफ नाम भएका अरिमथियाका एकजना धनी मानिस आए; तिनी आफै पनि येशूको चेला थिए। 58 अनि पिलातसकहाँ गएर तिनले येशूको शरीर मागे। तब ‘त्‍यो शरीर दिइयोस्’ भनी पिलातसले हुकुम गरे। 59 अनि यूसुफले त्यस शरीरलाई लगेर एउटा सफा सुती कपड़ामा लपेटे, 60 र त्यसलाई तिनको आफ्नै नयाँ चिहानमा राखे, जसलाई तिनले चट्टानमा खोपेर बनाएका थिए; अनि एउटा ठूलो ढुङ्गा गुड़ाएर त्‍यस चिहानको ढोकामा राखी तिनी हिँड़े। 61 अनि त्यहाँ मरियम मग्दलिनी र अर्की मरियम त्‍यस चिहानको सामुन्‍ने बसिरहेका थिए।
येशूको चिहानको रखवाली
62 अब भोलिपल्ट, तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू यसो भन्दै पिलातसकहाँ भेला भए: 63 “हजुर, हामीलाई याद छ, जिउँदो हुँदा त्यस ठगले, ‘तीन दिनपछि म फेरि बौरेर उठ्नेछु’ भनी भन्‍ने गर्थ्यो; 64 यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राखियोस् भनी हुकुम दिनुहोस्, नत्र ता त्यसका चेलाहरू राती आउनेछन्, अनि तिनीहरूले त्यसलाई चोरेर लैजानेछन्, र मानिसहरूलाई ‘उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो’ भनी भन्‍नेछन्; र यो पछिल्‍लो धोकाचाहिँ पहिलोभन्दा ज्यादा खराब हुनेछ।” 65 अनि पिलातसले तिनीहरूलाई भने: “तिमीहरूसित पहरेदार सिपाहीहरू छँदैछन्; जाओ, तिमीहरूले त्यसलाई सकेसम्म सुरक्षित पार!” 66 अनि तिनीहरू गए, र त्‍यस ढुङ्गामा छाप लगाएर तिनीहरूले पहरेदार सिपाहीहरू राखी त्‍यो चिहान सुरक्षित बनाए।